पन्ध्र खर्बको वार्षिक बजेट: वृद्धभत्ता र कर्मचारीको तलब बढ्यो

तस्बिर स्रोत, RSS
विगतमा वित्तीय अनुशासनमा निकै जोड दिने भनी कतिपयबाट प्रशंसा पाउने गरेका अर्थमन्त्री युवराज खतिवडाले यसपटक हात फुकाएर खर्च योजना प्रस्तुत गरेको देखिएको छ।
संघीय संसद्मा उनले आगामी आर्थिक वर्षको निम्ति पन्ध्र खर्ब ३२ अर्बको बजेट प्रस्तुत गरेका हुन्।
विकास खर्चमा जोड दिने मुख्य उद्देश्य रहेको बताउँदै अर्थमन्त्री खतिवडाले संसद्मा बुधवार बजेट प्रस्तुत गर्दै वृद्ध भत्ता बढाएको बताए।
उनले सामाजिक सुरक्षा भत्ता एक हजार रुपैयाँ बढाएका छन्।
जसमध्ये ७० वर्षमाथिका व्यक्तिले पाउने वृद्ध भत्ता मार्फत १३ लाख लाभान्वित हुने बताइएको छ।
एक हजार
साथै एकल महिला र अपाङ्गता भएका व्यक्तिहरुले पाउने भत्तामा पनि एक हजार रुपैयाँ बढाएका छन्।
सामाजिक सुरक्षाका लागि ६४ अर्ब ५० करोड रुपैयाँ छुट्टयाइएको अर्थमन्त्री खतिवडाले बताए।
स्वास्थ्य र शिक्षा जस्ता आधारभूत क्षेत्रमा सरकारले क्रमश ६८ अर्ब ७८ करोड र १ खर्ब ६३ करोड विनियोजन गरेको छ।
यस्तै सडक विस्तारका लागि १ खर्ब ६३ अर्ब छुट्टयाइएको छ।
सरकारी कर्मचारीको तलब पनि बढेको छ। जसअनुसार राजपत्राङ्कित श्रेणीका कर्मचारीको तलब १८ र राजपत्र अनङ्कित कर्मचारीको तलब २० प्रतिशत बढाइएको छ।
अङ्कमा बजेट
कुल विनियोजित रकम: १५ खर्ब ३२ अर्ब रुपैयाँ
कुल पुँजीगत/विकास खर्च: ४ खर्ब ८ अर्ब (झण्डै २६%)
कुल चालु/नियमित खर्च: ९ खर्ब ५७ अर्ब (६२%)
वित्तिय व्यवस्था: १ खर्ब ६७ अर्ब
राजस्व अनुमान: ९ खर्ब ८१ अर्ब
विदेशी अनुदान: ५७ अर्ब
विदेशी ऋण: २ खर्ब ९८ अर्ब
आन्तरिक ऋण: १ खर्ब ९५ अर्ब
आर्थिक वृद्धिको लक्ष्य: ८.५ प्रतिशत
मुद्रा स्फितिको लक्ष्य: ६ प्रतिशत








