नेकपा स्कुल विभाग: इश्वर पोखरेलले मारे बाजी

नेपाल कम्युनिस्ट पार्टी

तस्बिर स्रोत, FACEBOOK/NCP

Published

शुक्रवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको (नेकपा) सचिवालय बैठकले विभिन्न विभागमा नेतृत्व चयन गरेको छ।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड सहित बसेको ९ सदस्य सचिवालय बैठकले विदेश, स्कुल, सङ्गठन, प्रचार र नीति तथा प्रतिष्ठान सहित अन्य सङ्गठन प्रमुख र उपप्रमुखको नाम तय गरेको हो।

सचिवालय बैठक अनुसार विदेश विभागको नेतृत्व पूर्व प्रधानमन्त्री तथा वरिष्ठ नेता माधव कुमार नेपालको पोल्टामा परेको छ।

त्यस्तै शीर्ष स्तरकै नेताहरूको दाबी रहेको स्कुल विभागको नेतृत्व अन्ततः सचिवालय सदस्य समेत रहेका ईश्वर पोखरेलको हातमा परेको छ।

वामदेव गौतम सङ्गठन प्रमुख बनेका छन्। उनलाई पार्टीको उपाध्यक्ष मनोनयन गर्ने प्रस्ताव सचिवालय बैठकमा पेस गरिएको र त्यसबारे निर्णय स्थायी समिति बैठकले गर्ने बताइएको छ।

नेकपाको स्थायी समितिमा ४५ सदस्य छन्।

बीबीसी न्यूज नेपालीसँग कुरा गर्दै नेकपाका पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले सबै प्रदेशमा एक एक इन्चार्ज र सह इन्चार्ज रहेका अवस्थामा सह इन्चार्जमा थप दुई जनाको टुङ्गो लगाएको जानकारी दिए।

पार्टी सङ्गठनको नेतृत्वबारे निकै विवादित बनेको स्कुल कमिटी बारे शुक्रवारको बैठकमा बिना कुनै विवाद निर्णय भएको श्रेष्ठले दाबी गरे।

उक्त विभागमा तपाईँको आफ्नै पनि दाबी थियो नि भन्ने बीबीसीको जिज्ञाशामा उनले भने, "सबै कुरामा अडान लिन थाल्यो भने एकता प्रक्रिया टुङ्गोमा पुग्न समय लाग्ने हुँदा छलफलबाट निष्कर्षमा पुगिएको हो। स्कुल विभाग नेता कार्यकर्ता प्रशिक्षण गर्ने र वैचारिक काम गर्ने थलो भएकाले त्यस विषयमा रुचि हने साथी हरूले दाबी गर्नु स्वाभाविक नै हो।"

शुक्रवारको बैठकले श्रेष्ठलाई प्रचार विभाग प्रमुख चयन गरेको छ।