चीन - उत्तर कोरिया सम्बन्ध अपरिहार्य: किम जङ्-अन

सी-किम

तस्बिर स्रोत, Reuters

उत्तर कोरियाली नेता किम जङ्-अनले चिनियाँ राष्ट्रपति सी जिङपिङको भ्रमणका बेला दुई देशबीचको सम्बन्ध 'अपरिहार्य' रहेको बताएका छन्।

बेइजिङ उत्तर कोरियाको सबैभन्दा घनिष्ट साझेदार भएपनि किमको परमाणु कार्यक्रमका कारण त्यसमा केही चिसोपना आएको बताइन्छ।

राष्ट्रसङ्घले उत्तर कोरियामाथि लगाएको नाकाबन्दीको चीन साझेदार हो।

सीको दुईदिने प्योङ्याङ भ्रमण शुक्रवार सकिन्छ।

त्यसको एक सातापछि २० औद्योगिक राष्ट्रहरूको समूह 'जी-२०' को सम्मेलनको अवसरमा सीले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँग भेट्दैछन्।

अमेरिकासँगका विवाद

सी र किम अहिले अमेरिकासँग विवादमा छन्। चीनको तनाव व्यापारका बिषयमा छ भने उत्तर कोरियाको तनाव परमाणु हतियारका कारण छ।

उत्तर कोरियाली सरकारी समाचार संस्था केसीएनएले शुक्रवार सीको भ्रमणलाई निकै साङ्केतिक भनेको छ।

सी जिनपिङ्

तस्बिर स्रोत, AFP

उसले भनेको छ: "अन्तर्राष्ट्रिय र क्षेत्रीय अवस्थामा गम्भीर र जटिल परिवर्तनहरू भइरहेका बेला दुई नेताहरूले कोरियाली प्रायद्विप सहितका क्षेत्रीय र महत्त्वपूर्ण विषयमा आफ्ना दृष्टिकोण साटेका छन्।"

केसीएनएले किमलाई उद्धृत गर्दै दुई साझेदार देशबीच भएका वार्तालाई 'अपरिहार्य' र 'अपरिवर्तनीय' मित्रता प्रदर्शन गर्ने 'महत्त्वपूर्ण अवसर' भएको बताएको छ।

स्वागत र सङ्केत

बिहीवार साँझ सीको सम्मानमा धेरै मानिसहरू सहभागी हुने उत्तर कोरियाली खेलका विशेष प्रस्तुतिहरू देखाइएको थियो।

जसमा सहभागी दशौँ हजार मानिसहरूले कोरियाली संस्कृति र इतिहास झल्किने प्रस्तुतिहरू देखाएका थिए।

हजारौँ प्रस्तुतकर्ताहरूले किताबका रङ्गिन पानाहरू लयबद्ध बनाउँदै रङ्गशालाको एक कुनामा ठूल्ठूला तस्विर देखाएका थिए। जसमा राष्ट्रपति सीको तस्बिर समेत थियो।

विश्वले एक्ल्याइरहेका बेला उत्तर कोरियाका लागि अझै चीनको साथ आफूलाई भएको देखाउने अवसर हो।

चीन उत्तर कोरियाको सबैभन्दा ठूलो व्यापार साझेदार हो।