कोरोनाभाइरस: सङ्क्रमितको सङ्ख्या चीन र इटलीभन्दा अमेरिकामा धेरै

तस्बिर स्रोत, Reuters
कोरोनाभाइरस सङ्क्रमणका पछिल्ला आँकडा अनुसार अब सबभन्दा धेरै सङ्क्रमितको सङ्ख्या अमेरिकामा पुगेको छ।
जन्स हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा कोभिड-१९ सङ्क्रमितको सङ्ख्या ८२ हजार चार सय पुगेको छ।
चीनमा कुल सङ्क्रमितको सङ्ख्या ८२ हजारभन्दा कम छ भने इटलीमा ८० हजार छ।
परीक्षण धेरै गरिएको कारण हो?
ठूलो सङ्ख्यामा सङ्क्रमित पाइएको बारे सोधिएको प्रश्नमा राष्ट्रपति डोनल्ड ट्रम्पले यो धेरै परीक्षण गरेको कारण भएको बताए।
राष्ट्रिय स्तरमा आवश्यक औषधोपचार सामग्री नभएका गुनासोलाई उनले अस्वीकार गरेका छन्।
आफ्नो प्रशासनले आपतकालीन आपूर्तिबारे बिग्रिएको प्रणाली बिरासतमा पाएको उनले बताए।

- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- सङ्क्रमण हुँदा के हुन्छ? मानिसको शरीरमा यस्तो हुन्छ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्

संसारमा पाँच लाख नाघ्यो
विश्वभरि कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या पाँच लाख नाघेको छ।
इटलीमा दुई दिनको तुलनामा फेरि मर्नेहरूको सङ्ख्या बढेको छ। त्यहाँ पछिल्लो एक दिनमा ७१२ जनाको ज्यान गएको छ।
फ्रान्समा एक दिनमा ३६५ जनाको ज्यान गएको छ भने युकेमा पनि एकै दिनमा पहिलो पटक एक सयभन्दा धेरैको ज्यान गएको छ।
बीबीसी सम्वाददाता स्टिभ ज्याकसन भन्छन्, "संसारभरि सङ्क्रमितको सङ्ख्या पाँच लाख पुग्नु गम्भीर कोशेढुङ्गा हो। तर विज्ञहरू भन्छन् वास्तविक सङ्ख्या अझै धेरै हुन सक्छ किनकी कैयन् देशमा औपचारिक रूपमा घोषणा गरिएका सङ्क्रमितको सङ्ख्याभन्दा वास्तविक सङ्ख्या निकै धेरै हुनसक्छ।"
संसारका १८० भन्दा बढि देशमा यो रोग फैलिसकेको छ।
करिब २३ हजार मानिसको ज्यान गइसकेको छ।









