कलाप्रतिको आकर्षण बढाउन भियनामा सेल्फी सङ्ग्रहालय

तस्बिर स्रोत, Philipp Lipiarski
अष्ट्रियाको भियना शहरमा युवाहरूका लागि इन्स्टाग्राम तस्बिर खिच्न मिल्ने र आफ्नो कलाकृति बनाउन सकिने स्थान भएको सेल्फी सङ्ग्रहालय खुल्न लागेको छ।
चहकिला रङ्ग पोतिएका भित्ताहरू र ठूला सामानहरूले यो सङ्ग्रहालयलाई सेल्फी खिच्नका लागि उपयुक्त स्थान बनाएको छ।
"सङ्ग्रहालय जाने युवाहरूको सङ्ख्या घटिरहेको छ त्यसैले त्यो अवस्था परिवर्तन गर्न हामी सामाजिक सञ्जाल प्रयोग गर्न खोजिरहेका छौँ," नोफिल्टर सङ्ग्रहालयका सह-निर्माता पेट्रा स्चार्गरले बताइन्।
"उनीहरू वास्तविक संसारमा भन्दा अनलाइन संसारमा बाँच्न मन पराउँछन्।"

तस्बिर स्रोत, Philipp Lipiarski
सेल्फी सङ्ग्रहालय युवाहरूलाई रमाइलो हुने सामग्रीहरूले भरिएको छ।
सेल्फी सङ्ग्रहालयमा २४ वटा कोठा छन् र त्यहाँ आउनेहरूले विभिन्न भित्ता र स्थानमा तस्बिर खिच्न सक्छन्।
सिर्जनात्मक सेल्फी खिच्न मिल्ने स्थानहरूका साथै नक्कली खानेकुराले भरिएको एउटा कोठा पनि त्यहाँ छ।

तस्बिर स्रोत, Philipp Lipiarski
अहिले संसारभर सामाजिक सञ्जालका प्रयोगकर्ताहरूलाई लक्षित गरेर विभिन्न स्थानहरू बनाइएका छन्।
सामाजिक सञ्जालमा धेरै मानिसहरूसँग जोडिएका केही प्रयोगकर्ताहरूले यो सेल्फी सङ्ग्रहालयमा आएर तस्बिर खिच्ने इच्छा देखाएका छन्।
अमेरिकामा भएको आइसक्रिमको सङ्ग्रहालय सामाजिक सञ्जालमा चर्चित छ र यसको इन्स्टाग्राम अकाउन्टमा झन्डै चार लाख फलोअर छन्।

तस्बिर स्रोत, Philipp Lipiarski
सेल्फी सङ्ग्रहालयमा निर्माताहरूले प्रतिदिन तीनदेखि पाँच सय मानिसहरू आउने अपेक्षा गरेका छन्।
"मलाई लाग्छ सङ्ग्रहालयको भविष्य यहि हो," स्चार्गर भन्छिन्।
"यसको खास उद्देश्य सेल्फी खिच्नु मात्रै होइन, तर यहाँ आएर कलासँग रमाइलो समय बिताउने हो।"

तस्बिर स्रोत, Philipp Lipiarski
"मानिसहरू धेरै समय मोबाइलमा बिताउँछन् यसर्थ हामीले मोबाइलसँग केही वास्तविक संसार र केही रमाइलो जोड्ने प्रयास गरेका छौँ।"
सेल्फी सङ्ग्रहालयका निर्माताहरूले यसलाई संसारभर लैजाने योजना बनाएका छन्।








