धनगढी विस्फोटन: आफ्नै कार्यकर्ताको मृत्यु भएको नेत्रविक्रम चन्द नेतृत्वको दलद्वारा पुष्टि

धनगढी

कैलालीको धनगढीमा बिहीवार साँझ भएको विस्फोटनमा ज्यान गुमाउने व्यक्ति आफ्नो दलका कार्यकर्ता भएको नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पुष्टि गरेको छ।

शहीद गेटनजिकै भएको उक्त घटनामा नीलम होटल नामक एउटा खाजा पसलका सञ्चालकसहित पाँच जना घाइते भएका थिए।

घाइतेमध्ये रामबहादुर सिंहको उपचारका क्रममा मृत्यु भएको छ।

सो दलनिकट रहेको मानिने वेबसाइट सञ्चारकेन्द्रमा प्रकाशित विज्ञप्तिमा नेकपाले रामबहादुर सिंहले 'आत्मसुरक्षाका लागि बोकेको विस्फोटक पदार्थ विस्फोटन' भएको उल्लेख छ।

पूर्वलडाकु

सिंह र गम्भीर घाइते अवस्थामा रहेका अर्का सन्दिग्ध व्यक्ति नेत्रविक्रम चन्द समूहसँग सम्बन्धित रहेको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरी अधिकारीहरूले पनि बताएका छन्।

सो विस्फोटन दुर्घटनावश भएको हुन सक्ने देखिएको प्रहरीको भनाइ छ।

"उनीहरूको झोलामा रहेको विस्फोटक पदार्थ नास्ता पसलमा बस्दा पड्किएको थियो," प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले बीबीसीलाई बताए।

बस्नेतका अनुसार घाइतेमध्येका एक जना र मृतक भूतपूर्व माओवादी लडाकु हुन्।

विस्तृत अनुसन्धान

प्रहरीले घटनास्थलबाट पेस्तोल, टेस्टर र मोबाइलहरू भेटिएको जनाएको छ।

विस्फोटक पदार्थ बोकेका सन्दिग्धहरूले प्रयोग गरेको आशङ्कामा एउटा मोटरसाइकल पनि प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ।

"घटनालगत्तै पाइएका केही सङ्केतहरूले रामबहादुर सिंह र लक्ष्मण सेरेलाको संलग्नता देखिन्छ," सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले भने, "तर विस्तृत अनुसन्धान भएपछि मात्र स्पष्टसँग यसै हो भन्न सकिन्छ।"

सिंह आफ्ना कार्यकर्ता भएको स्वीकार गरिएको नेकपाको सेती-महाकाली ब्यूरो इन्चार्जद्वारा हस्ताक्षरित विज्ञप्तिमा लक्ष्मण सेरेलाको बारेमा केही उल्लेख छैन।

घाइते अवस्थामा रहेका चार जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको बताइएको छ।

चन्द नेतृत्वको नेकपा के हो

विसं २०६९ को असारमा पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेतृत्व गरिरहेको तत्कालीन एकीकृत नेपाल कम्युनिस्ट पार्टी माओवादी पार्टीबाट अलग्गिएका नेताहरूले मोहन वैद्यको नेतृत्वमा छुट्टै दल बनाएका थिए।

चन्द

तस्बिर स्रोत, FACEBOOK/PRAKANDA

तस्बिरको क्याप्शन, नेत्रविक्रम चन्द

पछि वैद्यले नेतृत्व गरेको नेकपा-माओवादी पनि 'क्रान्तिकारी हुन नसकेको' भन्दै विसं २०७१ मंसिरमा चन्दले छुट्टै दल घोषणा गरे।

औपचारिक नाम नेपाल कम्युनिस्ट पार्टी राखेको भए पनि सो दललाई आम मानिसहरूले चन्दको उपनाम जोडेर 'विप्लव माओवादी' भन्ने गर्छन्।

कुनै पनि निर्वाचनमा सहभागी नभएको उसले आफूलाई मूलधारको माओवादी पार्टी भन्ने गर्दछ।

वैद्य समूहसँग छुट्टिएदेखि नै सो दलले चक्काजाम र नेपाल बन्द गर्ने, सरकारी अधिकारीहरूलाई कालोमोसो दल्ने, विभिन्न स्थानमा विस्फोटन गराउने र बलपूर्वक चन्दा सङ्कलन गर्दै आएको छ।

चन्द-नेकपा

तस्बिर स्रोत, RSS

पहिला माओवादीको वर्चस्व भएका पश्चिम नेपालका केही स्थानमा स्थानीय जनप्रतिनिधिहरूले आफूलाई सो दलका कार्यकर्ताले राजीनामा दिन दबाव दिने गरेको गुनासो गरेका छन्। त्यहाँ सो दलले 'जनसरकार' घोषणा पनि गरेको छ।

'निर्णायक क्रान्ति' गर्ने भन्दै सरकारी पक्षसँग वार्ता गर्न नमानेको चन्द नेतृत्वको दलको सरकारी पक्षसँग वार्ता हुन लागेको चर्चा चलिरहेको छ।

सरकारका प्रवक्ताले पनि वार्ता हुन सक्ने तर त्यसका लागि सो समूहले हिंसा त्याग्ने प्रतिबद्धता जनाउनुपर्ने बताएका छन्।

हिंसाको शृङ्खला

काठमाण्डू विस्फोटन

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, गत जेठ महिनामा काठमाण्डूका विभिन्न स्थानमा भएका विस्फोटनमा चन्द नेतृत्वको नेकपका चार कार्यकर्ताको मृत्यु भएको थियो
  • मंसिर २०७४: निर्वाचनका बेला दाङको तुलसीपुरमा भएको बम विस्फोटमा म्यादी प्रहरीको ज्यान गएको थियो। उक्त घटनामा चन्दको दलकै हात रहेको अधिकारीहरूले बताएका थिए।
  • फागुन २०७५ : चन्द समूहले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको नख्खुस्थित कार्यालयअगाडि गराइएको विस्फोटनमा एक सर्वसाधारणको मृत्यु
  • जेठ २०७६: काठमाण्डूको घट्टेकुलो र सुकेधारामा सिलिन्डर बम विस्फोटन हुँदा चन्द समूहका चार जनाको मृत्यु
  • जेठ २०७६: दोहोरो भिडन्तका क्रममा प्रहरीको गोली प्रहारबाट घाइते सो दलका एक कार्यकर्ताको उपचारको क्रममा मृत्यु भएको स्थानीय प्रशासनको भनाइ, तर गिरफ्तार गरी हत्या गरिएको नेकपाको आरोप
  • असार २०७६: भोजपुरमा भएको एउटा घटनामा चन्द समूहका एक कार्यकर्ता र एक प्रहरीको मृत्यु
  • असार २०७६: सर्लाहीमा चन्द समूहका जिल्ला इन्चार्ज कुमार पौडेलको प्रहरी कारबाहीमा मृत्यु। दोहोरो भिडन्त भएको प्रहरी दाबी, नियन्त्रणमा लिएपछि हत्या गरिएको परिवारको भनाइ