प्रधानमन्त्री केपी ओली: दोस्रो पटक मिर्गौला प्रत्यारोपणका लागि सोमवार अस्पताल भर्ना हुने

प्रधानमन्त्री केपी शर्मा ओली

तस्बिर स्रोत, RSS

Published

प्रधानमन्त्री एवं नेकपाका एक अध्यक्ष केपी शर्मा ओलीको बुधवार दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्न लागिएको उनको दलका प्रवक्ताले बताएका छन्।

आइतवार बसेको पार्टी सचिवालय बैठकमा अध्यक्ष ओलीले यसबारे जानकारी गराएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।

प्रत्यारोपणका लागि सोमवार नै प्रधानमन्त्री ओली शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना हुने श्रेष्ठले बताए।

पहिला पनि प्रत्यारोपण

यसअघि २०६४ सालमा ओलीको भारतको दिल्लीस्थित एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण भएको थियो।

त्यसयता उनले नियमित रूपमा स्वस्थ्य परीक्षण गराउँदै आएका छन्।

त्यस बेला उनलाई बुहारी नाता पर्ने अन्जना घिमिरेले मिर्गौला दिएकी थिइन्।

यस पटक पनि प्रधानमन्त्री ओलीलाई उनको नाता पर्ने एक महिलाबाट मिर्गौला प्रत्यारोपण गर्न लागिएको सचिवालयका एक नेताले बीबीसीलाई बताए।