बमको हल्लापछि सिङ्गापुर वायुसेनाका लडाकु जेटले सकुशल ओराले यात्रुवाहक विमान

स्कूट विमानको फाइल तस्बिर

तस्बिर स्रोत, Getty Images

पढ्ने समय: १ मिनेट

उडिरहेको एउटा यात्रुवाहक विमानमा बम भएको हल्ला चलेपछि सिङ्गापुर वायुसेनाले दुईवटा लडाकु जेट विमान पठाएर सो विमानलाई सकुशल अवतरण गराएको अधिकारीहरूले बताएका छन्।

अवतरणपछि विमानमा कुनै विस्फोटक पदार्थ भेटिएन र प्रहरीलाई दिइएको सूचना मिथ्या भएको पुष्टि भयो।

फिलिपिन्सको सेबुबाट आइतवार उडेको स्कूट वायुसेवाको विमानमा १४४ यात्रु र चालकदलका छ सदस्य थिए।

नाम नखुलाइएका एक १३ वर्षीय किशोरले सो हल्ला चलाएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्। उनी पनि सोही विमानको यात्रु भएको बताइएको छ।

हाल प्रहरीले उनलाई अनुसन्धानका क्रममा सोधपुछ गरिरहेको र उनले त्यसमा सघाइरहेको बताइएको छ।

सिङ्गापुरको वायुसेवा स्कूटले द स्रेट्स टाइम्सलाई सो विमानले स्थानीय समयानुसार दिउँसो ४:४९ बजे अवतरण गरेको र सबै यात्रु सकुशल रहेको बताएको छ।

सिङ्गापुरका रक्षामन्त्री अङ् एङ् हेनले सबै "खतरालाई अन्यथा प्रमाणित नभएसम्म" गम्भीरतापूर्वक लिइने सार्वजनिक टिप्पणी गरेका छन्।

Presentational white space

"स्कूट विमानलाई ल्याउन दुईवटा [लडाकु विमान] पठाइयो तर त्यो सूचना मिथ्या रहेछ," फेसबुकमा उनले लेखेका छन्।

तर सिङ्गापुरको वायुसेना सधैँ सतर्क बस्ने उनले जनाएका छन्।

Presentational grey line

यो पनि पढ्नुहोस्

Presentational grey line