कश्मीर विवाद: भारत-पाकिस्तान नियन्त्रणरेखामा गोली हानाहान, दुवै देशका सैनिक मारिएको पाकिस्तानी दाबी

तस्बिर स्रोत, Getty Images
कश्मीरस्थित भारत-पाकिस्तान नियन्त्रणरेखामा भारतीय सेनासँग भएको गोली हानाहानमा आफ्ना तीन सैनिकको मृत्यु भएको पाकिस्तानले बताएको छ।
सो घटनामा दुई गैरसैनिक नागरिकको पनि ज्यान गएको उसको भनाइ छ।
पाँच भारतीय सैनिक पनि मारिएको पाकिस्तानको दाबीलाई भारतले खण्डन गरेको छ।
भारतले आफ्नो नियन्त्रणमा रहेको जम्मू-कश्मीर राज्यलाई दिइएको विशेष संवैधानिक मान्यता खोसेपछि सो क्षेत्र तनावग्रस्त छ।
कश्मीरको विषयमा पाकिस्तानले भारतको आलोचना गरेको छ।
के भन्छ पाकिस्तान?
नियन्त्रणरेखा विवादित कश्मीर क्षेत्रलाई भारत र पाकिस्तानबीच छुट्ट्याउने सीमा हो।
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त

पाकिस्तानको सेनाले ट्विटरमार्फत् एक विज्ञप्ति प्रकाशित गर्दै भनेको छ, "भारतको कब्जामा रहेको जम्मू-कश्मीरको अनिश्चित अवस्थाबाट ध्यान हटाउन भारतीय सेनाले नियन्त्रणरेखामा गोलीबारी बढाएको छ। तीन पाकिस्तानी सैनिक शहीद भएका छन्।"
पाकिस्तानले पाँच भारतीय सैनिकलाई मारिदिएको दाबीलाई भारतले अस्वीकार गरेको छ।
पाकिस्तानले भनेको छ, "पाकिस्तानी सेनाले प्रभावकारी उत्तर दिएका छन्। पाँच भारतीय सैनिक मारिएका छन् र अन्य कैयौँ घाइते भएका छन्। बङ्कर ध्वस्त पारिएको छ। दुवैतिरबाट सघन गोलीबारी जारी छ।"

तस्बिर स्रोत, PTV
यसअघि बुधवार पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतले थप कारबाही गर्न लागेको र आफूहरूले ईँटको जबाफ ढुङ्गाले दिने बताएका थिए।
त्यसको भोलिपल्ट स्वतन्त्रता दिवसको भाषणमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कश्मीरको विकासका लागि सो क्षेत्रलाई दिइएको विशेष मान्यता हटाइएको दाबी गरे। उनले इमरान खानको टिप्पणीबारे कुनै प्रतिक्रिया त दिएनन् तर उनको डेढ घण्टा लामो भाषण कश्मीरकै सेरोफेरोमा रह्यो।
सङ्कटको पृष्ठभूमि
यसै महिनाको सुरुमा भारत सरकारले विवादित कश्मीरको विशेष मान्यता खारेज गरेयता सो क्षेत्रमा चर्को तनाव छ।
अगस्ट ५ तारिखमा भारत सरकारले कश्मीरसम्बन्धी निर्णय गरेयता भारत-प्रशासित कश्मीरमा सुरक्षा कडिकडाउ तथा यातायार र सञ्चारमा सरकारी नियन्त्रण जारी छ।
अगस्ट १५ मा भारतीय स्वतन्त्रता दिवसको अवसरमा दिल्लीमा सम्बोधन गर्दै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त निर्णयको बलियो बचाउ गरेका छन्।

तस्बिर स्रोत, Getty Images
पाकिस्तानले भने उनलाई भारतमा हिन्दू सर्वोच्चतावादी नीति लागु गराइरहेको आरोप लगाएको छ। भारतको नीतिका कारण पूरै दक्षिण एशिया क्षेत्रमा नयाँ खतरा पैदा भएको पाकिस्तानले बताएको छ।
भारत-पाकिस्तान विभाजनपछि भएका महत्त्वपूर्ण घटनाहरू यस्ता छन्
सन् १९४७ मा ब्रिटिश शासनबाट मुक्त भएसँगै भारत र पाकिस्तान छुट्टिएर नयाँ स्वतन्त्र राष्ट्र बने।
स्थापना कालदेखि नै यी दुई छिमेकी देशबीच कहिल्यैपनि सम्बन्ध सुमधुर हुन सकेन। सम्बन्धमा तिक्तताको केन्द्रमा सधैँ कश्मीर रह्यो।
यस अवधिमा दुई देशबीच कैयौँ यस्ता घटना भए जसले कहिले युद्ध नै निम्त्यायो त कहिले चर्को तनाव।
हाल भारत र पाकिस्तानमाझ पुन: चर्किएको तनावका माझ यी दुई दक्षिण एशियाली मुलुकहरूबीच यस अवधिमा भएका महत्त्वपूर्ण घटनाको सङ्क्षिप्त विवरण -
अक्टोबर १९४७: भारत र पाकिस्तानबीच पहिलो युद्ध। स्वतन्त्र भएको केवल दुई महिनापश्चात् दुई छिमेकी कश्मीरलाई लिएर युद्धमा होमिए।

