कोरोना भाइरस उपचार: खोप तयार नहुँदासम्म संसारभरि मानिसले कसरी घुमफिर गर्लान्

घाम ताप्दै महिला

तस्बिर स्रोत, Getty Images

    • Author, माल सिरेट
    • Role, बीबीसी न्यूज

सिसाको बारले छुट्टाइएका आरामदायी घाम ताप्ने कुर्सीहरू। उडानअघि रगत परीक्षण अनि स्यानिटाइजर स्प्रेको प्रयोग।

सुन्दा चरम र कडा लागे पनि यी यस्ता व्यवस्था हुन् जुन यात्रासँग सम्बन्धित व्यवसायमा आबद्ध केहीले लकडाउनपछि यात्रु तथा पर्यटकहरूलाई सुरक्षित अनि सहज महसुस गराउनका लागि लागु गर्न सकिन्छ कि भन्ने बारेमा सोचिरहेका छन्।

स‌ंसारभरि नै अन्तर्राष्ट्रिय उडानहरू फेरि कहिलेबाट सुरु हुनेछन् अहिले नै भन्न सकिने अवस्था छैन।

आर्जेन्टिनामा आगामी सेप्टेम्बर महिनासम्म अन्तर्राष्ट्रिय हवाई उडानमा प्रतिबन्ध लगाइएको छ। यूकेका एक मन्त्रीले पनि निकट भविष्यमा छुट्टीमा ननिस्कने बताएका छन्।

विदेशमा घुमघामका लागि निस्किन अवस्था सिर्जना भएपछिको परिदृश्य कस्तो रहला त?

Short presentational grey line

विमानस्थल

लन्डनसहित विश्वका विभिन्न विमानस्थलहरूले सरकारी निर्देशनमा आधारित रहेर अत्यावश्यक यात्रामा निस्कनु परेकाहरूका लागि मात्र विभिन्न किसिमका उपाय अपनाएका छन्।

त्यसमा एक वा दुई मिटरको सामाजिक दूरी कायम राख्ने, विमानस्थलमा स्यानिटाइजर वितरण गर्ने र विभिन्न टर्मिनलहरूमा समान रूपमा यात्रुहरूको सङ्ख्या कायम राख्ने जस्ता व्यवस्था मिलाइएको छ।

अमेरिकाको ट्रान्सपोर्ट सेक्युरिटी एडमिनिस्ट्रेसनले सुरक्षा जाँच अघि र पछि २० सेकेन्डसम्म हात धुनुपर्ने बताएको छ।

तर हङ्‌कङको अन्तर्राष्ट्रिय विमानस्थलमा शरीरलाई पूर्ण रूपमा नि:सङ्क्रमण गर्ने उपकरणको परीक्षण भइरहेको छ।

उक्त उपकरणले ४० सेकेन्डमा नि:सङ्क्रमित बनाउन सक्ने बताइएको छ।

नि:सङ्क्रमण गर्ने उपकरण

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, हङ्‌कङको अन्तर्राष्ट्रिय विमानस्थलमा शरीरलाई पूर्ण रूपमा नि:सङ्क्रमण गर्ने उपकरणको परीक्षण भइरहेको छ

एउटा पर्यटन व्यवसाय इन्ट्रेपीड ट्राभल ग्रुपका प्रमुख कार्यकारी अधिकृतका अनुसार कडा सुरक्षा जाँचका कारण विमानस्थलका विभिन्न स्थान पार गर्न लामो समय लाग्नेछ।

"विमानस्थलमा जडान गरिएका उपकरणमा परीक्षणका लागि हाल सामान हाल्नुअघि तरल पदार्थ र विद्युतीय उपकरण निकाल्न लगाइएजस्तै सामाजिक दूरी कायम गर्नु पनि सामान्य हुँदै जानेछ।"

"निरोगी रहेको जनाउ लिने राहदानीजस्तै कागजात पनि प्रयोगमा ल्याइएको देख्न सकिने सम्भावना पनि छ।"

केही मानिसहरूमा कोभिड-१९ सङ्क्रमणको लक्षण नदेखिने हुँदा यी प्रक्रियाको प्रभावकारिताबारे भने विज्ञहरूको मत बाझिएको छ।

र, थुप्रै विमानस्थलहरूले यो लागु गर्ने छैनन्। तर केही भने यस्ता किसिमका व्यवस्थामा निकै अग्रसर देखिएका छन्।

