जापानमा तीव्र गतिमा गुडिरहेको बुलेट रेलको ढोका खुल्यो

बुलेट रेल

तस्बिर स्रोत, Getty Images

जापानमा प्रतिघण्टा २८० किलोमिटरको गतिमा गुडिरहेको एउटा रेलको ढोका खुलेको छ।

तर त्यसमा सवार ३४० जना यात्रुहरूमध्ये कोही हताहत भने भएनन्।

ढोका खुलेको थाहा भएपछि रेललाई आपत्कालीन रूपमा रोकिएको थियो।

त्यसो गर्दा हायाबुसा नम्बर ४६ भनिने तीव्र गतिको उक्त रेल एउटा सुरुङ्भित्र १५ मिनेट रोकिन पुगेको थियो।

कसरी त्यस्तो भयो?

द इस्ट जापान रेलवे कम्पनीका अनुसार सफा गर्ने कर्मचारीले रेलको ढोका हातैले खोल्न सकिने एउटा उपकरण बन्द गर्न बिर्सिएका थिए।

जापानी सञ्चारमाध्यमहरूका अनुसार उक्त रेल ढोका खुलेपछि चार किलोमिटरसम्म गुडेको थियो। त्यसक्रममा त्यसको गति घटाउँदै लगियो।

तर कोही यात्रु पनि खुला भएको ढोका नजिक थिएनन्।

Presentational grey line
Presentational grey line

निक्केई पत्रिकाका अनुसार उक्त रेल टोकियोमा निर्धारित समयभन्दा झन्डै १९ मिनेट ढिलो आइपुगेको थियो।

त्यसले अन्य थप तीन हजार यात्रुको तालिका प्रभावित भएको थियो।

जापानी सञ्चारमाध्यमहरूमा जनाइएअनुसार त्यहाँको राष्ट्रिय यातायात मन्त्रालयले सो रेल कम्पनीबाट अब आइन्दा त्यस्तो अवस्था नदोहोर्‍याउने सुनिश्चितता खोजेको थियो।

जापानमा सिन्कान्सन भनिने तीव्र गतिका रेलहरू लोकप्रिय छन्।

बुधवार समस्याग्रस्त भएको रेलको उच्चतम गति प्रतिघण्टा ३२० किलोमिटरसम्म छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ, उल्टो कुदेको रेल