भारतमा भाजपाद्वारा बलात्कार तथा हत्या अभियोगमा एक सांसदलाई निष्कासन

कुलदीप सेंगर, भारत

तस्बिर स्रोत, AFP

तस्बिरको क्याप्शन, सेंगरमाथि बलात्कार पीडित तथा उनकी वकिल घाइते हुने गरि आइतवार गाडी दुर्घटना गराएको आरोप लागेको छ।

भारतमा सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)ले बलात्कार तथा हत्या घटनामा मुछिएका एक राज्य विधायकलाई पार्टीबाट निकालेको छ।

उत्तर प्रदेशका विधानसभा सदस्य कुलदीप सेंगरमाथि बलात्कार पीडित तथा उनकी वकिल घाइते हुने गरि आइतवार गाडी दुर्घटना गराएको आरोप लागेको छ।

ती पीडितका दुई आफन्तपनि मारिएका छन्।

लज्जा

उक्त घटना नरेन्द्र मोदी सरकारको निम्ति समेत लज्जाको विषय बनेको छ।

सरकारले सेंगरलाई जोगाउन खोजेको आरोप लागेको थियो।

भारतको सर्वोच्च अदालतले उक्त बलात्कार घटनाको मुद्दा चलाउन ४५ दिनको समयसीमा तोकिदिएको छ।

गाडी दुर्घटनाको छानबिन एक हप्ताभित्र गरिसक्न उसले अनुसन्धानकर्तालाई आदेश दिएको छ।

भारत

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, भारतीय जनता पार्टीका विधानसभा सदस्य कुलदीप सेंगरलाई सरकारले जोगाउन खोजेको आरोप लागेको थियो।

यसअघि आइतवार भएको गाडी दुर्घटनामा सेंगरमाथि बलात्कारको आरोप लगाउनी पीडित घाइते भएकी थिइन्।

सो घटनापछि भाजपाले सेंगरलाई पार्टीबाट निकाल्न गरेको ढिलाइबारे चर्का आवाज उठेका थिए।

मुद्दा

सेंगर हाल मुद्दाको पर्खाइमा जेलमा छन् र उनले आफूविरुद्धको आरोप अस्वीकार गरेका छन्।

पीडितकी आमाले सेंगरलाई पार्टीबाट निकाला गरेको समाचार राम्रो भएको प्रतिक्रिया दिइन्।

सन् २०१७ मा आफ्नी छोरीले सेंगरलाई बलात्कारको आरोप लगाए यता पूरै परिवार त्रासमा बाँच्न बाध्य भएको उनले बताइन्।

भिडिओ क्याप्शन सुरु हुँदैछ, भारतमा गाई बढी सुरक्षित कि महिला

ती पीडित आफ्नो वकिल र आफन्तसँग कारमा यात्रा गरिरहँदा एउटा लरीले राय बरेलीस्थित राजमार्गमा ठक्कर दिएको थियो।

सन् २०१७ को जुन महिनामा कामको निम्ति सेंगरलाई भेटेपश्चात् उनले आफूलाई अपहरण गरेको र एक साताभन्दा धेरै समयसम्म उनले र अरूले पटक पटक बलात्कार गरेको बताएकी छन्।