दुबईको विमानस्थलमा एमिरेट्स विमानसेवाले यात्रुहरू विमान चढ्नुअघि रगत परीक्षण गरिरहेको छ। त्यसको नतिजा १० मिनेटमा प्राप्त हुने उसले बताएको छ।

Short presentational grey line

विमानभित्र

तपाईँ सिटमा बस्दै गर्दा सम्भवतः मास्क लगाएका परिचारकहरू देखिनेछन् र सामान्य अवस्थामा देखिने उनीहरूको मुस्कान तपाईँले कल्पना गर्नुपर्नेछ।

उनीहरूलाई हेर्दै तपाईँ पनि मुस्कुराउन सक्नुहुनेछ। तर विभिन्न देशहरूले सुझाए अनुसार त्यसो गर्दै गर्दा तपाईँले पनि मास्क लगाइरहेको हुन सक्छ।

विमान

तस्बिर स्रोत, Getty Images

तपाईँ कोरियन एअरबाट यात्रा गर्दै हुनुहुन्छ भने व्यक्तिगत सुरक्षा पोशाक (पीपीई) लगाएका मानिसहरू देखेर नआत्तिनुहोला।

उक्त कम्पनीले चालक दलका सदस्यहरूका लागि गाउन, पन्जा र आँखा समेतको बचाउ गर्ने मास्कको व्यवस्था गर्ने बताएको छ।

थुप्रै वायुसेवा कम्पनीले बीचको सिट खाली राखेर सामाजिक दूरी कायम राखिने पनि बताएका छन्।

Short presentational grey line

गन्तव्यमा पुगे पछिको अवस्था

इटलीको कुनै समुद्री तटमा घुमघाममा रमाउन कस्तो होला?

शीतल स्थानको खोजी गर्न सिसाका बारले छुट्टाइएका आरामदायी कुर्सीहरूका बीच तपाई हिँडिरहेको पाउनुहुनेछ।

"मैले केही चित्रहरू हेरेको छु," उत्तर युरोपस्थित इन्स्टीट्युट अफ टुरिजम रिसर्चका उल्फ सोन्टाग भन्छन्।

"इटलीमा साँच्चिकै यसबारे सोचविचार गरिराखिएको छ।"

युरोपका विभिन्न मुलुकले होटेलमा आउने पाहुनाहरूको व्यवस्थापनबारे सोचविचार गरिराखेका छन्। रेष्टुराँहरूले टेबुलहरूबीच दूरी बढाउनेबारे सोचविचार गरिरहेका छन्।

पोर्चुगलको एउटा होटेल चेनले "स्यानिटाइजरको मौज्दात बढाइरहेको" र आफैँले खाना लिने 'बुफे'को व्यवस्था हटाएर 'मेनु'मा आधारित निश्चित खाना मगाएपछि त्यहाँका कर्मचारीहरूले ल्याइदिने व्यवस्था गर्ने योजना बनाएको बताएको छ।

अन्य युरोपेली मुलुकले कोभिड-१९ को सङ्क्रमण तुलनात्मक रूपमा कम प्रभावित राष्ट्र र क्षेत्रका मानिसहरूलाई जोड्न "पर्यटकीय करिडोर"बारे छलफल गरिरहेका छन्।

उदाहरणका लागि क्रोएशियाले चेक गणतन्त्र र स्लोभाकियाका पर्यटकहरूलाई आफ्ना समुद्री तटहरूमा घुम्न विशेष व्यवस्था गर्ने बताएको छ।

Short presentational grey line

के यसले यात्राको भविष्य परिवर्तन गर्ला?

भविष्यमा हुने अधिकांश छुट्टीहरू घरमै बिताइनेछ।

कोरोनाभाइरसको सङ्क्रमणका बीच क्रुज पानीजहाज यात्रा र लामो दुरीका हवाई उडानहरूले आकर्षण गुमाउनेछन्।

सोन्टाग पनि महामारीले मानिसहरूको आनीबानीमा परिवर्तन ल्याउन सक्ने कुरामा सहमत छन्।

"आन्तरिक घुमघामले मानिसहरूलाई भ्रमणका लागि सधैँ टाढा जानुपर्दैन भन्ने कुरा महसुस् गराउन सक्छ।"

१० प्रतिशत कर्मचारी कटौती गरिसकेको बोइङले हवाई उडानमा सन् २०१९ जस्तो चाप सन् २०२३ सम्म हुने अपेक्षा गरेको छैन।