अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पकी निजी सहायक पदमुक्त, गोपनीय सूचना चुहाएको आरोप

तस्बिर स्रोत, Getty Images
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पकी निजी सहायक म्याडलिन वेस्टराउटलाई उनको परिवारको निजी मामिला अरूसँग चुहाएको आरोपमा पदमुक्त गरिएको छ।
यसै महिना पत्रकारहरूसँग रात्रिभोजका बेला उनले कुरा चुहाएको राष्ट्रपतिले थाहा पाएलगत्तै उनलाई बिहीवार हटाइएको थियो।
न्यूजर्सीमा बिदा मनाउँदै गर्दा राष्ट्रपति ट्रम्पसँग आफ्नो पहुँचबारे वेस्टराउटले मदिरापान गर्दै धाक लगाएको सीबीएस न्यूजले जनाएको छ।
ट्रम्प राष्ट्रपति भएको पहिलो दिनदेखि नै वेस्टराउटले उनीसँगै काम गर्दै आएकी थिइन्।
ह्वाइट हाउसले उनलाई पदमुक्त गरिएको विषयमा टिप्पणी गर्न चाहेन।
न्यूयोर्क टाइम्सले उक्त घटनाबारे पहिलो पटक समाचार प्रकाशित गरेको थियो।
ह्वाइट हाउस सूत्रलाई उद्धृत गर्दे उसले वेस्टराउटलाई शुक्रवारदेखि नै ह्वाइट हाउसको कार्यकारी भवनमा आउन नदिइने उल्लेख गरेको थियो।
के गरिन् वेस्टराउटले?
वेस्टराउटको राष्ट्रपतिप्रति प्रभावलाई दाँज्दै ट्रम्पको 'द्वारपाल' भनेर अमेरिकी सञ्चारमाध्यमहरूले उनलाई प्रस्तुत गर्दै आएका थिए।

तस्बिर स्रोत, Reuters
उनको कार्यकक्ष वेस्टविङस्थित राष्ट्रपतिको ओभल अफिसको ठिक सामुन्ने रहेको थियो।
उनले अनौपचारिक रात्रिभोजका बेला न्यूजर्सीस्थित बर्कले हाइट्समा रहेको एउटा होटलमा पत्रकारहरूसँग गफगाफ गरेकी थिइन्।
अगस्टको सुरुतिर यो घटनाका बेला राष्ट्रपति ट्रम्प न्यूजर्सीको बेडमिन्स्टरस्थित आफ्नो क्लबमा थिए।
सीबीएस न्यूजलाई सूत्रहरूले बताएअनुसार त्यतिखेर वेस्टराउटले मदिरा पिएकी थिइन् र उनले ट्रम्पको परिवारसँग सम्बन्धित विवरण चुहाएकी थिइन्। साथै प्रसारकहरूले राष्ट्रपतिसम्म पहुँच माग्न गरेका प्रयासबारे उनले टिप्पणी गरेकी थिइन्।

तस्बिर स्रोत, Getty Images
ट्रम्पले यी घटनाबारे कसरी थाहा पाए भन्ने प्रस्ट छैन।
जासुसीको शङ्का
कैयौँ ह्वाइट हाउस अधिकारीहरूले लामो समयदेखि ट्रम्पप्रति वेस्टराउट बफादार नभएको शङ्का गरेका थिए।
एक पूर्वअधिकारीले सीबीएसलाई भने, "उनी पहिलो दिनदेखि नै जासुसी गर्थिन्। राष्ट्रपतिसँगको निकटतालाई उनले राष्ट्रपतिका विरोधीहरूसँग विश्वास जित्न प्रयोग गर्थिन्।"
ट्रम्पको ह्वाइट हाउसबारे लेखिएका दुई किताबका अनुसार रिपब्लिकन न्याश्नल कमिटीकी पूर्वसहायक वेस्टराउट ट्रम्पले चुनाव जितेको दिन बेखुसी थिइन् र रोएकी थिइन्।

तस्बिर स्रोत, Getty Images
तर अप्रसन्नता हुँदाहुँदै पनि उनले वार्षिक एक लाख ४५ हजार डलर तलब सहितको उक्त जिम्मेवारी पाएकी थिइन्।
चुनाव जितेर शपथ लिनु अगाडिसम्म वेस्टराउट न्यूयोर्कको ट्रम्प टावरमा कार्यरत रहिन्। त्यहाँ उनले ट्रम्पलाई भेट्न आएका आगन्तुकहरूलाई उनीसमक्ष लगिदिने काम गर्थिन्।
न्यूयोर्क टाइम्सका अनुसार उनको एक निजी इन्स्टाग्राम पेज पनि छ जसमा उनले ह्वाइट हाउसको आफ्नो जीवन र राष्ट्रपतिसँगको भ्रमणका फोटोहरू राख्छिन्।
एउटा पोस्टमा उनले सार्वजनिक कार्यक्रममा राष्ट्रपतिले प्रस्तुत गरेका कागजका टुक्रा आफूले प्रिन्ट गरेको भन्दै त्यस विषयलाई ठट्ट्यौलो शैलीमा लेखेकी छन्।
जब पाका पत्रकार बब उडवार्डले एउटा अन्तर्वार्तामा आफूले भेट्न चाहेको कुरालाई ट्रम्पका वरिष्ठ सहयोगीहरूले राष्ट्रपतिसमक्ष नपुर्याइदिएको गुनासो गरे तब ट्रम्पले बबले वेस्टराउटसँग सम्पर्क गरेको भए हुने थियो भनेका थिए।
"म्याडलिन मुख्य साँचो हुन्," ट्रम्पले भनेका थिए।
सीबीएसका अनुसार ट्रम्पले म्याडलिन वेस्टराउटलाई बारम्बार 'मेरी सुन्दरी' भन्ने गर्थे।








