तरकारीमा विषादीको अवशेष हुन सक्ने चिन्ता: 'थाहा छ तर नखाएर के गरौँ'

भारतबाट आयात हुने तरकारी लगायत अन्य कृषिजन्य बस्तुमा विषादी मापन गरेर मात्र नेपाल भित्र्याउने निर्णय सरकारले गर्‍यो।

तर नेपालका सीमा नाकामा विषादी मापनका लागि प्रयोगशाला नभएको भन्दै हाललाई भारतबाट नेपाल ल्याइने तरकारी तथा फलफूलमा रासायनिक विषादी मापनको प्रक्रिया स्थगन गरिएको बताइएको छ।

साथै आन्तरिक विषादी जाँचका पूर्वाधार नभएका कारण नेपालमा नै उत्पादन हुने तरकारीको समेत विषादी मापन नभइरहेको खबरहरू प्रकाशित भएका छन्।

यस्तो अवस्थामा सर्वसाधारणले बजारबाट किनेका तरकारीमा हुनसक्ने विषादीबारे के सोचिरहेका छन् र कसरी उपभोग गर्छन् भनेर केही उपभोक्तालाई सोधेका थियौँ।

नम्रता पोखरेल, चावहिल

नम्रता

तरकारीमा विषादी प्रयोग नहुने त कुरा भएन, अत्याधिक मात्रामा नै हुन्छ भन्ने आएको छ।

तर त्यसको कारणले तरकारी नखाइ बस्न सकिन्न।

पानीमा राम्ररी पखाल्ने अनि तातो पानीमा उमालेपछि मात्र पकाउने गरेकी छु।

रमेशकुमार खरेल, सरस्वतीनगर

रमेश खरेल

बजारमा पाइने तरकारीमा विषादी छ भनेर मलाई थाहा छ।

तर बाध्यताका कारण त्यही खानुपर्छ।

आलु पकाउँदा त्यसलाई भिजाउने र केहीबेर पछि मात्र पकाउने गरेको छु।

यसले गर्दा विषादी कम हुन्छ जस्तो लाग्छ।

शोभा रिजाल, धुम्बाराही

शोभा रिजाल

पहिले-पहिले जसरी पकाउने गरेकी थिए अहिले पनि त्यसरी नै पकाउने गरेकी छु।

तरकारीमा विषादी प्रयोगका बारेमा फेसबुकमा चाहिँ पढेकी छु।

तर त्यस्ता तरकारी खाए के हुन्छ कसो हुन्छ भन्ने जानकारी भने मलाई छैन।

जे भएपनि खान परिहाल्यो, बाच्नु परिहाल्यो।

आशि रिसाल, गणतन्त्र चोक

आशिष रिसाल

विषादीको बारेमा समाचार त पढिरहेको नै हुन्छु।

तर तरकारी खानै पर्छ।

तरकारी स्वदेशी हो कि विदेशी हो त्यो भने हामी थाहा पाउँदैनौ।

ती तरकारीहरूको परिक्षण गर्न हामीसँग प्रयोगशाला छैनन् रे।

बजारमा जे पाइन्छ त्यही खाने हो।

अनिता भण्डारी, चावहिल

अनिता भण्डारी

तरकारीमा विषादी छ भनेको त सुनेकी छु तर त्यही नै खानु पर्छ।

पकाउनु अघि सधैँ पखाल्छु अनि १० देखि १५ मिनेट पानीमा भिजाउँछु अनि मात्र पकाउँछु।

प्रमिशा तामाङ, मित्रपार्क

प्रमिशा तामाङ

तरकारीमा भएको विषादी परिक्षण रोकिएको छ भनेर सुन्नचाहि सुनेकी छु।

तरकारी सफा गरेर पकाउँने गरेकी छु।

मज्जाले पकाएपछि केही हुन्न जस्तो लाग्छ।

कोपिला फुयाल, सरस्वतीनगर

हामीले विषादी नभएका तरकारी खानलाई कहाँबाट ल्याउँने?

विषादी भएपनि खानैपरेको छ।

भविष्यमा यस्तो अवस्था आउन नदिनका लागि कृषकहरूले नै तरकारी उत्पादन गर्दा ध्यान दिनुपर्छ।

कोपिला फुयाल