कश्मीर विवाद: अन्तिम साससम्म सङ्घर्ष गर्ने पाकिस्तानी सेनाको उद्घोष

सेना

तस्बिर स्रोत, TWITTER @OfficialDGISPR

तस्बिरको क्याप्शन, पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आसिफ गफूर

पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आसिफ गफूरले कश्मीरका लागि नचाहँदानचाहँदै पनि युद्ध गर्नु पाकिस्तानको बाध्यता हुने बताएका छन्।

उनले भने, "कश्मीरका लागि हामी अन्तिम गोली, अन्तिम सिपाही र अन्तिम सास रहेसम्म लड्नेछौँ।"

"कश्मीरीहरूको तेस्रो पुस्ताको डीएनएमा स्वतन्त्रताको भावना छ। जति दबाउन खोजियो त्यो त्यति बाहिर आउँछ," प्रवक्ता गफूरले थपे।

भारतले कश्मीरमा हस्तक्षेप गरेपछि पाकिस्तान र भारतबीच तनाव चर्किएको छ।

यही परिप्रेक्ष्यमा कश्मीरबारे कुरा गर्न पाकिस्तानी सेनाका प्रवक्ताले बुधवार पत्रकार सम्मेलनको आयोजना गरेका थिए।

कश्मीरलाई सन्देश

पत्रकार सम्मेलनमा उनले पाकिस्तानको भौगोलिक स्थितिलाई अन्तर्राष्ट्रिय जगत्‌ र क्षेत्रीय मुलुकहरूले बेवास्ता गर्न नसक्ने बताए।

कश्मीर

तस्बिर स्रोत, Reuters

आफूहरू कश्मीरी जनतासँगै रहेको सन्देश दिन चाहेको सैनिक प्रवक्ता गफूरले तर्क गरे।

कश्मीरी जनताले अहिले खेप्नुपरेको कठिनाइबारे आफूहरू अवगत रहेको भन्दै उनले अधिकार प्राप्तिको दिन आएरै छाड्ने बताए।

गफूरले भने, "पाकिस्तानको स्वतन्त्रताका लागि सन् १९४७ मा नभई सन् १८५७ मै प्रयत्न थालिएको थियो। कश्मीरको स्वतन्त्रताका लागि कुनै किसिमको सम्झौता गरिनेछैन।"

विशाल जनसङ्ख्या भएको भारतमा "हिट्लरका अनुयायी" सत्तामा रहेको उनको आरोप थियो।

गफूरले भने, "भारतमा राष्ट्रिय स्वयंसेवक सङ्घ र नाजी विचारधारा सत्तामा छ। उनीहरूका कारण मुस्लिम र दलितसहित अल्पसङ्ख्यक समुदायका मानिसहरू खतरामा छन्। त्यहाँ धार्मिक र सामाजिक स्वतन्त्रता छैन।"

भारतप्रशासित कश्मीरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको 'फासीवादी' सरकारले नेहरूका कदमलाई निमिट्यान्न पारेको सैनिक प्रवक्ता गफूरले आरोप लगाए।

लडाइँ

पदभर ग्रहण गरेलगत्तै पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारतलाई वार्ताको निम्तो दिए पनि भारतीय सरकारले त्यसको उत्तरस्वरूप लडाकु विमान पठाएको गफूरले दाबी गरे।

तर आफूहरूले भारतीय कदमको उपयुक्त प्रतिक्रिया दिएको उनको भनाइ थियो।

कश्मीरबारे पाकिस्तान

तस्बिर स्रोत, TWITTER @OfficialDGISPR

गफूरले भने, "भारतले परोक्ष रूपमा पाकिस्तानमाथि आक्रमण जारी राखेको छ। त्यसको एउटा उदाहरण भारतीय जासुस कुलभूषण जाधव थिए।"

उनका अनुसार अस्त्र र अर्थव्यस्थाले मात्रै नभई देशभक्ति र सेनाको योग्यताले लडाइँ हुने गर्छ।

