अमेरिका-इरान तनाव: इरानले सम्झौता उल्लङ्घन गरेको पुष्टि

तस्बिर स्रोत, AFP
इरानले कम प्रवर्द्धित युरेनियम भण्डारणसम्बन्धी शक्ति राष्ट्रहरूसँगको सन् २०१५ को सम्झौता उल्लङ्घन गरेको विवरण प्राप्त भएका छन्।
विदेशमन्त्री मोहम्मद जवाद जारिफलाई उद्धृत गर्दै त्यहाँको सरकारी सञ्चारमाध्यमले जनाए अनुसार इरानी भण्डारणले ३०० किलोग्रामको सीमा नाघेको छ।
अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी आईएईएले एउटा प्रतिवेदन पेश गर्ने जनाएको छ।
संयुक्त राज्य अमेरिकाले लगाएका प्रतिबन्धहरूको जवाफमा इरानले प्रवर्द्धित युरेनियमको विकासलाई अगाडि बढाएको छ।
प्रवर्द्धित युरेनियम आणविक भट्टीमा इन्धनको रूपमा र पारमाणविक अस्त्रमा पनि प्रयोग हुने बताइन्छ।
'हटाइएका प्रतिबन्ध फेरि लाग्ने'

तस्बिर स्रोत, EPA
अन्तर्राष्ट्रिय सहमतिलाई उल्लङ्घन गरेमा तेहरानले त्यसको गम्भीर नियति भोग्नुपर्ने युरोपेली मुलुकहरूको चेतावनी रहिआएको छ।
सहमति उल्लङ्घन भएको अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीले पुष्टि गरेमा हटाइएका प्रतिबन्धहरू तेहरानमाथि फेरि लाग्नेछन्।
पारमाणविक गतिविधिहरू सीमित पारेको बदलामा तेहरानमाथि लगाइएका पश्चिमा प्रतिबन्धहरू हटाइएका थिए।
अर्धसरकारी समाचार संस्था इस्नाले जनाए अनुसार तेहरानमा सोमवार अपराह्न पत्रकारहरूसँग कुरा गर्दै विदेशमन्त्री जारिफले भने, "मलाई भनिए अनुसार आफ्नो योजना अनुरूप ३०० किलोग्राम भण्डारणको सीमालाई इरानले नाघिसकेको छ।"
मुख्यालयलाई जानकारी
"हामीले स्पष्ट रूपमा भनेका छौँ र त्यसैअनुसार कदम पनि चाल्नेछौँ। हामी संयुक्त बृहत् कार्ययोजना अन्तर्गतको आफ्नो अधिकारको रूपमा यसलाई बुझेका छौँ।"
अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीका एकजना प्रवक्ताले त्यस्ता विवरणबारे आफूहरू जानकार रहेको बीबीसीलाई बताए।
उनले भने, "हाम्रा निरीक्षकहरू स्थलमा छन् र कम प्रवर्द्धित युरेनियमको भण्डारणको पुष्टि गर्नासाथ उनीहरूले मुख्यालयलाई जानकारी गराउनेछन्।"
अमेरिकाले लगाएको आर्थिक प्रतिबन्धको सामना गर्ने दिशामा युरोपेली मुलुकहरूले सघाऊन् भन्ने उद्देश्यका साथ इरानले तिनीहरूमाथि क्रमिक रूपमा दबाव बढाउँदै लगेको देखिन्छ।








