नेपाल क्रिकेट सङ्घ: निर्वाचनमा विनयराज पाण्डे र चतुरबहादुर चन्दबीच प्रतिस्पर्धा

- Author, निरञ्जन राजवंशी
- Role, बीबीसी न्यूज नेपाली
विगत तीन वर्षभन्दा लामो समयदेखि अन्तर्राष्ट्रिय निलम्बन खेपेको नेपाल क्रिकेट सङ्घ (क्यान) को नयाँ निर्वाचन आगामी शनिवार हुँदैछ।
यो निर्वाचनपछि नेपाल क्रिकेट सङ्घले नयाँ प्रशासकीय नेतृत्व पाउने अपेक्षा गरिएको छ। निर्वाचनसँगै निलम्बन पनि स्वत: समाप्त हुनेछ।
विगतमा देखिएको क्रिकेटको लामो विवाद, सरकारी हस्तक्षेप र अन्य समस्याको समाधान पनि निर्वाचनले दिने विश्वास गरिएको छ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को प्रत्यक्ष निगरानी र निर्देशनमा जिल्लादेखि प्रदेशसम्मको निर्वाचनबाट छानिएर अन्तिम निर्वाचनका लागि प्रतिनिधिहरू पनि तयार भइसकेका छन्।
सरकारी हस्तक्षेप भएको भन्दै अक्टोबर २०१६ मा आईसीसीले क्यानको सदस्यता निलम्बन गरिदिएको थियो।
अब क्रिकेट वृत्तमा सबैको एउटै चासो छ - नेपाली क्रिकेटको मुहार फेर्ने भनिएको नयाँ निर्वाचनबाट कस्तो नेतृत्व आउला?
के भन्छन् प्रमुख दाबेदार?
नेपाली क्रिकेटको लामो समय नेतृत्व गरेका पूर्वअध्यक्ष विनयराज पाण्डे र अर्का पूर्वअध्यक्ष चतुरबहादुर चन्द पुन: क्यानको नेतृत्व गर्न इच्छुक देखिएका छन्।
चुनावी दाउपेचको खेलमा सम्भावनाका ढोकाहरू खुले प्रदेश नम्बर १ का अध्यक्ष मिङ्मा डुण्डु शेर्पा नयाँ अनुहारका रूपमा क्यानको सर्वोच्च पदमा पुग्ने प्रयास गर्ने योजनामा छन्। त्यस्तै मनशायमा पूर्वउपाध्यक्ष विनोद मैनालीको पनि भएको चर्चा छ।

यद्यपि पाण्डे र चन्द दुई जना नै अध्यक्ष पदका लागि बलिया उम्मेदवार भएको मानिन्छ।
अध्यक्ष पदका आकाङ्क्षी चतुरबहादुर चन्द भन्छन्, "हाम्रो सङ्घ विधानत: अगाडि बढिरहेकै बेला अवरोध खडा भयो। क्रिकेटमा ग्रहण लाग्यो। त्यो ग्रहण हटाउन निलम्बन फुकुवा गर्नु हाम्रो कर्तव्य हो। त्यो उद्देश्य पूरा गर्न अध्यक्षको पदमा उम्मेदवार भएर उभिएको छु।"
महासचिव तथा अध्यक्ष पद दुवैमा गरेर ४४ वर्ष नेपाली क्रिकेटको नेतृत्वदायी भूमिकामा बसेका विनयराज पाण्डे निर्वाचन गर्नुभन्दा पनि सहमतिमा मिलेर जानुपर्ने धारणामा देखिन्छन्।
उनी भन्छन्, "यो सामान्य अवस्था होइन। हामी निलम्बनमा छौँ। आईसीसीलाई सम्झाउन अब सजिलो छैन। यो अवस्थामा हामी एक भएर क्रिकेट विकास गर्न बढ्यौँ भने मात्र विकास सम्भव छ। त्यो बाटो खोज्ने मेरो पहिलो प्रयास हो।"
सन् २०१५ मा राष्ट्रिय खेलकुद परिषद्को अनुमतिबिना आयोजित निर्वाचनमा विवादास्पद रूपमा चन्द अध्यक्ष चुनिएपछि परिषद्ले क्यानको नयाँ नेतृत्व भङ्ग गर्दै एउटा तदर्थ समिति बनाएको थियो।
राष्ट्रिय खेलकुद परिषद्को निर्णयविरुद्ध चन्दले अदालत गुहारेका थिए।
दुई पक्षको विवाद, आर्थिक अपारदर्शिता , प्रशासनिक असक्षमता र राजनीतिक हस्तक्षेपका कारण नेपाली क्रिकेटको नेतृत्वमा शून्यता छाएको भन्दै आईसीसीले क्यानको सदस्यता निलम्बन गरिदिएको थियो।
सहमतिको सम्भावना कति?
पाण्डेले चाहना राखे जस्तो सहमति अहिले निर्वाचनका लागि भइरहेको चहलपहलका माझ सम्भव नहुने निर्वाचनमा संलग्न प्रतिनिधिहरू बताउँछन्।
नेपाल क्रिकेट सङ्घजस्तो शक्तिशाली संस्थाको नेतृत्व 'सहमति गर्ने' नाममा कसैलाई छोड्न सक्ने अवस्था आकाङ्क्षीहरू नभएको धारणा प्रदेश नम्बर ३ का अध्यक्ष राजु बस्नेतको छ।

