कोरोनाभाइरस: यूकेमा पाँचमध्ये एक कामदार 'एकैपटक बिरामी पर्न सक्ने'

कोरोना संक्रमण

तस्बिर स्रोत, Getty Images

यूके सरकारले घोषणा गरेको पछिल्लो योजनामा बताइएअनुसार कोरोनाभाइरस सङ्क्रमणको अवस्था उच्च रहेको बेला देशको श्रमशक्तिको पाँचभागमा एकभाग एकैपटक बिरामी पर्न सक्छन्।

भाइरस फैलिएमा प्रहरीले गम्भीरतम प्रकृतिका अपराधहरू र शान्ति सुव्यवस्था कायम गर्नमा मात्र ध्यान केन्द्रित गर्नुपर्ने हुन सक्छ भनिएको छ।

साथै, आवश्यक परे सेनाले आपत्कालीन सेवाहरूलाई सहयोग गर्नुपर्ने हुन सक्छ।

अन्य सम्भावित उपायहरूमा विद्यालय बन्द गर्ने, सामाजिक जमघट कम गर्ने र मानिसहरूले घरबाटै काम गर्ने लगायतका बारेमा योजना बनाइएको छ।

अस्पतालहरूमा अत्यावश्यक बाहेकका स्वास्थ्य सेवामा ढिलाइ गरेर कोरोनाभाइरसका बिरामीहरूको उपचारलाई प्राथमिकता दिइनेछ। र हालै सेवाबाट अवकाश पाएका चिकित्सक र नर्सहरूलाई फेरि काममा बोलाउन सकिनेछ।

सावधान

सोमवार प्रधानमन्त्री बोरिस जोनसनले देशमा कोरोनाभाइरसको सङ्क्रमण 'उल्लेखनीय रूपमा विस्तार हुन सक्ने' भनी सावधान गराएपछि यस्तो योजना सार्वजनिक गरिएको छ।

कोभिड-१९ कोरोनाभाइरसको सङ्क्रमण भएकामध्ये ठूलो सङ्ख्यामा यसको लक्षण न्यूनदेखि मध्यम प्रकारको हुन्छ जुन मौसमी रुघाखोकीको जस्तै हो। तर केही थोरै सङ्ख्याका बिरामीहरूलाई अस्पतालमा भर्ना गरेर उपचार गर्नुपर्ने हुन्छ।

कोरोना संक्रमण

तस्बिर स्रोत, Reuters

ब्रिटिश सरकारले घोषणा गरेको योजनामा भनिएअनुसार सो भाइरस सङ्क्रमण भएकाहरूमध्ये केही थोरै प्रतिशतको ज्यान पनि जान सक्छ।

उक्त योजनामा कुनै अनुमानित सङ्ख्या दिइएको छैन। तर यो सङ्क्रमणका कारण मानिसहरूको ज्यान जाने घटनामा वृद्धि हुने जनाइएको छ, खासगरी जोखिमपूर्ण र पाको उमेरका मानिसहरूमा।

साना बच्चाहरू पनि सङ्क्रमित हुन 'र गम्भीर बिरामी पर्न' सक्छन्।

तर २० वर्षभन्दा कम उमेरका मानिसमा यो सङ्क्रमण सामान्यतया कम पाइएको छ।

लहर

यो सङ्क्रमणको महामारी विभिन्न लहरमा फैलिन सक्ने पनि ब्रिटेनको सरकारले जनाएको छ।

कोरोना संक्रमण

तस्बिर स्रोत, Getty Images

ब्रिटेनको सरकारले सार्वजनिक गरेको कोरोनाभाइरस कार्ययोजनाका अन्य बुँदा:

  • अस्पतालमा भर्ना भएकाहरूलाई निरीक्षण गरेर अवस्था हेरी उनीहरूको घरमै उपयुक्त उपचारको व्यवस्था गरी डिस्चार्ज गर्ने र अस्पतालमा कोरोनाभाइरसबाट सङ्क्रमित मानिसको सम्भावित उपचारकालागि शय्या खाली राख्‍ने
  • सबै सरकारी विभागहरूमा कोरोनाभाइरससम्बन्धी एकजना नेतृत्वकर्ता तोक्ने
  • व्यापार व्यवसायलाई अल्पकालीन नगदप्रवाहको समस्या परेमा सहयोग गर्ने र उनीहरूलाई महसुलहरू तिर्नकालागि अतिरिक्त समय दिने
  • यूकेमा सङ्ग्रह गरेर राखिएका महत्त्वपूर्ण औषधि र उपकरणको वितरण रणनीतिक रूपमा गर्ने व्यवस्था मिलाउने