कुमार पौडेलको मृत्युमा गृहमन्त्रीलाई सताउने प्रश्न: हत्या कि भिडन्त?

तस्बिर स्रोत, MOHA
- Author, शरद केसी
- Role, बीबीसी नेपाली सेवा
प्रहरीले दोहोरो भिडन्तमा मारिएका दाबी गरेको नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको मृत्यु-प्रकरणले नयाँ मोड लिएको छ।
प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी सहित सत्तापक्षकै सांसदले नक्कली भिडन्तको आशङ्का व्यक्त गर्दै गृहमन्त्रीको जवाफ माग गरेका छन्।
त्यस्तै राष्ट्रिय मानव अधिकार आयोग र इन्सेकले स्थलगत अनुसन्धान शुरू गरेका छन्।
जिल्ला प्रहरी कार्यालय सर्लाहीले दोहोरो भिडन्तमा पौडेल मारिएको बताएको छ।
परस्पर विरोधी वक्तव्य
प्रेस विज्ञप्ति जारी गर्दै उसले 'दुईवटा मोटरसाइकलमा रहेका चारजनाले गस्तीमा रहेको प्रहरीलाई देख्नासाथ गोली चलाएपछि प्रहरीले आत्मरक्षाको निम्ति जवाफी फायर गर्दा एकजनाको घटनास्थलमै मृत्यु भएको' उल्लेख गरेको छ।
प्रहरीले 'बरामद परिचयपत्रको आधारमा मृतक कुमार पौडेल भएको, उनी चन्दको दलको सर्लाही जिल्ला इन्चार्ज रहेको तथा उनीविरूद्ध विभिन्न अभियोगमा मुद्दा दर्ता भएको अभिलेखबाट खुलेको' जनाएको छ।
तर चन्दको दलको जनकपुर ब्यूरोले 'साथीहरू कुरिरहेको बेला पौडेललाई नियन्त्रणमा लिएर चिनिसकेपछि गोली हानेर हत्या गरेको' आरोप लगाएको छ।
विप्लवले पनि वक्तव्यमा 'राजनीतिक कार्यक्रम सकेर फर्किँदै गर्दा पौडेललाई नियन्त्रणमा लिएर हत्या गरिएको' र सरकारले 'गैरन्यायिक हत्या र अपराधमाथि पर्दा हाल्न भिडन्तको कथा सार्वजनिक गरेको' उल्लेख छ।
स्थलगत अनुसन्धान
काठमाण्डूबाट गएको मानव अधिकार आयोगको टोलीका जीवन न्यौपानेले प्रदेशस्थित आयोग कार्यालयको टोलीसँग मिलेर घटनाबारे 'प्रारम्भिक अनुसन्धान गर्ने' जानकारी दिए।

तस्बिर स्रोत, .
घटनाबारे आयोगको गम्भीर ध्यानाकर्षण भएको बताउँदै आयोगका सचिव एवम् प्रवक्ता वेद भट्टराईले जारी गरेको विज्ञप्तिमा 'टोलीले घटनाको अनुसन्धान र अनुगमन गरी तत्कालै आयोगमा प्रतिवेदन पेश गर्ने' उल्लेख गरेका छन्।
पौडेलको मृत्यु दोहोरो भिडन्तमा भएको हो वा होइन, उनलाई पक्राउ गर्न सकिने अवस्था थियो कि थिएन जस्ता कुराहरूमा अनुसन्धान केन्द्रित हुने न्यौपानेले बीबीसीलाई बताए।
घटनास्थल पुगेका इन्सेकका प्रदेश २ का संयोजक राजु पासवानले घटनास्थलको अध्ययन, स्थानीय बासिन्दासँग छलफल र त्यसपछि जिल्लास्थित अधिकारीहरूसँग कुराकानी गरिने जानकारी दिए।
अधिकारवादी संस्थाले अनुसन्धानपछि प्रतिवेदन सार्वजनिक गर्ने बताइएको छ।
संसद्मा पस्यो मुद्दा
प्रतिनिधिसभाको बैठकमा सत्ता र प्रतिपक्षी सांसदले समेत प्रश्न उठाएकाले पौडेलको 'मृत्यु' प्रकरण सरकारको निम्ति टाउको दुखाइ बन्ने देखिन्छ।
नेकपा सांसद शिवकुमार मण्डल केवटले प्रतिनिधिसभाको बैठकमा शुक्रवार बोल्दै भिडन्तमा नेत्रविक्रम चन्दको दलका कार्यकर्ता भिडन्तमा मारिएको सुनिएको बताए।
तर त्यसप्रति आफ्नो अविश्वास झल्किने गरी उनले भने, "विप्लव राजनीतिक समूह भएकाले राजनीतिक रूपले सम्वादबाट समस्याको समाधान गर्ने प्रयत्न गरियोस्। निहत्था कार्यकर्ता मार्ने कुराले राष्ट्र र समाजलाई राम्रो गर्दैन।"

