कुलभूषण जाधव: 'भारतीय जासुस' को मुद्दामा भारतको जित हो कि पाकिस्तानको?

भारत

तस्बिर स्रोत, Getty Images

    • Author, जुबैर अहमद
    • Role, बीबीसी संवाददाता

पाकिस्तानले उसको जेलमा रहेको भारतीय नागरिक कुलभूषण जाधवलाई कूटनीतिक पहुँचको अनुमति दिने घोषणा गरेको छ।

बिहीवार पाकिस्तानले गरेको यो घोषणा बुधवार नेदर्ल्यान्ड्सको हेगस्थित अन्तर्राष्ट्रिय अदालतबाट आएको फैसला अनुसार चालिएको कदम हो।

अदालतले जाधवलाई तत्कालै कन्सुलरको पहुँच दिन र उनलाई यो अधिकारबारे जानकारी दिन भनेको थियो।

त्यसपछि पाकिस्तानले जाधवलाई उनको अधिकारबारे जानकारी दिइएको पाकिस्तानले घोषणा गरेको हो।

अदालतको निर्णय कसको जित?

कुलभूषण जाधवको मामिलामा अन्तर्राष्ट्रिय अदालतको फैसलालाई भारत र पाकिस्तान दुवैले आ-आफ्नो जित हो भनेर व्याख्या गरिरहेका छन्।

दुवै देशका सञ्चारमाध्यमहरूले आ-आफू खुसियाली मनाइरहेका छन्।

कुलभूषण सुधिर जाधवलाई मार्च २०१६ मा पाकिस्तानको दक्षिण-पश्चिमी प्रान्त बलोचिस्तानमा गिरफ्तार गरिएको थियो।

यो मामिलाले दुवै देशबीच तनाव बढाइ दिएको थियो।

पाकिस्तानको एउटा सैन्य अदालतले २०१७ मा जाधवलाई जासुसीको अभियोगमा मृत्युदण्डको सजाय सुनाएको थियो।

त्यसपछि भारतले अन्तर्राष्ट्रिय अदालतको ढोका ढकढक्याएको थियो।

१) भारतले अन्तर्राष्ट्रिय अदालत घच्घच्याउनु सही

पाकिस्तानले यो विषयमा अन्तर्राष्ट्रिय अदालतको क्षेत्राधिकारबारे प्रश्न उठाएको थियो। अदालतले पाकिस्तानको चासोलाई खारेज गरिदिएको छ।

भारत

तस्बिर स्रोत, Twitter

यो भारतको पक्षमा आएको पहिलो फैसला थियो। आफ्नो आदेशमा अदालतले आइसीजेले भियना महासन्धी अनुसार दुई देश बिचको विवाद अनिवार्य रूपमा समाधान गर्न सक्छ भनिएको छ।

यो मामिलामा आएको अधिकांश निर्णयमा १५ जना न्यायाधीशहरू भारतको पक्षमा उभिए। तर पाकिस्तानी न्यायाधीश जिलानीले हरेक निर्णयको विरोध गरे।

२) जाधवबारे पाकिस्तानको सैन्य अदालतको निर्णय भियना महसन्धिको उल्लंघन

अदालतले भारतको यो तर्कलाई सही मानेको छ। अदालतले यो पनि भनेको छ कि कुलभूषण जाधवलाई यति समयसम्म कानुनी सहायता उपलब्ध नगराएर पाकिस्तानले भियना सन्धिको उल्लंघन गरेको छ।

भारत

तस्बिर स्रोत, UN PHOTO/ICJ-CIJ/FRANK VAN BEEK

अन्तर्राष्ट्रिय अदालतले आफ्नो फैसलामा भनेको छ पाकिस्तानी कदम भियना महासन्धिको धारा ३६ को उपधारा १ ख को उल्लंघन हो।

सन् १९६३ मा गरिएको भियना महासन्धि अनुसार कुनै विदेशीलाई पक्राउ गरेपछि उनलाई आफ्नो देशको दूतावासका अधिकारीहरूसमक्ष पहुँच दिनु जरूरी हुन्छ। भारत र पाकिस्तान दुवैले यो महासन्धि हस्ताक्षर गरेका छन्।

३) भारतले पाकिस्तानले आफ्नो सैन्य अदालतको फैसला रद्द गर्न कदम चालोस् भनेर माग गरेको थियो

पाकिस्तान

तस्बिर स्रोत, PAKISTAN FOREIGN OFFICE

भारतको यस्तो निवेदनमाथि अदालतले पाकिस्तानविरूद्ध कुनै फैसला सुनाएन।

अन्तर्राष्ट्रिय अदालतले मृत्युदण्डको सजायलाई रोकेर उक्त निर्णयमा पुनर्विचार गर्न भने भनेको छ।

साथै यो विषयमा पाकिस्तानले कसरी पुनर्विचार गर्छ त्यसबारे उसले आफैँ निर्णय गर्नुपर्छ भनेर अदालतले भनेको छ।

४) भारतले पाकिस्तानले जाधवलाई रिहा गरेर उनलाई सुरक्षित रूपमा भारत नै फिर्ता पठाउनुपर्ने माग गरेको थियो

अदालतले यो अनुरोधलाई पनि अस्वीकार गर्‍यो।

यो फैसलालाई उद्धृत गर्दै पाकिस्तानी सञ्चारमाध्यमहरूले आफ्नो मुलुकको जित भएको भनिरहेका छन्।

५) भारतले जाधव विरूद्धको मुद्दा पुन: पाकिस्तानको गैरसैनिक अदालतमा चलाउन पाकिस्तानलाई भनियोस् भन्ने माग पनि गरेको थियो

पाकिस्तान

तस्बिर स्रोत, Twitter

अन्तर्राष्ट्रिय अदालतले भारतको यो अपीललाई आफ्नो फैसलामा सामेल नै गरेको छैन।

दुवै देशले आफ्नो जित भएको भनेर खुशी मनाइरहँदा एउटा कुरा के साँचो हो भने दुवै देश आ-आफ्नो ठाउँमा सही छन्।

तर अबको सवाल के हो भने अदालतको फैसला आए पनि जाधव कतै देखिएका छैनन।

अब कुलभूषण भारत कसरी फर्किएलान् यसमा विचार हुनसक्छ तर तथ्य के हो भने यसबारे फैसलाचाहिँ पाकिस्तानकै हातमा छ।