सैनिक प्रवक्ता गफूरले भने, "कश्मीरका लागि नचाहँदा नचाहँदै युद्ध गर्नु पाकिस्तानको बाध्यता हुनेछ।"

यद्यपि दुवै देश परमाणुशक्तिसम्पन्न भएकोले युद्धको सम्भावना नरहेको उनको भनाइ छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ, कश्मीर विवाद: लण्डनमा प्रदर्शन, भारतीय उच्च आयोगमा ढुङ्गा हानियो

हालै भारतप्रशासित कश्मीरको विशेष संवैधानिक हैसियत खोसिएपछि दुई छिमेकी मुलुकबीचको तिक्तता बढ्दै गएको छ।

विवादको पृष्ठभूमि

गत महिना भारत सरकारले विवादित कश्मीरको विशेष मान्यता खारेज गरेयता सो क्षेत्रमा चर्को तनाव छ।

अगस्ट ५ तारिखमा भारत सरकारले कश्मीरसम्बन्धी निर्णय गरेपछि भारत-प्रशासित कश्मीरमा सुरक्षा कडिकडाउ तथा यातायात र सञ्चारमा सरकारी नियन्त्रण कायम गर्‍यो।

कश्मीरमा फोनमा कुरा गर्दै एक पुरुष

तस्बिर स्रोत, AFP

भारत-पाकिस्तान विभाजनपछि भएका महत्त्वपूर्ण घटनाहरू यस्ता छन्

सन् १९४७ मा ब्रिटिश शासनबाट मुक्त भएसँगै भारत र पाकिस्तान छुट्टिएर नयाँ स्वतन्त्र राष्ट्र बने।

स्थापना कालदेखि नै यी दुई छिमेकी देशबीच कहिल्यैपनि सम्बन्ध सुमधुर हुन सकेन। सम्बन्धमा तिक्तताको केन्द्रमा सधैँ कश्मीर रह्यो।

यस अवधिमा दुई देशबीच कैयौँ यस्ता घटना भए जसले कहिले युद्ध नै निम्त्यायो त कहिले चर्को तनाव।

हाल भारत र पाकिस्तानमाझ पुन: चर्किएको तनावका माझ यी दुई दक्षिण एशियाली मुलुकहरूबीच यस अवधिमा भएका महत्त्वपूर्ण घटनाको सङ्क्षिप्त विवरण -

अक्टोबर १९४७: भारत र पाकिस्तानबीच पहिलो युद्ध। स्वतन्त्र भएको केवल दुई महिनापश्चात् दुई छिमेकी कश्मीरलाई लिएर युद्धमा होमिए।

भारतका जवाहरलाल नेहरु(बायाँ), ब्रिटिश इन्डियाका भाइसरोय लर्ड लुई माउन्टब्याटेन (बीचमा) र अल इन्डिया मुस्लिम लीगका अध्यक्ष महुम्मद अलि जिन्नाह(दायाँ) सन् १९४७ मा विभाजनबारे कुरा गर्दै

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, भारतका जवाहरलाल नेहरु(बायाँ), ब्रिटिश इन्डियाका भाइसरोय लर्ड लुई माउन्टब्याटेन (बीचमा) र अल इन्डिया मुस्लिम लीगका अध्यक्ष महुम्मद अलि जिन्नाह(दायाँ) सन् १९४७ मा विभाजनबारे कुरा गर्दै

अगस्ट १९६५: कश्मीरलाई नै लिएर दुई छिमेकीबीच अर्को छोटो युद्ध।

डिसेम्बर १९७१: भारतद्वारा पूर्वी पाकिस्तान (वर्तमान बाङ्ग्लादेश) मा अतिक्रमण। इस्लामाबादको शासनविरुद्ध स्वतन्त्रताको लडाइँमा भारतको समर्थन। भारतीय वायुसेनाद्वारा पाकिस्तानी भूभागमा बम आक्रमण। बाङ्ग्लादेशको स्थापनासँगै युद्धको अन्त्य।