तस्बिर स्रोत, .
गृह मन्त्रालयमार्फत् घटनाबारे सदनलाई सत्य-तथ्य जानकारी गराइनु पर्ने उनको माग छ।
नेपाली कांग्रेसकी सांसद मिना पाण्डेले त प्रहरीले पौडेललाई नियन्त्रणमा लिएर हत्या गरेको ठहरमा स्थानीय बासिन्दा पुगेको दाबी नै प्रस्तुत गरिन्।
उनले भनिन्, "नियन्त्रणमा लिएर मार्दा मानव अधिकारको खिल्ली उडेको छ। प्रहरीले एक ठाउँमा गोली ठोकेर मारेर मुठभेडमा मारिए भन्नु गलत हो। गृहमन्त्रीजी प्रमाणसहित आउनुपर्छ। निष्पक्ष छानबिन आयोग बनोस्।"
नक्कली भिडन्तको इतिहास
यसअघि भोजपुरमा प्रहरीको गोली लागी घाइते भई उपचारका क्रममा मृत्यु भएका तीर्थ घिमिरे पनि चन्दकै दलका हुन्।
शुरूमा प्रहरीमाथि गोली चलाइएपछि प्रहरीले जवाफमा गोली चलाएको र घिमिरे घाइते भएको प्रहरीले जनाएको थियो।
चन्दको पार्टीले भने उनलाई पनि नियन्त्रणमा लिएर गोली हानिएको दाबी गरेको थियो।
उक्त दलले सर्वसाधारणको ज्यान समेत लिएको विस्फोटको घटनाको जिम्मा लिने गरे पनि सुरक्षाकर्मीमाथि आक्रमण गर्ने कुनै नीति नरहेको बताउने गरेको छ।
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त
विगतमा तत्कालीन माओवादीले आफ्ना कार्यकर्ता मारिएका सुरक्षाकर्मीद्वारा भिडन्त भनिएका कतिपय घटनालाई 'नक्कली भिडन्त' भन्ने गर्दथ्यो।
विभिन्न मानव अधिकारवादी संस्थाले त्यस्ता कतिपय घटनामा 'नियन्त्रणमा लिएर हत्या गरिएको' निचोड निकालेका थिए।
सरकारमाथि दबाब

तस्बिर स्रोत, Parliament Nepal
द्वन्द्वकालमा त्यस्ता घटनाबारे सरकारी भनाइलाई गलत भन्ने गरेको तत्कालीन माओवादीका नेता रामबहादुर थापा अहिले संयोगवश गृहमन्त्री छन्।
जुनबेला उनकै पूर्वसहकर्मी नेत्रविक्रम चन्दको दलका कार्यकर्ता प्रहरीको गोली लागेर मारिएका छन्। र, सरकारले चन्दको दलको गतिविधिलाई सुरक्षा चुनौतीको रूपमा लिएको छ।
काठमाण्डू उपत्यकामा पनि 'नक्कली भिडन्त' मा प्रहरीले हत्या गरेको भनि केही घटना विवादमा परेका थिए।
तर मृतकको पृष्ठभूमि 'आपराधिक' रहेको आमबुझाइले हुनसक्छ, त्यस्ता घटना त्यसै सेलाउने गरेका छन्।
पौडेल जिल्लाको जिम्मेवारीमा रहेका राजनीतिक व्यक्ति भएकाले उनको मृत्युलाई लिएर सरकारले चर्को दबावको सामना गर्नुपर्ने ठानिएको छ।








