रुकुम पश्चिम घटना: सोतीमा ६ जनाको ज्यान जानेगरी भएको घटनामा ३४ जनाविरूद्ध मुद्दा दायर

तस्बिर स्रोत, RSS
रुकुम पश्चिमको सोती गाउँमा ६ जनाले ज्यान गुमाएको घटनामा ३४ जनाविरूद्ध सामूहिक हत्या, जातीय छुवाछुत तथा भेदभाव लगायतको अभियोगमा मुद्दा दायर भएको जिल्ला अदालत, रुकुम पश्चिमका श्रेस्तेदार कृतबहादुर बोहराले बीबीसीलाई बताए।
उनले भने: "प्रतिवादी बनाइएकामा ३३ जनालाई कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र जातीय छुवाछुत तथा भेदभावको कसुर र एकजनालाई मतियारको रूपमा मुद्दा दर्ता भएको छ।"
२९ जना अहिले प्रहरी नियन्त्रणमा छन् भने पाँच जना फरार रहेको अधिकारीहरूले बताएका छन्।
प्रतिवादीमध्ये दुईजनालाई नाबालकका रूपमा कारबाही माग गरिएको बताइएको छ।
घटना के हो?
मृतक छजना मध्ये चार जना दलित भनिने समुदायका छन्।
ज्यान गुमाएका ६ जनाको शव भेरी नदीमा फेला परेको थियो।
उक्त घटनाबारे गृहमन्त्रालयले गठन गरेको सहसचिव नेतृत्वको छानबिन समिति, राष्ट्रिय मानवअधिकार आयोगले केन्द्रबाट पठाएको अनुसन्धान टोली र स्थानीय प्रहरी प्रशासनले अनुसन्धान गरेका छन्।
अन्तर्राष्ट्रिय मानवअधिकार निकायहरूले समेत नेपालमा जातीय विभेद र हिंसासँग जोडिएका अपराधमा दण्डहीनता उच्च रहेको भन्दै उक्त घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेका छन्।
यस घटनामा संयुक्त राष्ट्रसङ्घको मानवअधिकार उच्चायुक्तको कार्यालयले समेत चासो व्यक्त गर्दै विज्ञप्ति निकालेको थियो।
राष्ट्रिय मानवअधिकार आयोगले समेत आफ्नो प्रारम्भिक अनुसन्धानमा उक्त घटनाको प्रमुख कारक "जातीय विभेद रहेको" निष्कर्ष निकालेको थियो।
घटनाको अनुसन्धानका लागि एक संसदीय विशेष छानबिन समिति समेत गठन गरिएको छ।








