टी-२० एशिया छनोटः नेपाल शीर्ष स्थानको एक कदम नजिक

तस्बिर स्रोत, Kaushal Adhikari
सिङ्गापुरमा जारी आइसीसी विश्वकप टी-२० एसिया छनोटमा नेपालले कुवेतलाई सात विकेटले पराजित गरेको छ।
सिङ्गापुरस्थित इन्डियन एसोसियशन क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिलो ब्याटिङ पाएको कुवेतले निर्धारित ओभरमा ९ विकेट गुमाई १४१ रन बनाएको थियो। जसलाई नेपालले १५.५ ओभरमा तीन खेलाडी गुमाउदै पूरा गर्यो।
नेपालले टी-२० क्रिकेटमा पछ्याएको यो अहिलेसम्मको ठूलो स्कोरको कीर्तिमान हो।
नेपालको जितमा कप्तान पारस खड्काको योगदान महत्त्वपूर्ण रह्यो।
ढाडको समस्याबाट फर्केर आएका उनले आक्रामक इनिङ खेल्दै ६८ रनको महत्त्वपूर्ण अर्धशतकीय पारी खेले।
१४ औँ ओभरको पहिलो बलमा आउट हुनुअगाडि उनले ११ चौका र एक विशाल छक्का प्रहार गरे।
यसअघि नेपाली बलरहरू बसन्त रेग्मी र सन्दीप लामिछानेले ३/३ विकेट लिएका थिए।
जितसँगै नेपाल शीर्ष स्थानमा दौडमा एक कदम नजिक पुगेको छ।
आइतवार हुने सिङ्गापुरविरुद्धको अन्तिम खेलमा अब नेपाल विजयी भए टी-२० विश्वकप क्रिकेटको ग्लोबल छनोटमा पुग्नेछ।

ग्लोबल छनोट आगामी अक्टोबरमा संयुक्त अरब इमिरेट्समा हुँदैछ।
मजबुत ब्याटिङ
प्रारम्भिक ब्याट्सम्यान उपकप्तान ज्ञानेन्द्र मल्लले १९ रन जोडे।
चौथो ओभरमा आक्रामक देखिएका उनले उक्त ओभरमा एक छक्का र लगातार दुई चौका हानेपछि अर्को बलमा फेरि छक्का प्रहार गर्न खोज्दा आउट हुन पुगेका थिए।
त्यसपछि ब्याटिङ गर्न आएका शरद भेषावकरले खड्कासँग मिलेर नेपाली पारी अगाडि बढाए।
यी दुईले दोस्रो विकेटका लागि ७८ रनको साझेदारी गरेपछि नेपाल सहज जितको बाटोमा लागेको थियो।
खड्का आउट भएपछि आएका दीपेन्द्र सिंह ऐरी सोही ओभरमा नै आउट हुन पुगेका थिए।
त्यसपछि भेषावकरले जिम्मेवारी पारी खेल्दै अविजित रही खेल जिताउने काम गरे।
उनले ३० बलमा ३८ रन बनाए। जसमा ४ चौका र एक छक्का सामेल छन्।
जितको लागि ५ रन आवश्यक हुंदा उनले विशाल छक्का प्रहार गरेर आफ्नै शैलीमा खेल टुङग्याएका थिए।
अर्का अविजित खेलाडी रोहित पौडेलले ६ रन बनाउदा एक चौका प्रहार गर्न भ्याएका थिए।
नेपालको तीनवटै विकेट कुवेतका कप्तान मोहम्मद कासिफले लिएका थिए।
कप्तान खड्काले ६८ रनको अर्धशतक बनाएसँगै उनी टी-२० मा नेपालको लागि सबैभन्दा बढी तीनवटाअर्धशतक बनाउने खेलाडी बनेका छन्।
उनले यसअघि नेदरल्याण्ड्स र मलेशियाविरुद्ध दुई अर्धशतक बनाइसकेका छन्।
कुवेतको चुनौती

यसअघि कुवेतले कप्तान कासिफको अविजित ४९ रनको मदतले १४१ रनको चुनौतीपूर्ण स्कोर खडा गरेको थियो।
सातौँ नम्बरमा ब्याटिङ गर्न आएका उनले विस्फोटक इनिङ खेल्दै ३६ बलमा २ चौका र ४ छक्का प्रहार गरे।
नेपालका बलरहरू करण केसी र बसन्त रेग्मीले शुरूवातमा कुवेती ब्याट्सम्यानहरूलाई रन बनाउनबाट रोक्ने काम गरेका थिए।
करणले दोस्रो ओभरमा ओपनर मित भावसारलाई आउट गरेर विकेट लिन शुरू गरे।
छैटौँ ओभरमा बसन्त रेग्मीले खेलमा जम्न थालिसकेका रभिजा सन्दरुवान (१५ रन) र अदनान इद्रिस (२५ रन) को दुई मुख्य विकेट लिए।
सन्दीप लामिछानेले ३ विकेट लिए। उनले १३ रन बनाएका बिलाल ताहिरलाई पारस खड्काद्धारा क्याच आउट गराए भने उस्मान वाहिद र सिराज खानलाई रन जोड्न नदिइ पवेलियन फर्काए।
अविनाश बोहोराले २३ रन बनाएर खेलिरहेका मोहम्मद अस्लमको विकेट लिए।








