कोरोनाभाइरस: नेपालमा कोरोनाभाइरस सङ्क्रमण परीक्षणका लागि आवश्यक व्यवस्था कस्तो छ?

तस्बिर स्रोत, Getty Images
नेपालमा कोरोनाभाइरस सङ्क्रमण भए नभएको प्रयोगशाला परीक्षण गर्ने किट र उपकरणको अहिले अभाव नरहेको काठमाण्डूस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका एक अधिकारीले बीबीसीलाई बताएका छन्।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका सूचना अधिकारी राजेशकुमार गुप्ताका अनुसार अहिले प्रयोगशालामा कोरोनाभाइरस सङ्क्रमण भए नभएको परीक्षण गर्नका लागि २००० भन्दा बढी किट उपलब्ध छन्।
उनका अनुसार थप किट आउने क्रममा रहेको छ।
गुप्ताले बीबीसी न्यूज नेपालीसँग भने, "हामीसँग अस्ति मगाएको २००० किट छ। त्यो भन्दा पहिलेको किट पनि स्टकमा छ। अझै थप आउने क्रममा रहेको छ।"
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीका अनुसार छिमेकी चीन र भारतबाट पनि परीक्षण किट र स्वास्थ्यकर्मीका लागि आवश्यक सुरक्षा पोशाक तथा उपकरण आउने क्रममा रहेको छ।
हालै कतारको दोहा हुँदै फ्रान्सबाट नेपाल आएकी एक युवतीमा कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि भएपछि उनको शुक्रराज अस्पताल काठमाण्डूमा उपचार भइरहेको छ।
उनी नेपालकी दोस्रो कोरोनाभाइरस सङ्क्रमित हुन्।
पाँच साताअघि चीनको वुहानबाट आएका एक नेपालीमा पनि त्यो भाइरस देखिएको थियो। तर उनी उपचारपछि निको भएर आफ्नो घर फर्किइसकेका छन्।
परीक्षण सुविधाको विस्तार कहिले होला?
स्वास्थ्य मन्त्रालयले काठमाण्डूको जस्तै कोरोनाभाइरस परीक्षण प्रयोगशाला देशका सातै वटा प्रदेशमा विस्तार गर्ने योजना सार्वजनिक गरिसकेको छ। तर त्यसले कहिले मूर्तरूप लेला त्यो अझै प्रष्ट छैन।

तस्बिर स्रोत, EPA
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका अधिकारीहरूका अनुसार कोरोनाभाइरस परीक्षण सुविधा "केही दिनभित्रै" वीर अस्पताल, धुलिखेल अस्पताल, पाटन अस्पताल र बीपी कोइराला अस्पताल धरानमा पनि विस्तार गरिँदैछ।
त्यसपछि क्रमिक रूपमा सातै प्रदेशमा त्यो सुविधा विस्तार गरिन लागेको अधिकारीहरू बताउँछन्।
कोरोनाभाइरस परीक्षण किटसँगै सरकारले स्वास्थ्यकर्मीका लागि आवश्यक सुरक्षा उपकरण र पोशाक समेत चीन, भारत र अन्य छिमेकी देशबाट मगाउन लागिएको परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले बीबीसी न्यूज नेपालीलाई बताए।
परीक्षण कसरी हुँदैछ?
जनस्वास्थ्य प्रयोगशालाका सूचना अधिकारी एवं प्राविधिक गुप्ताका अनुसार प्रयोगशालामा अहिलेसम्म झन्डै ६५० नमुना परीक्षण भइसकेको छ। तीमध्ये जम्मा दुईवटा मात्र सङ्क्रमित पाइएका छन्।

तस्बिर स्रोत, PA Media
उनले भने, "हिजो र आज दैनिक ५० वटा जति नमुनाको परीक्षण भइरहेको छ। नमुनाहरू आउने क्रम अहिले बढेको छ।"
नमुना परीक्षणको नतिजा आउन २४ घन्टासम्म लाग्ने गरेको छ।
डब्ल्यूचओको मान्यताप्राप्त प्रयोगशालामा पीसीआर भनिने उपकरणको सहायताले नमुनाहरू परीक्षण हुने गरेको छ।
विश्व स्वास्थ्य सङ्गठन, डब्ल्यूएचओका अनुसार कोरोनाभाइरसको महामारी रोकथामका लागि मानिसहरू एकान्तबासमा बस्न जरुरी हुन्छ।
सँगसँगै बढीभन्दा बढी शङ्कास्पद व्यक्तिको घाँटीबाट निकालिएको तरल पदार्थको परीक्षण पनि उत्तिकै जरुरी हुन्छ।


- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- नेपाल कति तयार?रोकथाममा चुनौतीका चाङ
- सङ्क्रमण हुँदा के हुन्छ? मानिसको शरीरमा यस्तो हुन्छ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्