सन् १९८९: कश्मीर उपत्यकामा भारतीय शासनविरुद्ध सशस्त्र विद्रोहको थालनी।

फेब्रुअरी १९९९: भारतीय प्रधानमन्त्री अटल बिहारी वाजपेयीद्वारा पाकिस्तानी प्रधानमन्त्री नवाज शरिफसँग भेट्न र शान्ति सम्झौता गर्न बस चढेर पाकिस्तानको लाहोर प्रस्थान।

मे १९९९: पाकिस्तानी सेना तथा विद्रोहीद्वारा कार्गिल पर्वतमा रहेका भारतीय सैनिक शिविर कब्जा। सीमित द्वन्द्व सुरु। भारतद्वारा हवाई तथा स्थल आक्रमणपश्चात् अतिक्रमणकारीहरू फिर्ता।

मे २००१: भारतको आगरामा भारतीय प्रधानमन्त्री वाजपेयी र पाकिस्तानी राष्ट्रपति परवेज मुशर्रफको भेटवार्ता। कुनै सम्झौता हुन सकेन।

अक्टोबर २००१: श्रीनगरस्थित कश्मीरको विधानसभामा आक्रमण। ३८ जनाको मृत्यु।

१३ डिसेम्बर २००१: दिल्लीस्थित भारतीय संसद्‌मा भएको सशस्त्र आक्रमणमा १४ जनाको मृत्यु।

भिडिओ क्याप्शन सुरु हुँदैछ, विभाजन गर्ने रेखा

फेब्रुअरी २००७: भारत र पाकिस्तानबीच चल्ने सम्झौता एक्सप्रेस रेलमा बम विस्फोट। ६८ जनाको मृत्यु।

२६ नोभेम्बर २००८: विद्रोहीहरूद्वारा मुम्बईस्थित मुख्य रेलवे स्टेशन, विलासी होटलहरू तथा एक यहुदी सांस्कृतिक केन्द्रमा आक्रमण। ६० घण्टे घटनामा १६६ जनाको मृत्यु। भारतद्वारा पाकिस्तानमा रहेको लश्कर-ए-तइबा समूहमाथि दोष।

भारत-पाकिस्तान विभाजन

तस्बिर स्रोत, Getty Images

ज्यानुअरी २०१६: पठानकोटस्थित भारतीय वायुसेनाको अखाडामा भएको चार दिन लामो आक्रमणमा सात भारतीय सैनक र छ विद्रोहीको मृत्यु।

१८ सेप्टेम्बर २०१६: भारत प्रशासित कश्मीरस्थित उरीमा रहेको सैन्य अखाडामा विद्रोहीद्वारा हमला। १९ सैनिकको मृत्यु।

३० सेप्टेम्बर २०१६: भारतद्वारा पाकिस्तानी कश्मीरमा सैन्य कारबाही 'सर्जिकल स्ट्राइक' गरेको भनाइ। पाकिस्तानद्वारा त्यस्तो कारबाही भएको अस्वीकार।

१४ फेब्रुअरी २०१९: कश्मीरको पुलवामामा विद्रोहीद्वारा आत्मघाती विस्फोट। अर्धसैनिक बल सीआरपीएफका ४० भन्दा धेरैको मृत्यु। पाकिस्तानमा रहेको जैश-ए-मोहम्मद समूहद्वारा जिम्मेवारी स्वीकार।

कश्मीर

तस्बिर स्रोत, Abid Bhat

तस्बिरको क्याप्शन, कश्मीरमा हजारौँ सुरक्षाकर्मी परिचालित छन्

२६ फेब्रुअरी २०१९: भारत-पाकिस्तान सीमा उल्लङ्गघन गरेर भारतीय वायुसेनाद्वारा पाकिस्तानी भूभागमा आक्रमण। लडाकु समूह जैश-‍ए-मोहम्मदको शिविर नष्ट गरिएको भारतको भनाइ।

५ अगस्ट २०१९: भारतद्वारा भारत-प्रशासित जम्मू-कश्मीर राज्यलाई दिइएको संवैधानिक मान्यता खारेज।