कोरोनाभाइरस: कसरी कोभिड-१९ का कारण ज्यान गुमाएकाहरूले इटलीमा मृत्युपछि न्यूनतम सम्मान पाइरहेका छैनन्

तस्बिर स्रोत, Jilla Dastmalchi
इटलीले कोरोनाभाइरसको सङ्कटका कारण अन्तिम संस्कारको आयोजनामा प्रतिबन्ध लगाएको छ। कोरोनाभाइरसले आफ्ना दिवङ्गत प्रियजनलाई अन्तिम पटक बिदाइ भन्ने अवसर धेरै जनाबाट खोसिँदैछ।
मिलानस्थित अन्तिम संस्कार आयोजना गर्ने स्थलमा काम गर्ने एन्ड्रिया सेराटो भन्छन्, "यो महामारीले तपाईँलाई दुई पटक मार्छ।"
"पहिलो पटक यसले तपाईँ आफू मर्नुभन्दा अघि प्रियजनबाट एक्लो बनाउँछ। अन्तिमसम्म यसले कसैलाई पनि तपाईँनजिक आउन दिँदैन। परिवारहरू ठूलो पीडाबाट गुज्रिरहन्छन् र उनीहरूलाई यो स्वीकार गर्न पनि गाह्रो हुन्छ।"
इटलीमा कोभिड-१९ का अधिकांश पीडितहरू अस्पतालको एक्लै राखेर उपचार गरिने आइसोलेसन कक्षमा परिवारका कुनै सदस्य वा साथीभाइको अनुपस्थितिमा अन्तिम सास लिने गरेका छन्।
अस्पतालहरूमा कोरोनाभाइरस सङ्क्रमण सर्ने जोखिमले भ्रमणहरूमा प्रतिबन्ध लगाइएको छ।
स्वास्थ्य अधिकारीहरुले शवबाट भाइरसको सङ्क्रमण नहुने बताएका छन्।
तर उनीहरूले केही घण्टासम्म भाइरस मृतक व्यक्तिका कपडामा जीवितै रहन सक्ने उल्लेख गरेका छन्। त्यसैले शवलाई तत्कालै 'सील' गर्ने गरिएको छ।
क्रेमोनास्थित शवको अन्तिम संस्कारको तयारी गर्ने मासिमो म्यानक्यास्ट्रोपा भन्छन्, "धेरै जना परिवारले हामीसँग के अन्तिम पटक शव हेर्न पाउँछौँ भनेर सोध्नुहुन्छ। तर त्यसो गर्न निषेध गरिएको छ।"
मृतकलाई अरू बेलाजस्तो उनीहरूले सबैभन्दा राम्रा वा बढी मन पर्ने कपडा लगाइँदैन। बरू अस्पातलको गाउनमै गुपचुप गाड्ने गरिन्छ। तर मासिमो आफूले सकेसम्म गरिरहेको बताउँछन्।

तस्बिर स्रोत, Jilla Dastmalchi
"हामीले परिवारले दिएका कपडाहरू मृतकले लाएको जस्तै देखिनेगरी शवमाथि राखिदिन्छौँ। माथि सर्ट र तल स्कर्ट," उनी भन्छन्।
अन्तिम संस्कारका लागि शवहरू तयार पार्ने जिम्मेवारीमा रहेका 'अन्डरटेकर'हरूले महामारीको पछिल्लो अवस्थामा आफूलाई एकाएक वैकल्पिक परिवार, वैकल्पिक साथी र वैकल्पिक पादरीसम्मको भूमिकामा पाइरहेका छन्।
कोरोनाभाइरसका कारण ज्यान गुमाएका मानिसका नजिकका आफन्तहरू क्वारन्टीनमा बसिरहेका छन्।
एन्ड्रिया भन्छन्, "हामी उनीहरूको सबै जिम्मेवारी सम्हाल्छौँ। हामी अन्तिम संस्कारमा प्रयोग गरिने कफिनको तस्वीर प्रियजनलाई पठाइदिन्छौँ।
"त्यसपछि अस्पतालबाट शव सङ्कलन गर्छौँ र त्यसलाई गाडिदिन्छौँ वा जलाइदिन्छौँ। उनीहरूका सामु हामीलाई विश्वास गर्नुबाहेक अन्य विकल्प छैन।"

- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- सङ्क्रमण हुँदा के हुन्छ? मानिसको शरीरमा यस्तो हुन्छ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्


