गुगलका संस्थापकहरूद्वारा कम्पनीको उच्च पदबाट हट्ने घोषणा

ल्यारी पेज र सर्गे ब्रिन

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, ल्यारी पेज र सर्गे ब्रिन

गुगलका सहसंस्थापकहरू ल्यारी पेज र सर्गे ब्रिनले गुगलको मातृ कम्पनी अल्फाबेटको उच्च पदमा आफूहरू नरहने घोषणा गरेका छन्।

यो घोषणासँगै गुगलको मूल कम्पनी अल्फाबेटको प्रमुख कार्यकारी अधिकृत र अध्यक्षको पदबाट उनीहरू हट्नेछन् तर बोर्डमा भने रहनेछन्।

एउटा वक्तव्यमा जनाइए अनुसार गुगलका प्रमुख कार्यकारी अधिकृत सुन्दर पिचाई अब अल्फाबेटको पनि प्रमुख कार्यकारी अधिकृतका रूपमा रहनेछन्।

गुगलको संस्थागत पुनर्संरचना गरिएपछि सन् २०१५ मा अल्फाबेट निर्माण गरिएको थियो।

गुगलको स्थापना

पेज र ब्रिनले सन् १९९८ मा क्यालिफोर्नियामा गुगलको स्थापना गरेका थिए।

गुगलले इन्टरनेट सर्च इन्जिनबाट स्वचालित कारको निर्माणजस्ता क्षेत्रमा व्यवसाय विस्तार गरेपछि मातृ कम्पनीको उद्देश्य उसका गतिविधिहरूलाई "स्वच्छ र थप उत्तरदायी" बनाउनु रहेको बताइएको थियो।

ल्यारी पेज र सर्गे ब्रिन

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, ल्यारी पेज र सर्गे ब्रिन

अल्फाबेट बनाइएपछि उनीहरू दुवैजना गुगलबाट त्यसमा सर्दै आफूहरूले नयाँ पहल सुरु गर्ने बताएका थिए।

४६ वर्षका सहसंस्थापकहरूले मङ्गलवार पोस्ट गरेको एउटा ब्लगमा कम्पनीको दैनिक व्यवस्थापकीय कामबाट पछि हटेको घोषणा गरेका थिए।

उनीहरूको संयुक्त वक्तव्यमा आफूहरू "बोर्ड सदस्य, शेयरधनी र सहसंस्थापकका रूपमा सक्रिय रूपमा सहभागी रहने" उल्लेख छ।

तर उनीहरूले भनेका छन्, "हाम्रो व्यवस्थापन प्रणालीलाई सामान्यीकरण गर्ने यो प्राकृतिक समय हो।"

पिचाईको भनाइ

ल्यारी पेज र सर्गे ब्रिन दुवैले अबको समय एउटा गर्वसाथ अभिभावकको रूपमा रहने बताएका छन्।

उक्त वक्तव्यमा उनीहरूले कम्पनीको नेतृत्व गर्न पिचाई बाहेक अर्को उपयुक्त व्यक्ति नभएको पनि उल्लेख गरेका छन्।

सुन्दर पिचाई

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, सुन्दर पिचाई

४७ वर्षे पिचाई भारतमा जन्मिएका थिए र इन्जिनियरिङ अध्ययन गरेका थिए।

गुगलमा काम सुरु गर्नुअघि उनी अध्ययनका लागि अमेरिका गएका थिए।

एउटा वक्तव्यमा उनले आफू "उत्साहित" भएको बताएका छन् र पेज र ब्रिनप्रति सम्मान व्यक्त गरेका छन्।

अमेरिकी राज्य क्यालिफोर्नियास्थित सिलिकन भ्यालीमा २१ वर्षअघि स्थापना भएको गुगल अहिले विश्वको धनीमध्येको कम्पनीमा गनिन्छ र डिजिटल अर्थतन्त्रमा उसको मुख्य हिस्सेदारी छ।