जोर्ज फ्लोइड मृत्यु प्रकरण: बर्खास्त गरिएका प्रहरी अधिकारीमाथि कस्ता अभियोग लगाइयो?

ब्ल्याक लाइभ्स म्याटर आन्दोलन

तस्बिर स्रोत, AFP

अफ्रिकी-अमेरिकी पुरुष जोर्ज फ्लोइडको मिनियापलिसमा भएको मृत्युलाई लिएर बर्खास्त गरिएका चारजना प्रहरी अधिकारीविरुद्ध नयाँ अभियोगहरू घोषणा गरिएको छ।

अदालतका दस्तावेजमा प्रहरी अधिकारी डेरेक शोभिनविरुद्ध पूर्वयोजना विनाको आशययुक्त हत्याको अभियोग लगाइने भएको छ।

शोभिनविरुद्ध यसअघि विना पूर्वयोजना र विना आशय पारिस्थितिक कारणले हत्या भएको अभियोग लगाइएको थियो। यी पुराना अभियोगबारे पनि अभियोगपत्रमा उल्लेख गरिनेछ।

यसअघि अभियोग नलागेका अन्य तीन प्रहरीमाथि गैरकानुनी काममा उक्साएको र मतियार बनेको आरोप लागेको छ।

देशभरि प्रदर्शन

फ्लोइडको मृत्युले अमेरिकाभर जातिवाद र अश्वेत अमेरिकीमाथिको प्रहरी बर्बरतालाई लिएर ठूला प्रदर्शनहरू भएका छन्।

विगत आठ दिनदेखि भएका त्यस्ता प्रदर्शनहरू धेरैजसो शान्तिपूर्ण छन् तर केही हिंसक पनि बनेका छन् र थुप्रै सहरहरूमा कर्फ्यू लगाइएको छ।

प्रहरी अधिकारीहरूमाथि नयाँ अभियोगहरूको घोषणा गर्दै मिनेसोटा राज्यका महान्यायाधिवक्ता किथ एलिसनले ती अभियोगहरू न्यायको पक्षमा भएको बताए।

मिनेसोटाका सिनेटर एमी क्लोबसारले ट्वीटरमा कम्तीमा यी अभियोगहरू "न्यायका लागि अर्को महत्वपूर्ण कदम" भएको बताएकी छन्।

यो X पोस्ट छोड्नुहोस्
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त

फ्लोइडको परिवारका वकिल बेन्जामिन क्रम्पले एक विज्ञप्तिमा भनेका छन्: "न्यायको मार्गमा यो एउटा महत्त्पूर्ण कदम हो र जोर्ज फ्लोइडको अन्तिम संस्कारअघि नै यो महत्त्वपूर्ण कदम चालिएकोमा हामी कृतज्ञ छौं।"

तर त्यसको केहीपछि सीएनएनसँग बोल्दै उनले डेरेक शोभिनविरुद्ध पूर्वनियोजित आशययुक्त हत्याको अभियोग लगाउनुपर्ने परिवारले ठानेको उनले बताए।

दोषी साबित गर्न कठिन

क्रम्पले थप अनुसन्धान भइरहेको र शोभिनविरुद्धको अभियोग अझै पनि परिवर्तन हुनसक्ने आफूहरूलाई बताइएको पनि जानकारी दिए।

मिनेसोटाका महान्यायाधिवक्ता किथ एलिसन

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, महान्यायाधिवक्ता एलिसनले पूर्वप्रहरी अधिकारीहरूविरुद्ध सफलतापूर्वक अभियोजन गर्न निकै कठिन हुने कुराबारे आफूमा कुनै भ्रम नरहेको बताए।

महान्यायाधिवक्ता एलिसनले पूर्वप्रहरी अधिकारीहरूविरुद्ध सफलतापूर्वक अभियोजन गर्न निकै कठिन हुने कुराबारे आफूमा कुनै भ्रम नरहेको बताए।

"दोषीसिद्ध गर्न कठिन हुनेछ। विगतका घटनाहरूले स्पष्ट चुनौतीहरू रहेका देखाउँछन्," उनले भने।

मिनेसोटा राज्यमा सर्वसाधारण मारेको घटनामा जम्मा एकजना बहालवाला प्रहरी अधिकारी मात्रै दोषी साबित भएका छन्।

अभियोगहरूको अर्थ

मिनेसोटाको कानुन अनुसार फर्स्ट र सेकेण्ड डिग्री हत्यामा प्रतिवादीले हत्याको आशय राखेको प्रमाणित गर्नुपर्छ।

फर्स्ट डिग्रीमा धेरैजसो हत्याको पूर्वयोजना हुनुपर्छ भने सेकेण्ड डिग्रीमा हत्याको आशय हुनुपर्छ तर त्यो पूर्वनियोजित हुँदैन।

थर्ड डिग्री हत्यामा भने प्रतिवादीले पीडितलाई मार्न खोजेको भन्ने प्रमाण आवश्यक पर्दैन र त्यहाँ कारबाही खतरनाक भए पनि खासगरी ज्यान लिन खोजिएको हुँदैन।

सेकेण्ड डिग्री हत्यामा दोषी हुनेलाई ४० वर्षसम्म जेल सजाय हुनसक्छ र थर्ड डिग्री हत्यामा १५ वर्षसम्म सजाय हुनसक्छ।

विभिन्न देशमा प्रदर्शन

फ्लोइडको मृत्युलाई लिएर अमेरिकामा मात्रै नभइ अन्तर्राष्ट्रिय रुपमै विरोध प्रदर्शनहरू भइरहेका छन्।

फ्लोइडको हत्याको घटनाले अमेरिकाभर अशान्त अवस्था बनाएको छ।

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, फ्लोइडको मृत्युको घटनाले अमेरिकाभर अशान्त अवस्था बनाएको छ

बुधवार अस्ट्रेलिया, फ्रान्स, द नेदरल्याण्डस् र यूकेमा हजारौं प्रदर्शनकारीहरूले र्‍याली निकालेका थिए।

फ्लोइडको मृत्युलाई लिएर भएका विरोधहरूलाई धेरैले वर्षौंदेखिको सामाजिक-आर्थिक असमानता र भेदभावविरुद्ध पोखिएको आक्रोशका रुपमा हेरेका छन्।