उनका अनुसार मृतकका शवलाई अहिले उनले राम्रो पोशाक लगाइदिन पाउँदैनन्। कपाल कोरिदिन वा सौन्दर्य सामग्री लगाइदिएर राम्रो र शान्त अवस्थामा बिदाइ गर्न नपाउँदा उनलाई निकै दुःख लाग्छ।
इटलीमा हाल व्यक्तिगत सामग्रीहरूको खरिदलाई गैरकानुनी बनाइएको छ। कोभिड-१९ को सङ्क्रमण फैलन नदिन नाटकीय कदमहरू चालिएका छन्।

तस्बिर स्रोत, Getty Images
कसैको घरमा मृत्यु भएको अवस्थामा 'अन्डरटेकरहरूलाई' घरभित्र जान अनुमति भए पनि उनीहरूले पूर्ण रूपमा सुरक्षित पोशाक लगाएर आउनुपर्ने व्यवस्था गरिएको छ। त्यसमा चश्मा, मास्क, पञ्जा र कोट हुने भनिएको छ। त्यो भर्खरै आफन्त गुमाएका व्यक्तिका लागि पनि एकदमै तनाव दिने खालको दृश्य हुने गर्छ।
तर अन्तिम संस्कारको तयारीमा खटिने धेरै अन्डरटेकर्सहरू नै अहिले क्वारन्टीनमा छन्। कैयौँले व्यवसाय बन्द गर्नुपरेको छ। उनीहरूमध्ये धेरैसँग मास्क वा पञ्जाजस्ता सुरक्षाका लागि आवश्यक व्यक्तिगत पोशाक पर्याप्त छैनन्।
इटलीको राष्ट्रिय सङ्कटकालीन कानुनले देशभरि अन्तिम संस्कारहरू आयोजना गर्न प्रतिबन्ध लगाएको छ। बलियो रोमन क्याथलिक मान्यता भएको देशमा यो एउटा अभूतपूर्व निर्णय हो।
कम्तीमा दिनको एक पटक एन्ड्रियाले एउटा शवलाई गाड्छन् र अन्तिम बिदाइका लागि कोही पनि आउँदैनन् किनभने सबैजना क्वारन्टीनमा बसिरहेका छन्।
मासिमो भन्छन्, "शव गाड्ने बेलामा एक वा दुई जनालाई त्यहाँ बस्न दिइन्छ र त्यतिलाई मात्रै। कोही पनि केही बोल्न मन गर्दैनन् र त्यहाँ पूर्ण रूपमा मौनता हुन्छ।"
सकेसम्म उनले कफिनलाई कारमा राखेर गिर्जाघरमा लैजान्छन् र पादरीलाई तत्कालै आशीर्वाद दिन पनि भन्छन्। त्यो केही सेकेण्डमा नै सकिन्छ। त्यसपछि अर्को व्यक्तिको पालो आउँछ।
कोरोनाभाइरसका कारण ज्यान गुमाउनेको सङ्ख्या बढिरहँदा इटलीको अन्तिम संस्कार व्यवस्थापनमा चुनौती थपिएको छ।
मार्च २४ सम्ममा त्यहाँ कोरोनाभाइरसका कारण झण्डै सात हजार जनाले ज्यान गुमाइसकेका छन्। त्यो सङ्ख्या संसारकै सबैभन्दा उच्च हो।
एन्ड्रिया भन्छन्, "हाम्रो क्रेमोनास्थित अन्तिम संस्कार गर्ने घरअघि मानिसहरू लामबद्ध छन्। अवस्था हेर्दा सुपरमार्केटजस्तै छ।"

तस्बिर स्रोत, Reuters
उत्तरी इटलीका शवगृहहरू पनि भरिएका छन्। गिर्जाघरबाहिर शव बाकसहरू थुपारिएका छन्।
इटलीमा सबैभन्दा बढी मानिसले कोरोनाभाइरसका कारण ज्यान गुमाएको क्षेत्रमा अन्तिम संस्कार गर्ने स्थल भरिएपछि सेनाले हस्तक्षेप गर्नुपरेको थियो।
अघिल्लो हप्ता सेनाको ट्रकले बिस्तारै गुड्दै चोकबाट ७० वटा शव लिएर गएको स्थानीय बासिन्दाले मौनतापूर्वक हेरेका थिए।








