बमको हल्लापछि सिङ्गापुर वायुसेनाका लडाकु जेटले सकुशल ओराले यात्रुवाहक विमान

स्कूट विमानको फाइल तस्बिर

तस्बिर स्रोत, Getty Images

उडिरहेको एउटा यात्रुवाहक विमानमा बम भएको हल्ला चलेपछि सिङ्गापुर वायुसेनाले दुईवटा लडाकु जेट विमान पठाएर सो विमानलाई सकुशल अवतरण गराएको अधिकारीहरूले बताएका छन्।

अवतरणपछि विमानमा कुनै विस्फोटक पदार्थ भेटिएन र प्रहरीलाई दिइएको सूचना मिथ्या भएको पुष्टि भयो।

फिलिपिन्सको सेबुबाट आइतवार उडेको स्कूट वायुसेवाको विमानमा १४४ यात्रु र चालकदलका छ सदस्य थिए।

नाम नखुलाइएका एक १३ वर्षीय किशोरले सो हल्ला चलाएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्। उनी पनि सोही विमानको यात्रु भएको बताइएको छ।

हाल प्रहरीले उनलाई अनुसन्धानका क्रममा सोधपुछ गरिरहेको र उनले त्यसमा सघाइरहेको बताइएको छ।

सिङ्गापुरको वायुसेवा स्कूटले द स्रेट्स टाइम्सलाई सो विमानले स्थानीय समयानुसार दिउँसो ४:४९ बजे अवतरण गरेको र सबै यात्रु सकुशल रहेको बताएको छ।

सिङ्गापुरका रक्षामन्त्री अङ् एङ् हेनले सबै "खतरालाई अन्यथा प्रमाणित नभएसम्म" गम्भीरतापूर्वक लिइने सार्वजनिक टिप्पणी गरेका छन्।

Presentational white space

"स्कूट विमानलाई ल्याउन दुईवटा [लडाकु विमान] पठाइयो तर त्यो सूचना मिथ्या रहेछ," फेसबुकमा उनले लेखेका छन्।

तर सिङ्गापुरको वायुसेना सधैँ सतर्क बस्ने उनले जनाएका छन्।

Presentational grey line

यो पनि पढ्नुहोस्

Presentational grey line