कोरोना भाइरस नेपाल: लकडाउन सरलीकरण गर्नेबारे निर्णय हुने प्रधानमन्त्री ओलीको भनाइ

ओली

तस्बिर स्रोत, RSS

कोरोनाभाइरस महामारीको रोकथाम तथा नियन्त्रणका लागि चैत ११ गतेदेखि लगाइएको कडा लकडाउनलाई केही खुकुलो पार्ने निर्णय गर्न लागिएको प्रधानमन्त्री केपी ओलीले संसद्लाई जानकारी दिएका छन्।

सरकारलाई विभिन्न क्षेत्रबाट सुझाव आइरहेको भन्दै उनले समयानुकूल ढङ्गले सामाजिक जनजीवन सहज बनाउनेबारे निर्णय हुने बताए।

"निजी क्षेत्रलाई परीक्षण गर्न दिनेबारे अनि लकडाउन सरलीकरण तथा शिक्षाक्षेत्रका असहजता न्यून पार्नेबारे आजै बस्ने मन्त्रिपरिषद् बैठकले निर्णय गर्दैछ," उनले भने।

लामो समयदेखि लकडाउन हुँदा जनजीवन कष्टकर भएको भन्दै खासगरी निजी क्षेत्रले त्यसको सुरक्षित विधि परिवर्तन गर्न माग गरिरहेका थिए।

'सङ्क्रमितमध्ये ८५% भारतबाट आएकाहरू'

संसद्‌मा जानकारी दिँदै प्रधानमन्त्री केपी ‌ओलीले नेपालमा भेटिएका समग्र सङ्क्रमितमध्ये ८५% भन्दा धेरै भारतबाट आएका व्यक्ति भएको बताएका छन्।

उनले वैशाखको पहिलो सातादेखि भारतबाट नेपालीहरू भित्रिन थालेको र वैशाखमा साढे सात हजार अनि जेठमा हालसम्म सवा दुई लाख मानिस भित्रिएको बताए।

उनले हाल नेपालमा कोरोनाभाइरसका कारण ज्यान गुमाएका १५ जनामध्ये धेरैलाई अन्य स्वास्थ्य समस्या पनि रहेको बताए।

संसद्

तस्बिर स्रोत, Rss

उनले हालसम्म नेपालीहरूको प्रतिरोधी क्षमता राम्रो देखिएको र मृत्युदर पनि अन्यत्रको तुलनामा कम देखिएको बताए।

नक्सासम्बन्धी राष्ट्रिय एकताको प्रशंसा

प्रधानमन्त्री केपी ओलीले नक्सासम्बन्धी संसद्ले देखाएको एकताको प्रशंसा गरेका छन्।

भारतसँग चर्किएको सीमा विवादका बीच नेपालको नयाँ नक्साबारे देशभित्र राष्ट्रिय एकता देखिएको भन्दै प्रधानमन्त्री केपी ओलीले त्यसको प्रशंसा गरेका छन्।

प्रधानमन्त्री ‌ओलीले राष्ट्रियता, राष्ट्रिय अखण्डता तथा भूमिको सवाल साझा सवाल रहेको बताए।

"यो कसैले जस लिने विषय होइन," उनले भने।

संसद्ले सर्वसम्मत ढङ्गले नक्साबारे निर्णय गरेकाले यसको जस सबैको हुने उनले सङ्केत गरे।

संसद्‌ले लिम्पियाधुरासहितको नेपालको नयाँ नक्सा अनुसार निशान छाप परिमार्जन गर्ने प्रस्ताव गरिएको संविधान संशोधन विधेयक छलफलकालागि मङ्गलवार सर्वसम्मत स्वीकार गरेको थियो।