तर उनी भन्छन्, "भोलि आईसीसीले पनि पत्याउनेगरी पुराना र नयाँ अनुहार मिलेर राम्रो टोली बनाउन सके सबैभन्दा राम्रो निकास हुन्थ्यो। यहाँ त प्रतिनिधि रहेका सबै जनामा कुनै न कुनै पदमा पुग्ने हतारो देख्छु।"
कस्तो छ निर्वाचनको जोडघटाउ?
निर्वाचनमा कुल ५९ जनासँग मताधिकार छ।
दुई जना अध्यक्ष पदमा उठेमा सबै प्रतिनिधिले मतदान गरेको स्थितिमा जित्नका लागि कम्तीमा ३० मत आवश्यक हुन्छ।
आफ्नो पुरानो प्रभावको आधारमा टेकेर विनयराज पाण्डे अनुभवलाई चुनावको शक्ति बनाउन प्रयासमा छन्। तर कतिपयको बुझाइमा अहिलेको परिस्थितिमा त्यतिले मात्रै निर्वाचन जित्न सकिँदैन।
केन्द्रीय अध्यक्ष पदको नेतृत्वका लागि निर्वाचन हुने आकलनसहित चतुरबहादुर चन्द भने जिल्ला सङ्घको निर्वाचनदेखि नै सक्रिय देखिएका छन्। आफूलाई धेरै जनाको मत आउने उनको दाबी छ।
यी दुई जनाको दाबी र प्रतिस्पर्धा भए पनि निर्वाचन परिणाम तेस्रो व्यक्तिको पक्षमा जान सक्छ वा सक्दैन भनेर पनि विश्लेषण हुँदैछ।

यो पनि पढ्नुहोस्

नेतृत्वको आकाङ्क्षा बोकेका मिङ्मा डुण्डु शेर्पाको समूहले त्यस्तै अपेक्षा राखेको छ। शेर्पा पक्षधरको दाबी छ: "हाम्रो टोलीले जसलाई साथ दियो त्यसैले निर्वाचन जित्ने पक्का हो।"
निर्वाचनप्रति अनिच्छुक पात्रका रूपमा परिचित पाण्डेले दाबेदारी छोडे शेर्पाको टोली नयाँ शक्तिका रूपमा आउन सक्ने अनुमान गरिएको छ।
विभिन्न अनुमानमाझ १७ वटा पदमा हुने निर्वाचनको अङ्कगणित प्रत्येक पदमा उठ्ने उम्मेदवारहरूको सङ्ख्यामा निर्भर हुनेछ।
कस्तो छ निर्वाचन प्रक्रिया?
उनन्चालीसवटा जिल्ला क्रिकेट सङ्घबाट एकएक प्रतिनिधि गरी ३९ मत र प्रदेशबाट २० जना गरी कुल ५९ प्रतिनिधिले क्यान निर्वाचनमा मतदान गर्न पाउनेछन्।
यी ५९ जनाले मात्रै निर्वाचनमा उम्मेदवार मनोनयन दर्ता गर्न पाउँछन्।
निर्वाचनको कार्यतालिकाअनुसार आगामी असोज १० गते उद्घाटन समारोह र निर्वाचनसम्बन्धी कार्यविधि तय हुनेछ।
असोज ११ गते बिहान ८ बजेदेखि निर्वाचनको प्रक्रिया सुरु हुनेछ।
निर्वाचन आईसीसीद्धारा गठित पाँचसदस्यीय स्वतन्त्र समितिले राष्ट्रिय खेलकुद परिषद्को रोहवरमा गर्नेछ।
निर्वाचनमा भाग लिन स्वतन्त्र समितिका दुई सदस्य नीतीशा कोठारी र मोहम्मद अली असोज ९ मा नेपाल आइपुग्ने बताइएको छ। अर्का सदस्य अमर शेख निर्वाचनका दिन आउनेछन्।
बाँकी दुई सदस्य राष्ट्रिय खेलकुद परिषद्का प्रतिनिधिका रूपमा एलबी क्षेत्री र क्रिकेट सङ्घको प्रतिनिधिका रुपमा ठाकुरप्रसाद थापा हुन्।









