ब्रेक्जिट: ब्रिटिश प्रधानमन्त्रीका नयाँ ब्रेक्जिट चुनौती

बोरिस जोनसन

तस्बिर स्रोत, AFP

ब्रिटेनमा आगामी अक्टोबर ३१ तारिखमा ब्रिटेन विना कुनै सम्झौता युरोपेली संघ (ईयू) बाट बाहिरिने योजनालाई बुधवार विपक्षी लेबर पार्टी र सत्ताधारी टोरी पार्टीका विद्रोही सांसदहरूले अवरूद्ध पार्न सफल भएमा प्रधानमन्त्री बोरिस जोनसनले नयाँ आम निर्वाचन गराउने प्रयास गर्नेछन्।

प्रधानमन्त्री जोनसनले आफूले ब्रेक्जिट प्रकृयामा थप विलम्ब नचाहेको बताएका छन् तर नो-डिल भनिएको सहमति विनाको ब्रेक्जिटका लागि तोकिएको समयसीमा लम्ब्याउन उनलाई बाध्य तुल्याउने विधेयकमा सांसदहरूले मतदान गर्दैछन्।

नयाँ आम निर्वाचनको आह्वान गर्न प्रधानमन्त्री बोरिस जोनसनलाई दुई तिहाई सांसदको समर्थन आवश्यक पर्दछ तर अहिलेसम्मको चरणमा विपक्षी लेबर र अन्य दलहरू निर्वाचनको पक्षमा देखिएका छैनन्।

ब्रेक्जिट

टोरी भनेर चिनिने सत्ताधारी कन्जरभेटिभ पार्टीका २१ जना विद्रोही सांसदलाई निष्काशन गर्ने निर्णयले पार्टी भित्र चर्को विवाद निम्त्याएको छ।

हित

केही भूतपूर्व वरिष्ठ मन्त्रीहरूको समूहले, जस्मा पूर्व अर्थमन्त्रीहरू फिलिप ह्यामन्ड र केन क्लार्क पनि संलग्न छन्, आफ्नो हितभन्दा राष्ट्रको हितलाई सर्वोपरि राखेकोमा जोड दिएका छन्।

बुधवारको नाटकीय राजनीतिक घटनाक्रममा प्रतिनिधिसभामा आफ्नो पार्टीको बहुमत गुमाएको एक दिनपछि प्रधानमन्त्रीले सांसदहरूको प्रश्नको सामना गरेका छन्।

ब्रेक्जिट

यसैबीच स्कटल्याण्डका एकजना न्यायाधीशले ब्रेक्जिटअघि संसद् निलम्बन गर्ने प्रधानमन्त्री जोनसनको कदमलाई गैरकानुनी घोषणा गरियोस् भनी दायर गरिएको मुद्दाको मागलाई अस्वीकार गरिदिएका छन्।

सम्झौतारहित अथवा नो-डिल भनिएको ब्रेक्जिटका विषयमा सरकार र विपक्षीहरूबीचको घम्साघम्सी बुधवार अबेरसम्म पनि जारी नै रहनेछ।

ब्रेक्जिट

विधेयक

दिनको अन्त्यतिर लेबर र अन्य विपक्षी दलहरूले अक्टोबर १९ तारिखसम्म पनि कुनै सहमति हुन नसकेमा ब्रेक्जिट प्रक्रियालाई थप लम्ब्याउने विधेयक पारित गर्ने प्रयास गर्नेछन्।

यदि त्यस्तो ब्रेक्जिटमा ढिलाइ गर्ने विधेयक पारित भएर अनुमान गरिए अनुसार त्यहाँको राष्ट्रिय सभा, हाउस अफ लर्डसमा गयो भने प्रधानमन्त्री जोनसनले निर्धारित समयभन्दा निकै अगावै आम निर्वाचन गराउने विषयमा तत्काल संसद्‌मा मतदानका लागि प्रयास गर्नेछन्।

बीबीसी रेडिओ फोरको प्रसिद्ध टुडे कार्यक्रममा बोल्दै विपक्षी लेबर पार्टीका छाया ब्रेक्जिट मन्त्री सर स्टारमरले भने, उनको दल आम निर्वाचन त चाहन्छ तर "बोरिस जोनसनको सर्तमा होइन कि आफ्नै दलको सर्तहरूमा"।

तर लन्डनमा बसेको एक बैठकमा लेबर पार्टीका कतिपय सांसदहरूले पार्टी नेतृत्वलाई सम्बोधन गर्दै ब्रेक्जिट प्रकृयालाई औपचारिक रूपमा लम्ब्याउने निर्णय नहुन्जेलसम्म नयाँ आम निर्वाचनको पक्षमा नलाग्न आह्वान गरेका छन्।