जोर्ज फ्लोइड: अमेरिकी प्रहरीको बर्बरताविरुद्ध प्रदर्शनहरू गर्न उत्तेजित पार्ने ११ मृत्यु

तस्बिर स्रोत, Twitter/Ruth Richardson
प्रहरी हिरासतमा रहेका बेला एकजना प्रहरी अधिकारीले गर्दनमा घुँडाले थिचेको केहीपछि ज्यान गुमाएका एक निहत्था अश्वेत पुरुषको मृत्युले अमेरिकामा जातीय अल्पसङ्ख्यकविरुद्ध प्रहरीले गर्ने बर्बरताको मुद्दालाई पुन: बहसमा ल्याएको छ।
मिनियापलिस सहरस्थित एउटा रेस्टुरेन्टमा सुरक्षाकर्मीका रूपमा काम गर्ने ४६ वर्षीय जोर्ज फ्लोइडलाई मे २५ तारिखको साँझ एउटा शङ्कास्पद जालसाजीको आरोपमा प्रहरीले पक्राउ गरेको थियो।
एकजना प्रत्यक्षदर्शीले खिचेको १० मिनेट लामो भिडिओमा पीडामा बोलिरहेका फ्लोइडले श्वेत प्रहरी अधिकारीलाई दोहोर्याइ दोहोर्याइ "मैले सास फेर्न सकिनँ" भनेको देखिन्छ।
सन् २०१९ मा प्रहरीको गोली लागेर १००० भन्दा बढीको मृत्यु
फ्लोइडको घटनाले अमेरिकामा प्रहरीका कारण हुने मृत्युको चिन्तित तुल्याउने तथ्याङ्कलाई देखाउँछ।

तस्बिर स्रोत, Darnella Frazier
वासिङ्टन पोष्ट पत्रिकाको डेटाबेस (तथ्याङ्कको विवरण) का अनुसार सन् २०१९ मा देशभरिमा प्रहरी अधिकारीले १०१४ जनालाई गोली हान्दा उनीहरूको ज्यान गएको थियो।
त्यसरी पीडित हुनेमा अश्वेत अमेरिकीहरूको अनुपात धेरै रहेको अध्ययनहरूले देखाएका छन्।
एउटा गैरसरकारी संस्था 'म्यापिङ्ग पुलिस भायोलेन्स' ले गरेको अध्ययनमा प्रहरीले मारेका मानिसमध्ये अश्वेतहरू करिब तीन गुणाले बढी रहेको दाबी गरिएको छ।
प्रहरीको बर्बरताले #BlackLivesMatter अर्थात् अश्वेत मानिसको जीवनले अर्थ राख्छ भन्ने आन्दोलन गर्न प्रेरित गरेको छ।
लोकप्रिय गायिका बियोन्से र बास्केटबलका चर्चित खेलाडी लेब्रोन जेम्स जस्ता सेलिब्रेटीले पनि प्रहरीविरुद्धको बर्बरतालाई लिएर गरिएका अभियानहरूमा आफ्नो समर्थन सार्वजनिक रूपमा जनाएका छन्।
प्रहरीको बर्बरताविरुद्ध प्रदर्शनहरू गर्न उक्साउने केही पीडितहरूको मृत्युको घटना यहाँ प्रस्तुत गरिएको छ।
ट्रेभोन मार्टिन, २६ फेब्रुअरी २०१२

तस्बिर स्रोत, Getty Images
हाइस्कुलमा अध्ययनरत १७ वर्षीय अश्वेत विद्यार्थी ट्रेभोन मार्टिनको फ्लोरिडास्थित सानफोर्डमा जोर्ज जिम्मरम्यानले गोली हान्दा मृत्यु भएको थियो।
मार्टिन आफ्ना आफन्तलाई भेट्न जाँदै गर्दा जिम्मरम्यानसँग भनाभन भएको थियो।
सन् २०१३ मा, एउटा जुरीले जिम्मरम्यानलाई दोषी देखाएन। आत्मरक्षाका लागि गोली हान्ने अनुमति अमेरिकी कानुन अनुसार उनले पाएको जुरीले जनाएको थियो। तर ती किशोरका परिवार र साथीभाइले भने त्यो हत्या नै भएको बताएका थिए।
उक्त मृत्युलाई लिएर अमेरिकामा अश्वेतको जीवनले अर्थ राख्छ अर्थात् ब्ल्याक लाइभ्स म्याटर भन्ने सामाजिक आन्दोलन सुरु भएको थियो।
एरिक गार्नर, १७ जुलाई २०१४

