काठमाण्डूका घना बस्तीमा पेट्रोल पम्प, तर स्थानान्तरण पेचिलो

पेट्रोल पम्प

सरकारले सडकनजिक तथा घना बस्तीबीच रहेका पेट्रोल पम्प स्थानान्तरण गर्ने योजना अघि बढाउने निर्णय गरेको विवरण सार्वजनिक भएको बेला उक्त कार्य सहज भने नहुने देखिएको छ।

काठमाण्डूका विभिन्न स्थानमा रहेका १८ वटा पेट्रोल पम्पहरूलाई सरकारले अन्यत्र सार्न निर्देशन दिने तयारी गरेको बताइएको छ।

तर राज्यको नियम कानुन पालना गरेरै सञ्चालन गरेको हुँदा अन्यत्र सर्ने कुरा स्वीकार्य नहुने व्यवसायीहरूले बताएका छन्।

मुलुकको सङ्घीय राजधानीमा व्यवस्थित सहरीकरण नहुनुमा आफूहरूको दोष नरहेको भन्दै उनीहरूले 'आफूखुसी' निर्णय गर्न नपाउने उनीहरू बताउँछन्।

कति छन् पेट्रोल पम्प?

नेपाल आयल निगमका अनुसार काठमाण्डू उपत्यकामा करिब १७० वटा पेट्रोल पम्प छन्।

तीमध्ये अधिकांश घना बस्ती वा सडकको छेउमा रहेको अधिकारीहरू स्वीकार्छन्।

निगमका प्रवक्ता वीरेन्द्र गोइतले पहिलो चरणमा सडकलाई प्रत्यक्ष असर पारेका पम्पलाई अन्यत्र सार्ने योजना रहेको बताए।

उनले भने, "प्रधानमन्त्री कार्यालयबाट निर्णय भएको भन्ने कुरा सुनेका छौँ। तर हामीसँग त्यसबारे लिखितरूपमा केही पनि आएको छैन।"

"सडक आवागमन नै प्रभावित पार्ने स्थानका हकमा भने स्थानान्तरण गर्न हामीले पहिलेदेखि नै भनिरहेका छौँ।"

क्षतिपूर्ति दिए तयार

नेपाल पेट्रोलियम डिलर राष्ट्रिय एसोसिएसनका कार्यकारी सचिव नारदप्रसाद भण्डारीले यो विषय नयाँ नरहेको बताउँदै आफूहरूले त्यसमा आफ्नो पटकपटक धारणा राख्दै आएको बताए।

उनले भने, "काठमाण्डूबाट नौ वटा पम्प विस्थापित भइसकेका छन्। व्यवसाय गर्ने स्थिति रहेन भने व्यवसायीहरू आफैँ हट्दै जान्छन्।"

"वर्षौँ पहिले बनेका पम्पलाई एउटा सूचनाका आधारमा हटाउन सकिँदैन।"

तर सरकारले हटाउन चाहेकै हो भने त्यस विषयमा छलफल गरेर निकास निकाल्न सकिने उनी बताउँछन्।

"सरकारले उपयुक्त स्थान र उचित क्षतिपूर्ति दिए व्यवसायीहरू तयार होलान् तर आफ्नै जग्गामा दायित्व पूरा गरेर सञ्चालन भएका पम्प सूचनाकै भरमा बन्द गर्ने कुरा भने मिल्दैन," उनले थपे।

नक्सालस्थित नेपाल प्रहरीले सञ्चालन गरेको पेट्रोल पम्प

सडक विस्तार हुँदै गएपछि पम्प बाटोमा आएको गोइत स्वीकार्छन्।

"हामीलाई विकल्प दिएर भएपनि ती स्थानबाट पम्प हटाउनुपर्ने हुन्छ।"

ती विकल्प के हुन सक्लान् भन्ने प्रश्नमा उनले भने: "क्षतिपूर्तिबारे निर्णय पछि होला। नियम बन्ला। छलफल होला। अहिले नै केही भन्न सकिने अवस्था छैन।"

सुरक्षाको प्रश्न

सडकबाहेक घना बस्तीमा सुरक्षा चुनौती पनि पेचिलो विषय बनेको सरकारी अधिकारीहरू बताउँछन्।

काठमाण्डूको तीनकुने, चाबहिल, बालकुमारी र कोटेश्वरमा रहेका पेट्रोल पम्पमा आगलागी भइसकेका छन्।

"म पनि ती दुर्घटनाको प्रत्यक्षदर्शी हुँ। तर त्यहाँ भएका क्षति भने सामान्य हुन," भण्डारीले भने।

"हामीले राख्ने ट्याङ्की जमिनमुनि हुने हुँदा त्यहाँसम्म आगोले टिपेर समस्या हुने सम्भावना रहँदैन।"

बसोबास वा आवतजावत बढी हुने स्थानमा रहेका पेट्रोल पम्पमा दुर्घटना भए ठुलो क्षति हुनसक्ने हुँदा पनि पेट्रोल पम्पहरूलाई स्थानान्तरण गर्न खोजिएको सरकारी अधिकारीहरूको तर्क छ।