इरान-अमेरिका तनाव: इरानी जबाफी हमलापछि द्वन्द्व अब चर्केला कि नचर्केला

इरानी क्षेप्यास्त्र

तस्बिर स्रोत, EPA/IRIB handout

तस्बिरको क्याप्शन, इरानी सरकारी टेलिभिजनले इराकस्थित अमेरिकी सैन्य अखाडामा गरिएको भनिएको क्षेप्यास्त्रको भिडिओ प्रसारण गरेका थियो

इरानले जेनरल कासिम सुलेमानी मारिने गरी भएको अमेरिकी हमलाको बदलास्वरूप इराकमा अमेरिकी सैन्यहरू रहेका हवाई अखाडाहरूमा बलिस्टिक क्षेप्यास्त्र आक्रमण गरेको छ।

यो सन् १९७९ मा तेहरानस्थित अमेरिकी दूतावासलाई कब्जामा लिइएयता इरानले अमेरिकाविरुद्ध गरेको सबैभन्दा प्रत्यक्ष प्रकृतिको हमला हो।

इरानबाट प्रहार गरिएका एक दर्जनभन्दा बढी क्षेप्यास्त्रहरूले इराकी राजधानी बग्दादको पश्चिमस्थित एरबिल र अल असदमा रहेका दुई हवाई अखाडालाई निशाना बनाएका थिए।

हमलामा के कति हताहति भए भन्ने स्पष्ट विवरण प्राप्त भएको छैन।

उक्त हमलाप्रति वाशिंगटनको प्रारम्भिक प्रतिक्रिया केही सानो देखिएको छ। राष्ट्रपति ट्रम्पले ट्वीटर सन्देश लेख्‍दै "सबै कुरा हालसम्म ठीक रहेको" बताउँदै सम्भावित हताहति र क्षतिको विवरण संकलन भइरहेको जनाएका थिए।

आयातोल्लाह खामेनेई

तस्बिर स्रोत, IRAN State TV

अमेरिकी र गठबन्धन सैनिकहरू रहेका दुई इराकी अखाडाहरूमा स्थानीय समय अनुसार बुधवार विहानको दुईबजे हमला भएका थिए।

माग

इरानका सर्वोच्च नेता आयातोल्लाह खामेनेईले ती हमला अमेरिकाको "मुखमा हानिएको थप्पड" भएको बताएका छन् भने उनले मध्यपूर्वमा अमेरिकी सैनिक उपस्थितिको अन्त्यको माग गरेका छन्।

उनको भनाइलाई दोहोर्‍याउँदै, राष्ट्रपति हसन रूहानीले भने सुलेमानीको हत्याको प्रतिक्रिया स्वरूप इरानले दिने "अन्तिम जबाफ" सबै अमेरिकी सैन्यलाई "उक्त क्षेत्रबाट बाहिर निकाल्नु" हुनेछ।

इराकका प्रधानमन्त्री अदेल अब्दुल महदीले भनेका छन् उनलाई स्थानीय समय अनुसार मध्यराततिर इरानले एक आक्रमण गर्न लागेको र अमेरिकी सैनिकहरू रहेका इलाकालाई मात्र निशाना बनाइने भनी सावधान गराइएको थियो। उनले इराकी हताहतिका बारे कुनै विवरण प्राप्त नभएको बताएका छन्।

बीबीसीका प्रतिरक्षा सम्वाददाता जोनाथन मार्कस भन्छन् जेनरल सुलेमानीको महत्व र उनको हत्यापछि व्यक्त भएका भावपूर्ण अभिव्यक्तिको हिसाबले हेर्ने हो भने इरानले अमेरिकी सैनिक अखाडाविरुद्ध गरेको हमला मध्यमस्तरकै हो।

हाम्रा सम्वाददाता भन्छन् सकेसम्म कम हताहति होस् भनेर नै हमलाको समय चयन गरिएको बुझ्न सकिन्छ। चर्को कुरा गरे पनि अमेरिका र इरान ठूलो आकारको द्वन्द्व चाहँदैनन्।

तर के यो इरानले गर्नसक्ने जबाफी कारबाहीको अन्त्य हो त? जोनाथन मार्कस भन्छन्, "त्यो त समयले नै बताउनेछ।"

सुलेमानी

तस्बिर स्रोत, Getty Images

जबाफ

इरानका प्रतिरक्षा मन्त्री आमिर हतामीले भनेका छन् अमेरिकाको तर्फबाट हुने हमलाको इरानी जबाफ अमेरिकी कदम अनुसार नै हुनेछ।

तर इरानका विदेशमन्त्री मोहम्मद जवाद जरिफले भनेका छन् उक्त हमला प्रतिरक्षात्मक हो। र उनले लेखेका ट्वीटर सन्देशमा आफूहरूले वर्तमान अवस्थालाई युद्धको रूप दिन नचाहेको पनि बताएका छन्।

बग्दादस्थित बीबीसीका मध्यपूर्व सम्पादक जेरमी बोएन भन्छन् ट्वीटर सन्देशहरूमाथि विचार गर्ने हो भने इरानले सुलेमानीको हत्यापछि आफूले जनाउने जबाफी कारबाहीलाई अब सीमित पार्न चाहेको देखिन्छ र उसले अब त्यहाँको स्थितिलाई चर्काउने कि न चर्काउने भन्ने कुरा अमेरिकीहरूको काँधमा छाडेको जस्तो देखिन्छ।