तस्बिर स्रोत, Getty Images
खुल्ला चुरोटको अवैध विक्री गरेको आशङ्कामा पक्राउमा परेका बेला गार्नरको न्यूयोर्कमा सास फेर्न गाह्रो भएका कारण मृत्यु भएको थियो।
एउटा भिडिओ सामग्रीमा श्वेत प्रहरी ड्यानियल प्यान्टलियोले भुइँमा लडेका गार्नरको घाँटीमा हातले पछाडिबाट बेरेर अँठ्याएको देखिन्छ। गार्नरले रुँदै "मैले सास फेर्न सकिनँ" भनेको पनि पटक पटक सुनिन्छ।
राज्यस्तरमा गठन गरिएको जुरीले उक्त घटनामा प्रहरी अधिकारी प्यान्टलियोविरुद्ध फौजदारी अभियोग दर्ता गर्न अस्वीकार गरेपछि अमेरिकाका थुप्रै सहरहरूमा प्रदर्शनहरू भएका थिए।
उक्त घटना भएको पाँच वर्षपछि न्यूयोर्कस्थित प्रहरी विभागबाट उनलाई निकालिएको थियो।
माइकल ब्राउन, ९ अगस्ट २०१४

तस्बिर स्रोत, Getty Images
प्रहरीको गोलीबाट १८ वर्षीय अश्वेत माइकल ब्राउनको मृत्यु भएपछि ब्ल्याक लाइभ्स म्याटर नामक आन्दोलनले अन्तर्राष्ट्रिय रुपमा चर्चा पाएको थियो।
श्वेत प्रहरी अधिकारी डर्रेन विल्सन र ब्राउनबीच सार्वजनिक स्थलमा भनाभन भएपछि विल्सनले ब्राउनलाई गोली हानेका थिए।
मिजोरीमा भएको उक्त घटनाले हिंसात्मक प्रदर्शनहरू निम्त्याएको थियो। त्यसक्रममा एकजनाको मृत्यु पनि भएको थियो भने थुप्रै मानिस घाइते भएका थिए र सयौँलाई पक्राउ गरिएको थियो।
त्यही वर्ष नोभेम्बरमा थप प्रदर्शनहरू भएका थिए जब उक्त घटनालाई लिएर बनेको जुरीले प्रहरीबाट राजीनामा दिएका विल्सनविरुद्ध मुद्दा दर्ता नगरिने निर्णय सुनाएको थियो।
वाल्टर स्कट, ४ एप्रिल २०१५

तस्बिर स्रोत, Family album
५० वर्षीय अश्वेत पुरुष वाल्टर स्कटको प्रहरीसँग भाग्ने क्रममा साउथ क्यारोलाइनास्थित नर्थ चार्लस्टनमा प्रहरीले तीनपटक हानेको गोली लागेर मृत्यु भएको थियो।
प्रहरी अधिकारी माइकल स्ल्यागरले स्कटलाई कारको बत्ती बिग्रिएका कारण रोकेको थियो।
त्यतिबेला स्कटले बच्चाहरूको सहयोगका लागि तिर्नुपर्ने रकम तिर्न ढिला गरेको विषयमा उनीमाथि पक्राउ पुर्जी जारी गरिएको थियो।
सन् २०१७ मा स्ल्यागरलाई २० वर्ष जेल सजाय सुनाइएको थियो तर स्कटको परिवारले नर्थ चार्ल्सटनस्थित निकायहरूबाट ६५ लाख डलरमा सम्झौता गरेको थियो।
फ्रेडी ग्रे, १२ एप्रिल २०१५

तस्बिर स्रोत, Murphy, Fallon, Murphy
वाल्टर स्कटलाई प्रहरीले गोली हानेको एक साता नपुग्दै मेरिल्याण्डको बाल्टिमोरमा अर्को विवादास्पद घटना भएको थियो।
खल्तीमा एउटा चक्कु भेटेपछि प्रहरी अधिकारीहरूले २५ वर्षीय फ्रेड ग्रेलाई हतियार बोकेको आरोपमा पक्राउ गरेका थिए।
ग्रेलाई प्रहरीले भ्यानतर्फ लैजान लाग्दा उनी चिच्याएको एकजना प्रत्यक्षदर्शीले खिचेको भिडिओमा देखिन्छ।
त्यसको केही घण्टापछि मेरुदण्डमा नराम्ररी चोट लागेका उनलाई अस्पताल पुर्याइएको थियो।
त्यसको एक सातापछि उनको मृत्यु भयो र त्यस घटनालाई लिएर भएका हिंसात्मक प्रदर्शनहरूमा कम्तीमा २० जना अधिकारीहरू घाइते भएका थिए।
ग्रेलाई पक्राउ गर्ने ६ जना अधिकारीमध्ये तीन जनालाई दोषी मानिएन भने बाँकी तीनमाथि कुनै अभियोग नै लगाइएन।
सान्ड्रा ब्लाण्ड, १३ जुलाई २०१५