तस्बिर स्रोत, Getty Images
अगस्ट १९६५: कश्मीरलाई नै लिएर दुई छिमेकीबीच अर्को छोटो युद्ध।
डिसेम्बर १९७१: भारतद्वारा पूर्वी पाकिस्तान (वर्तमान बाङ्ग्लादेश) मा अतिक्रमण। इस्लामाबादको शासनविरुद्ध स्वतन्त्रताको लडाइँमा भारतको समर्थन। भारतीय वायुसेनाद्वारा पाकिस्तानी भूभागमा बम आक्रमण। बाङ्ग्लादेशको स्थापनासँगै युद्धको अन्त्य।
सन् १९८९: कश्मीर उपत्यकामा भारतीय शासनविरुद्ध सशस्त्र विद्रोहको थालनी।
फेब्रुअरी १९९९: भारतीय प्रधानमन्त्री अटल बिहारी वाजपेयीद्वारा पाकिस्तानी प्रधानमन्त्री नवाज शरिफसँग भेट्न र शान्ति सम्झौता गर्न बस चढेर पाकिस्तानको लाहोर प्रस्थान।
मे १९९९: पाकिस्तानी सेना तथा विद्रोहीद्वारा कार्गिल पर्वतमा रहेका भारतीय सैनिक शिविर कब्जा। सीमित द्वन्द्व सुरु। भारतद्वारा हवाई तथा स्थल आक्रमणपश्चात् अतिक्रमणकारीहरू फिर्ता।
मे २००१: भारतको आगरामा भारतीय प्रधानमन्त्री वाजपेयी र पाकिस्तानी राष्ट्रपति परवेज मुशर्रफको भेटवार्ता। कुनै सम्झौता हुन सकेन।
अक्टोबर २००१: श्रीनगरस्थित कश्मीरको विधानसभामा आक्रमण। ३८ जनाको मृत्यु।
१३ डिसेम्बर २००१: दिल्लीस्थित भारतीय संसद्मा भएको सशस्त्र आक्रमणमा १४ जनाको मृत्यु।
फेब्रुअरी २००७: भारत र पाकिस्तानबीच चल्ने सम्झौता एक्सप्रेस रेलमा बम विस्फोट। ६८ जनाको मृत्यु।
२६ नोभेम्बर २००८: विद्रोहीहरूद्वारा मुम्बईस्थित मुख्य रेलवे स्टेशन, विलासी होटलहरू तथा एक यहुदी सांस्कृतिक केन्द्रमा आक्रमण। ६० घण्टे घटनामा १६६ जनाको मृत्यु। भारतद्वारा पाकिस्तानमा रहेको लश्कर-ए-तइबा समूहमाथि दोष।

तस्बिर स्रोत, Getty Images
ज्यानुअरी २०१६: पठानकोटस्थित भारतीय वायुसेनाको अखाडामा भएको चार दिन लामो आक्रमणमा सात भारतीय सैनक र छ विद्रोहीको मृत्यु।
१८ सेप्टेम्बर २०१६: भारत प्रशासित कश्मीरस्थित उरीमा रहेको सैन्य अखाडामा विद्रोहीद्वारा हमला। १९ सैनिकको मृत्यु।
३० सेप्टेम्बर २०१६: भारतद्वारा पाकिस्तानी कश्मीरमा सैन्य कारबाही 'सर्जिकल स्ट्राइक' गरेको भनाइ। पाकिस्तानद्वारा त्यस्तो कारबाही भएको अस्वीकार।
१४ फेब्रुअरी २०१९: कश्मीरको पुलवामामा विद्रोहीद्वारा आत्मघाती विस्फोट। अर्धसैनिक बल सीआरपीएफका ४० भन्दा धेरैको मृत्यु। पाकिस्तानमा रहेको जैश-ए-मोहम्मद समूहद्वारा जिम्मेवारी स्वीकार।

तस्बिर स्रोत, Abid Bhat
२६ फेब्रुअरी २०१९: भारत-पाकिस्तान सीमा उल्लङ्गघन गरेर भारतीय वायुसेनाद्वारा पाकिस्तानी भूभागमा आक्रमण। लडाकु समूह जैश-ए-मोहम्मदको शिविर नष्ट गरिएको भारतको भनाइ।
५ अगस्ट २०१९: भारतद्वारा भारत-प्रशासित जम्मू-कश्मीर राज्यलाई दिइएको संवैधानिक मान्यता खारेज।









