चीनको मङ्गल ग्रह अभियान अन्तर्गत अन्तरिक्षमा यान पठाइयो

तस्बिर स्रोत, AFP
- Author, जोनाथन एमस
- Role, बीबीसी विज्ञान संवाददाता
चीनले मङ्गल ग्रहमा अवतरण गर्ने वाहन पठाउने अभियान अन्तर्गत रकेट प्रक्षेषण गरेको छ।
सुरक्षात्मक आवरणयुक्त उक्त छ चक्के रोबोट बोकेको 'लङ् मार्च फाइभ' रकेट चीनको स्थानीय समय अनुसार बिहीवार १२:४० बजे वेनचाङ्ग अन्तरिक्ष केन्द्रबाट छाडिएको हो।
आगामी फेब्रुअरीसम्म यो मङ्गल ग्रहको कक्षको नजिक पुग्ने ठानिएको छ।
सो वाहनले त्यसपछि दुई/तीन महिनासम्म मङ्गल ग्रहको सतहमा उत्रिने कोसिस गर्ने छैन।
यसले इन्जिनियरहरूलाई मङ्गल ग्रहमा अवतरण हुनुपूर्व त्यहाँको वायुमण्डलको अवस्था पत्ता लगाउन मद्दत पुर्याउने छ।
तीनवटा मिशनहरू
एघार दिनको अवधिमा मङ्गल ग्रहतर्फ पठाइने तीन वटा रकेटमध्ये यो दोस्रो हो।
गत सोमवार युटाइटेड अरब इमिरेन्ट्स यूएईले 'होप' नामक यान मङ्गल ग्रहतर्फ पठाएको थियो।
अबको एक साताभित्र अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले आफ्न नयाँ पुस्ताको वाहन मङ्गल ग्रहतर्फ पठाउने लक्ष्य राखेको छ।

तस्बिर स्रोत, Reuters
चिनियाँ अभियानको लक्ष्य मङ्गल ग्रहको भूमध्यरेखाभन्दा ठीक उत्तरतर्फ रहेको 'युटोपिया इम्प्याक्ट बेसिन'स्थित समथर भूभागमा अवतरण गराउने छ।
त्यसले त्यहाँको भूगर्भको अध्ययन गर्नेछ।
सो वाहनको तौल करिब २४० किलो रहेको छ र यसमा सजिलै मोडिन सक्ने सोलार प्यानलहरू राखिएका छन्।
यसमा एउटा लामो थामजस्तो संरचना छ, त्यसमा क्यामेराहरू लगाइएका छन्।
त्यसबाट तस्बिरहरू लिन र यानको दिशा पत्ता लगाउन सकिन्छ।
त्यसका अतिरिक्त यसमा अन्य पाँचखाले उपकरणहरू जडान गरिएका छन्।
ती उपकरणहरूले मङ्गल ग्रहमा रहेका ढुङ्गा र पानी वा बरफको खोजी गर्न सहायता गर्नेछन्।
यद्यपि मङ्गल ग्रहको बाहिरी हिस्सामा गरिने यो अनुसन्धान अभियानको उद्देश्यको आधा हिस्सा मात्र हो।
यानमा सामेल 'क्रुज सिप'ले सातवटा 'रिमोट सेन्सिङ' उपकरणको माध्यमले पूरै ग्रहको अध्ययन पनि गर्नेछ।
मङ्गल ग्रहमा अहिलेसम्म पठाइएका करिब आधा मिशनहरू असफल भएका छन्।
चीनले मङ्गल ग्रहमा पठाएको पहिलो यान यिन्घाउ-१ पनि असफल भएको थियो भने रुसको मिशन पनि असफल भएको थियो।

तस्बिर स्रोत, Getty Images
'सात मिनेटको आतङ्क'
अहिलेसम्म अमेरिकीले मात्र मङ्गल ग्रहमा लामो समयसम्म कुनै उपकरण राख्न सकेका छन्।
युरोप र सोभियत मिशनहरू अवतरण भए पनि ती असफल भएका थिए।
चीनले हालैका दुईवटा चन्द्रमा मिशनबाट प्राप्त सफलताले आत्मविश्वास बढाएको छ।
गत वर्ष चीनले पहिलो पटक चन्द्रमामा एउटा यानको 'सफ्ट ल्यान्डिङ' गराएको थियो।

तस्बिर स्रोत, NASA-JPL
चीनका इन्जिनियरहरू के विश्वास गर्छन् भने उनीहरू "सात मिनेटको आतङ्क" भनिने एउटा कुख्यात अवस्थालाई सामना गर्न सक्षम छन्।
मङ्गलग्रहको वायुमण्डलबाट त्यसको सतहसम्म पुग्न कुनै पनि अन्तरिक्ष यानलाई लाग्ने समयलाई "सात मिनेटको आतङ्क"का रूपमा चिनिन्छ।
चिनियाँ वैज्ञानिकहरू यो वाहन मङ्गल ग्रहमा कम्तीमा ९० दिन रहोस् भन्ने चाहन्छन्।
मङ्गल ग्रहमा २४ घण्टा ३९ मिनेटको एक दिन हुन्छ।








