कन्वे नटः ५० वर्ष पुरानो जटिल गणितीय प्रश्न एक हप्तामै हल गरेपछि एमआईटीमा नियुक्ति पाइन् यी विद्यार्थीले

तस्बिर स्रोत, University of Texas
- Author, एना पाइस
- Role, बीबीसी न्यूज मुन्डो
अमेरिकी विश्वविद्यालयकी एक विद्यार्थीले फुर्सदको बेला एक हप्ताभन्दा कम समयमा ५० वर्षदेखि समाधान हुन नसकेको गणितको एउटा जटिल प्रश्न हल गरिदिएकी छन्।
लिसा पिच्चिरिल्लोले टेक्सस विश्वविद्यालयमा आफ्नो विद्यावारिधिमा काम गर्दै गर्दा 'कन्वे नट प्रब्लम'को नामले चिनिएको प्रश्न हल गरेकी हुन्।
आफ्ना गुरु गणितज्ञ तथा प्राध्यापक क्यामरुन गोर्डनसँग कुरा गर्दै गर्दा उनले सहज रूपमा आफ्नो हल देखाएकी थिइन्।
"उनी किन तिमी खुसी नभएको भनेर चिच्याए," पिक्सिरिल्लोले विज्ञानसम्बन्धी समाचार साइट क्वान्टालाई भनिन्।
"प्राध्यापक त खुसीले उन्मत्त भए।"
कन्वे नट प्रब्लम सन् १९७० मा ब्रिटिश गणितज्ञ जोन होर्टनले बनाएका थिए। पिच्चिरिल्लोले यसको बारेमा पहिलो पटक सन् २०१८ मा एउटा कार्यक्रममा सुनेकी थिइन्।
"उनलाई यो पुरानो र प्रसिद्ध प्रश्न हो भन्ने हेक्का थियो जस्तो मलाई लाग्दैन," प्राध्यापक गोर्डनले भने।

तस्बिर स्रोत, Getty Images
पिच्चिरिल्लोको उत्तर यो वर्षको सुरुमा एनल्स अफ म्याथम्याटिक्स जर्नलमा प्रकाशित भएको छ।
यो प्रश्न हल गरेपछि उनले प्रसिद्ध एमआईटीमा सहायक प्राध्यापकको पद पाएकी छन्।
"यो प्रश्न लामो समयदेखि हल भएको थिएन र धेरै गणितज्ञहरूले प्रयास गरे पनि समाधान गर्न सकेका थिएनन्," स्पेनका गणितज्ञ हाभियर अरामायोनाले भने।
प्रश्न के थियो?
यो प्रश्न गणितको टपोलजी भन्ने गाँठोसम्बन्धी अध्ययन गर्ने क्षेत्रमा पर्छ।
टपोलजीमा कुनै पनि वस्तुलाई बङ्ग्याइयो वा तन्काइयो भने त्यो नभाँच्चिएको अवस्थामा कस्तो हुन्छ भनेर अध्ययन गरिन्छ।
गणितीय गाँठोहरूका दुई छेउ जोडिएका हुन्छन् र सबैभन्दा सजिलो गाँठो गोलो हुन्छ र खोल्न सकिँदैन।
तर धेरै स्थानमा गुजुल्टो पर्दै जाँदा ती गाँठोहरू कठिन बन्दै जान्छन्।
यो गणितीय ज्ञान विज्ञान र अन्य क्षेत्रमा महत्त्वपूर्ण हुन्छ र वैज्ञानिकहरूले यसलाई आर्थिक बजारदेखि डीएनएको आकारसम्म अध्ययन गर्न प्रयोग गरेका छन्।

कन्वे नट के हो?
यो प्रश्न निकाल्ने जोन हर्टन कन्वे गत एप्रिलमा कोरोनाभाइरस सङ्क्रमणका कारण ८२ वर्षको उमेरमा बिते।
केम्ब्रिज र प्रिन्सटनजस्ता प्रसिद्ध विश्वविद्यालयमा काम गरेका कोन्वे चर्चित गणितिज्ञ थिए।
तर एउटा विद्यार्थीले प्रसिद्ध प्रश्न कसरी सहजै हल गरिन् त?

तस्बिर स्रोत, Denise Applewhite/Princeton University
पिच्चिरिल्लोले ११ स्थानमा वारपार भएको गाँठोजस्तै अर्को गाँठो बनाइन् जुन हल गर्न सहज थियो।
त्यो नयाँ गाँठोलाई हल गर्दा प्राप्त उत्तरलाई उनले कन्वे नटमा प्रयोग गर्न सफल भइन्।
"मैले दिउँसो यसमा काम गरिनँ किनभने मलाई यो साँच्चैको गणितको प्रश्न जस्तो लागेन," उनले क्वान्टालाई भनिन्।
"मलाई यो गृहकार्य जस्तो लाग्यो र मैले घर गएर यसलाई हल गरेँ।"
पिच्चिरिल्लो अमेरिकाको सबैभन्दा ग्रामीण माइन राज्यमा जन्मेकी थिइन् र उनले बोस्टन विश्वविद्यालयमा गणित अध्ययन गरेकी थिइन्।

तस्बिर स्रोत, Getty Images








