कुलमान घिसिङ: 'घरधनीले भाडावालसँग मनलाग्दो शुल्क लिएको पाए हस्तक्षेप गर्छौँ'

कुलमान घिसिङ

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले घरधनीले भाडावालासँग विद्युत्‌को शुल्क लिँदा व्यापार गरेको पाए आफूले हस्तक्षेप गर्ने बताएका छन्।

आफूले प्राधिकरणको नेतृत्व सम्हालेको तीन वर्ष पुगेको अवसरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले तीन वर्षअघि लोडशेडिङ रहेका बेला घरधनीले जुन दरमा बिजुलीको शुल्क लिएका थिए त्यही आधारमा अहिले पनि लिइराखेको गुनासो आउने गरेको बताएका हुन्।

"घरधनीले आफूले विद्युत्‌को महसुल जुन दरमा बुझाउने गरेको छ त्यही दरमै डेरामा बस्नेहरूसँग पनि लिनुपर्छ," उनले भने, "तीन वर्षअघि लोडशेडिङ हुँदा घरधनीले प्रतियुनिट ४० रुपैयाँ लिने गरेको र त्यो अहिलेसम्म पनि कायम रहेको भन्ने गुनासा हामीकहाँ आएका छन्।"

कुलमान घिसिङले विद्युत् प्राधिकरणको कार्यकारी पद सम्हाल्नुअघि हिउँदमा दैनिक १४ घण्टासम्म लोडशेडिङ हुने गरेको थियो। पछि लोडशेडिङ हुन छाड्यो।

गुनासो

लोडशेडिङ हुने गरेको बेला खासगरी व्यापारिक प्रयोजनका लागि भाडामा लिइएका कोठा वा भवनमा घरधनीले मनपरी भाडा लिने गरेको गुनासो सुनिन्थ्यो।

बिजुली

तस्बिर स्रोत, NEA

"हामीकहाँ त्यति बेलाकै बिजुलीको दर घरधनीले राखेको भन्ने गुनासो प्रशस्तै आइरहेका छन्। यो सरासर गलत हो। त्यस्तो भएको पाइए हामी आफैँ हस्तक्षेप गर्छौँ।"

बिजुलीको प्रतियुनिट तीनदेखि १३ रुपैयाँसम्म महसुल पर्ने गरेको भन्दै उनले दर हेरेर त्यसअनुसार मात्रै बिजुलीको पैसा घरधनीलाई तिर्न आग्रह गरे।

पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक घिसिङले आफ्नो तीनवर्षे कार्यकालको समीक्षा गर्दै आगामी एक वर्षको योजना पनि सुनाए।

प्रगति विवरण

तीन वर्षअघि आठ अर्ब करोड रुपैयाँ खुद नोक्सानीमा रहेको प्राधिकरणले यो वर्ष सात अर्ब २० करोड खुद नाफा गरेको विवरण घिसिङले प्रस्तुत गरे।

त्यसबाहेक आफू आएको आर्थिक वर्षमा ३४ अर्ब ६१ करोड रुपैयाँ सञ्चित नोक्सानीमा रहेको प्राधिकरणले यो आर्थिक वर्षसम्म आइपुग्दा त्यसलाई झारेर १५ अर्ब २२ करोडमा ल्याइपुर्‍याएको उनले बताए।

"अबको वर्षमा साँढे आठ अर्ब रुपैयाँ नाफा गर्ने हाम्रो उद्देश्य रहेको छ र त्यसका लागि हामीले चुहावट दर घटाउनेदेखि अहिले चलनमा रहेका पुराना करिब डेढ लाख मिटरलाई स्मार्ट मिटरले विस्थापित गर्नेसम्मका कामहरू अघि बढाएका छौँ," उनले भने।

उनले सर्वसाधारण उपभोक्तालाई खाना पकाउन वा अन्य प्रयोजनका लागि बिजुलीको सर्वाधिक प्रयोग गर्न आग्रह गरे।

अहिलेकै महसुल दरमा बिजुलीबाट खाना पकाउँदा वा विद्युतीय गाडी चलाउँदा महँगो पर्ने उपभोक्ताहरूको भय छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ, खाना पकाउन ग्यास कि बिजुली?

तर त्यसलाई अस्वीकार गर्दै उनले विद्युत् महसुल दर अहिलेकै कायम गरे पनि विद्युत्‌को प्रयोग ग्यास वा गाडीमा प्रयोग हुने इन्धनभन्दा निकै सस्तो पर्ने दाबी गरे।

"हामीले हिसाब निकालेका छौँ, अहिले नै पनि ग्यासको सट्टा विद्युत्‌को प्रयोग गरेर खाना पकाउने हो भने ३० देखि ४० प्रतिशत सस्तो पर्छ," उनले भने, "विद्युतीय गाडी रातिको समयमा तपाईँले चार्ज गर्नुभयो भने प्रतिकिलोमिटरका लागि १ रुपैयाँ जस्तो पर्छ जुन भनेको पेट्रोल/इन्धनभन्दा निकै सस्तो हो।"

पछिल्लो समय घोषित रूपमा लोडशेडिङ नभए पनि बेलाबखत एकदुई घण्टा बिजुली जाने गरेको भन्ने गुनासोबारे सोधिएको प्रश्नमा उनले त्यो लोडशेडिङका कारण नभई क्षेत्रीय स्तरमा देखिने प्राविधिक समस्याले भएको बताए।

तर औद्योगिक क्षेत्रमा भने २४ घण्टा नै विद्युत् आपूर्ति अझै नभएको बताइन्छ।

अबका मुख्य योजना

  • विगतमा लोडशेडिङ हटाउनु मुख्य चुनौती रहेकोमा अब प्राधिकरणले प्रसारण तथा वितरण लाइन र सबस्टेशनको सुदृढीकरण र विस्तारलाई अभियानकै रूपमा अगाडि बढाउने
  • जलाशययुक्त र अर्धजलाशययुक्त जलविद्युत् आयोजनाहरूलाई 'गेम चेन्जर' आयोजनाको रूपमा अघि बढाउने
  • स्मार्ट मिटर जडान गरी स्वचालित बिलिङ लागु गर्ने
  • २०७९ भित्र सबै नेपालीको घरमा विद्युत्‌को पहुँच पुर्‍याउने
  • १० वर्षभित्र १० हजार मेगावाट खपत गर्न सक्नेगरी वितरण प्रणालीको विस्तार एवं स्तरोन्नति गरिने
  • यो आर्थिक वर्षमा विद्युत् चुहावटलाई १२ प्रतिशतमा झार्ने
  • माथिल्लो तामाकोशी, रसुवागढी, सान्जेन आदि आयोजनाबाट करिब एक हजार मेगावाट विद्युत् प्रणालीमा थपिने
  • ढल्केबरमा निर्माणाधीन उच्च क्षमताको सबस्टेशनलाई चालु आर्थिक वर्षमा सञ्चालनमा ल्याउने