१३औँ दक्षिण एशियाली खेलकुद: नेपाललाई कराते, उसु, साइक्लिङ र तेक्वान्दोमा स्वर्ण पदक

तस्बिर स्रोत, RSS
तेह्रौँ दक्षिण एशियाली खेलकुदको तेस्रो दिन नेपाली खेलाडीले थप स्वर्ण पदक जितेका छन्।
नेपालले बुधवार साइक्लिङ, उसु, कराते र तेक्वान्दोमा स्वर्ण पदक जितेको हो।
तेस्रो दिनसम्म नेपालले कुल २९ स्वर्ण पदक जितेको छ।
तेक्वान्दोको ६२ केजी मुनि तौल समूहमा संगीता बस्याल र ८७ केजी मुनि तौल समूहमा सक्षम कार्कीले स्वर्ण जितेका हुन्।
दीपक हमालले उसुमा र अनुपमा मगरले करातेमा एक-एकवटा स्वर्ण पदक जितेका छन्।
साइक्लिङको पुरुष तथा महिला डाउनहिल प्रतिस्पर्धामा नेपाली खेलाडीहरूले स्वर्ण तथा रजत पदक जिते।
अहिलेसम्म नेपाल पदक-तालिकाको शीर्ष स्थानमा छ।

हमालले उसुको पुरुष नान क्वानमा भारतका साजन लामालाई पराजित गरेका थिए। पाकिस्तानका मोहम्मद दाउदले कांस्य पदक जिते।
मगरले ६८ किलो तौल समूहमा पाकिस्तानी खेलाडीलाई पराजित गरेर स्वर्ण पदक हात पारेकी हुन्।

साइक्लिङमा स्वर्ण र रजत
गोकर्णमा साइक्लिङको एक किलोमिटर दूरीको डाउनहिलमा राजेश मगर प्रथम र नीरव श्रेष्ठ द्वितीय भए।
मगरले एक मिनेट ४९ सेकन्डमा उक्त दूरी पूरा गरे।
महिलातर्फ निश्मा श्रेष्ठले स्वर्ण र जमुना थापाले रजत पदक जिते।

अहिलेसम्म नेपाली खेलाडीहरूले तेक्वान्दो, एथलेटिक्स, उसु, ट्रायथलन, कराते र साइक्लिङमा स्वर्ण पदक जितेका छन्।
मङ्गलवार नेपाली महिला भलिबल टोली भारतसँग पराजित भएर रजत पदकमा सीमित भएको थियो।








