नेकपाका दुई अध्यक्षबीचको “छलफल भोलि पनि निरन्तर“

नेकपाको स्थायी कमिटी बैठक

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, फाइल तस्बिर: नेकपाको स्थायी कमिटी बैठक

सत्तारुढ नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबीच शुक्रवार बालुवाटारमा भएको बैठकमा कुनै निर्णय नभएको र यसबारे भोलि बिहान पुन: छलफल हुने गरी बैठक टुङ्गिएको स्थायी कमिटी सदस्य जनार्दन शर्माले बताए।

“दुई अध्यक्षबीच खुला खुलस्त छलफल भयो। एकले अर्कासँग आफ्ना कुराहरू राख्नुभयो। तर ठोस निर्णय केही निस्किएको छैन,” बीबीसीसँग सङ्क्षिप्त कुरा गर्दै शुक्रवार दुई अध्यक्षको बैठकमा सहभागी भएका स्थायी कमिटी सदस्य नेता जनार्दन शर्माले बीबीसीलाई भने, “अब भोलि स्थायी कमिटीको बैठक अगाडि पुन: दुई अध्यक्षहरूले छलफल गर्ने कुरा भएको छ।”

बिहीवार दिनभर पार्टीभित्रका विभिन्न भेटघाट र घटनाक्रम भइरहँदा स्थायी कमिटीको बैठक शनिवार ११ बजे बस्न गरी तोकिएको थियो।

आशङ्का

गत आइतवार एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई प्रधानमन्त्री पदबाट हटाउन "भारत र स्वयं दलभित्रकै नेताहरू लागेको" भन्ने अभिव्यक्ति दिएपछि खासगरी उनकै पार्टीका शीर्षसहितका नेताहरूले आपत्ति जनाउँदै आएका छन्।

र उनले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजिनामा दिनु पर्ने माग खुला रूपमा नै प्रस्तुत गरिएको छ।

यसैबीच हिजो स्थायी कमिटी बैठक बोलाइएकै बेला पहिला राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर अनि पछि मन्त्रिपरिषद् बैठकमा संसद्को बर्खे अधिवेशन अन्त्य गर्न सिफारिस गर्ने निर्णयपछि पार्टीभित्रको विवाद थप चुलिएको हो। राष्ट्रपतिबाट मन्त्रिपरिषद्को सिफारिस बमोजिम संसद अधिवेशन अन्त्य भैसकेको छ।

फाइल तस्बि: नेकपा बैठकमा शीर्ष नेता द्वय

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, फाइल तस्बिर : नेकपा बैठकमा शीर्ष नेताद्वय

जुन घटनापछि नेपालको राजनितिमा विभिन्न अनुमान र आशङ्काहरू व्यक्त गरिएका छन्।

अचानक संसद्को अधिवेशन अन्त्य गरेर पार्टी विभाजनसम्बन्धी अध्यादेश ल्याउने तयारी भएको "आशङ्का" प्रचण्ड-नेपाल पक्षधरका नेताहरूले व्यक्त गरे पनि ओली पक्षका नेताले भने त्यसलाई अस्वीकार गर्दै आएका छन्।

यस्तो विवादमाझ दुई अध्यक्षले छलफल गर्ने र फेरि शनिवारको स्थायी कमिटी बैठक गर्ने गरी बिहीवारको बैठक सकिएको थियो।

त्यसयता शुक्रवार बिहान सरकारका केही मन्त्रीसहित स्थायी कमिटी सदस्यहरू कृषिमन्त्री घनश्याम भुसालको निवासमा पार्टीको पछिल्लो तनावबारे छलफल गर्न भेला भएका थिए।

'दुई अध्यक्षका कुरा सुन्छौँ'

यो विवाद हल गर्नका लागि शुक्रवार बिहान आफ्नो निवासमा भएको छलफलबारे कृषिमन्त्री भुसालले बीबीसीसँगको कुराकानीमा भने, “पार्टी एकतालाई जोगाउनका लागि जसले जे छोड्नुपर्छ त्यसका लागि रहनुपर्छ भन्ने भयो। तर कसले के छोड्नुपर्छ भन्ने कुरा दुई अध्यक्ष र स्थायी कमिटीको बैठकका दौरान हामी तय गर्छौं।”

उक्त बैठकमा सहभागी बनेका अर्का स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले बीबीसीसँग भने, “बिहान हामी एकैछिनका लागि भेटेका थियौँ। पार्टीमा अहिले देखिएको विवादबारे छलफल भयो। अब भोलि स्थायी कमिटीमा दुई अध्यक्षले के कुरा गर्नुभयो सुन्छौँअनि आफ्ना कुराहरू राख्छौँ।”

सत्तारुढ नेकपा पार्टीभित्र ओली र प्रचण्ड-नेपाल पक्षबीचको मतभेदका कारण पार्टी एकता नै संकटमा परेको भनेर पार्टीका विभिन्न नेताहरूले सार्वजनिक अभिव्यक्ति दिएका थिए।