तस्बिर स्रोत, Getty Images
एउटा सामान्य खालको ट्राफिक नियम उल्लङ्घन गरेका कारण २८ वर्षीया ब्लाण्डलाई टेक्सस राज्यका प्रहरी अधिकारी ब्रायन इन्सिनियाले रोकेका थिए।
प्रहरी अधिकारीले रोक्दा ब्लाण्डले चुरोट सल्काएकी थिइन् र त्यसलाई फाल्न अस्वीकार गरेकी थिइन्।
प्रहरीको त्यस्तो आग्रह नमानेपछि उनलाई पक्राउ गरिएको थियो र उनीमाथि प्रहरी अधिकारीलाई आक्रमण गरेको आरोप लगाइएको थियो।
त्यसको तीन दिनपछि उनले जेलमा आफ्नो ज्यान लिएकी थिइन्।
उनको मृत्यु प्रहरी अधिकारीबाट नभएको भए पनि त्यो घटनाले अमेरिकाभरि आक्रोशहरू निम्त्याएको थियो।
उक्त घटनाले #SayHerName नाम दिइएको सामाजिक आन्दोलनलाई चर्चित बनाएको थियो जुन अश्वेत महिलामाथिको प्रहरीको बर्बरताविरुद्ध जनचेतना फैलाउन सुरु गरिएको थियो।
उक्त घटनालाई आधार बनाएर अमेरिकी टिभी च्यानल एचबिओले सन् २०१८ मा एउटा वृत्तचित्र पनि बनाएको थियो।
फिलाण्डो क्यास्टील, ६ जुलाई २०१६

तस्बिर स्रोत, Getty Images
क्यास्टीलको मृत्यु प्रहरी अधिकारी जेरोनिमो यानेजले मिनेसोटा राज्यस्थित फ्यालकन हाइट्स्मा गोली हानेका कारण भएको थियो।
ट्राफिक नियम उल्लङ्घन गरेको विषयलाई लिएर क्यास्टीललाई गोली हानिएको थियो।
उक्त घटनापछि के भएको थियो भनेर क्यास्टीलकी प्रेमिकाले पछि लाइभ स्ट्रीम गरेकी थिइन्।
प्रहरी अधिकारी यानेजविरुद्ध पूर्व योजना विनाको आशययुक्त हत्याको अभियोग लागेको थियो।
तर एक वर्ष नपुग्दै उनीविरुद्ध लागेको उक्त अभियोगमा जुरीहरूले उनलाई छुटकारा दिएका थिए।
बोथम जान, ६ सेप्टेम्बर २०१८

तस्बिर स्रोत, Facebook
२६ वर्षीय जानलाई उनकै अपार्टमेन्टमा ड्यूटीको समयमा नरहेकी एक महिला प्रहरी एम्बर गाइगरले गोली हानेर मारेकी थिइन्।
ती महिला प्रहरीले आफ्नो सोचेर भुलवश उक्त अपार्टमेन्टमा छिरेको बताएकी थिइन्।
जान अपराध गर्नका लागि उक्त भवनमा छिरेको ठानेर हतियार विनाका उनलाई गोली हानेको पनि गाइगरले बताएकी थिइन्।
त्यसको एक वर्षपछि, गाइगरलाई १० वर्षको जेल सजाय सुनाइएको थियो।
अटाटियना जेफरसन, १३ अक्टोबर २०१९

तस्बिर स्रोत, Facebook
२८ वर्षीया चिकित्सा शिक्षाकी विद्यार्थी जेफरसनको उनकै शयन कक्षमा प्रहरी अधिकारी आरोन डिनले गोली हानेपछि मृत्यु भएको थियो।
एकजना छिमेकीले जेफरसनको अगाडिको ढोका खुल्ला रहेको भन्दै प्रहरीलाई त्यसबारे जानकारी गराएपछि डिनलाई जेफरसनको ठेगानामा पठाइएको थियो। त्यहाँ उनले शयनकक्षको झ्यालबाट जेफरसनलाई गोली हानेका थिए।
डिनविरुद्ध हत्याको आरोप लगाइएको थियो तर उनीविरुद्ध कुनै मुद्दा चलाइएको छैन।
ब्रियोना टेलर, १३ मार्च २०२०

तस्बिर स्रोत, Facebook
आपत्कालीन चिकित्सा प्राविधिक रहेकी २६ वर्षीया ब्रियोना टेलरलाई गत मार्च १३ तारिखमा प्रहरीले केनटकीको लुइभिलस्थित उनको अपार्टमेन्टमा छिरेर आठ पटक गोली हानेको थियो।
उनीहरू लागुऔषधको अनुसन्धानका क्रममा ब्रियोनाको अपार्टमेन्टमा छिरेका थिए तर त्यहाँबाट कुनै किसिमको लागुपदार्थ फेला परेको थिएन।
टेलरको परिवारले ती प्रहरी अधिकारीहरूले उनलाई वा उनका साथीलाई नभइ पहिला नै हिरासतमा रहिसकेका र त्यो अपार्टमेन्टमै नबस्ने अर्कै व्यक्तिलाई खोजी गर्ने क्रममा असम्बन्धित व्यक्तिमाथि गोली हानिएको बताएका छन्।
लुइभिलको प्रहरीले भने आफ्ना एक अधिकारी गोली लागेर घाइते भएपछि आफूले पनि त्यसको प्रतिक्रिया स्वरूप गोली हानेको जनाएको छ।








