अनु लामा: 'गोल गर्न सजिलो छैन तर अब अरुलाई सिकाउँछु'

अनु लामा

तस्बिर स्रोत, .

    • Author, निरञ्जन राजवंशी
    • Role, बीबीसी नेपाली सेवा

राष्ट्रिय फुटबल टोलीका लागि १५ वर्ष खेलेकी स्ट्राइकर अनु लामाले नेपालको महिला फुटबललाई स्थापित गर्न महत्त्पूर्ण योगदान दिएकी छन्। ३५ गोलको सर्वाधिक गोलकर्ताको कीर्तिमान उनको नाममा छ।

१५ वर्ष लामो खेल जीवन टुङग्याउनु पर्दा स्ट्राइकर अनु लामालाई तीन विषयले मन गह्रुङ्गो बनायो।

एउटा खेल मैदानमा दर्शक सामु विदा लिने सपना पूरा नहुँदा, दोश्रो आफ्नो समयमा धेरै प्रतियोगिताहरु आयोजना नहुनाले अझ गोलहरु थप्न नपाउनु।

र तेश्रो नेपाललाई दक्षिण एसियाको महिला च्याम्पियन बनाउन नसक्नु अर्थात भारतसँग उपाधि भीडन्तमा सँधै हार्नु उनको करिअरको पीडा हो।

अनु गत महिना आफ्नै देश (विराटनगर) मा भएको महिला साफ च्याम्पियनसिपबाट बिदा लिन चाहन्थिन्। नेपालमै खेल हुनु उनको लागि जुरेको अवसर पनि थियो। तर उनी टोलीमा छानिनन्।

खुम्चिएको मन लिँदै काठमान्डूमा उनले सन्न्यासको घोषणा गरिन्।

अब राष्ट्रिय टोलीको जर्सी नम्वर १० लगाएर अनु मैदानमा हुने छैनन्।

बलसँगै बेजोड देखिने उनको कला र गोल गर्ने उनको क्षमता नयाँ पुस्ताले हेर्ने पाउने छैन। तर नेपाली महिला फुटबललाई उचाईको एउटा बिन्दुमा पुर्याउने श्रेयको एउटा पात्रको रुपमा भने अनुलाई महिला फुटबलले सम्झिनेछ।

उनले बनाएको ३५ गोलको सर्वाधिक गोलकर्ताको कीर्तिमान तोड्न पनि त अझै धेरै समय लाग्नेछ।

गाँउकी गोलकिपर

मकवानपुरमा जन्मेर मावली गाँउ सिन्धुलीमा हुर्केकी अनु लामाको खेलजीवन रौटहत चन्द्रपुरबाट शुरु हुन्छ।

सपरिवार चन्द्रपुर झरेपछि गाँउको बागमति सेकेन्डरी हाइस्कुलमा उनी फुटबलमा लुटपुटिएकी हुन्।

फुटबल भएपछि हुरुक्कै अनु प्राकृतिक रुपमै राम्रो फुटबल खेल्ने क्षमता राख्थिन् भन्ने धेरैले भन्छन्। स्कुलको कति प्रतियोगितामा उनी केटाहरूकै टिममा खेलिन्।

त्यतिबेला उनी गोलकिपर बस्थिन्।

उनको फुटबल करिअरको वास्तविक सुरुआत भने प्रशिक्षक शेरबहादुर दर्लामीको आगमनसँगै भयो। महिला फुटबलको प्रवर्द्धक रहेका शेरबहादुरले रौटहटका दर्लामीले अनुको प्रतिभाको अनुमान लगाए।

अनि स्ट्राइकरको रुपमा उनको क्षमता तिखार्ने काम गरे।

गुरु दर्लामीले भनेको सम्झँदै अनु भन्छिन्,"गुरुले मलाई तिम्रो ड्रिबलिङ असाध्यै राम्रो छ। गोलकिपर होइन स्ट्राइकर भएर खेल भन्नु भो। अनि म मोडिएँ।"

अनु लामा

तस्बिर स्रोत, ANFA

अनुलाई थाहा थिएन विसं २०५० देखि २०६० को त्यो बेला महिला फुटबल निस्क्रियजस्तै थियो। तर नेपाल र सिङ्गापुरबीच काठमान्डूमा भएको एउटा मैत्रीपूर्ण खेलका लागि भने उनी छानिइन्।

पहिलो खेलमा ५ गोल गरेपछि उनी सबैको आँखामा परिन्।

अनु सम्झिन्छिन्, "राम्रो खेल्यो भनेर मलाई रमा मिस (पूर्व राष्ट्रिय खेलाडी) ले ५ हजार रुपैँया र ट्रयाक सुट किनिदिनु भएको थियो।"

सन् २००४ मा चीनमा हुने १९ वर्ष मुनीको एसियाली छनोट प्रतियोगितामा छानिएकी थिइन् उनी।

जसले उनलाई राष्ट्रिय टोलीमा पुग्न मद्दत गर्यो। तर गतिविधि शून्य भएकोले राष्ट्रिय टोलीबाट खेल्न भने उनले ६ वर्ष कुर्नुपर्यो।

सन् २०१० मा दक्षिण एसियाली महिला फुटबल च्याम्पियनशिप सुरु भयो र त्यही वर्षबाट दक्षिण एसियाली खेलकुद प्रतियोगिता साग गेम्समा पनि महिला फुटबल अनिवार्य गरियो।

यी दुवै प्रतिस्पर्धाले दक्षिण एसियामै महिला फुटबलको पुनर्जन्म दिएको मानिन्छ।

अनि यो सँगै सुरु भयो- अनु लामाको अन्तर्राष्ट्रिय खेल यात्रा।

गोलको वर्षा

धेरैले उनलाई दक्षिण एसियाको 'गोल मेशिन' नै भन्न थाले।

त्यतिबेला टोलीका कप्तान जमुना गुरुङ र अनु लामाको अग्रपङ्कतिलाई रोक्न विपक्षीलाई हम्मेहम्मे नै पर्थ्यो। यो जोडीले गरेको गोल वर्षाले महिला फुटबलतर्फ सबैको ध्यान खिचेको थियो।

यसअघि थुप्रै खेलाडीहरु जन्मिएपनि 'स्टार खेलाडी' को पहिचान उनीहरूले बनाएको फुटबल खेलाडी एवं व्यवस्थापकहरू बताउँछन्। यो जोडीले नेपाली महिला फुटबलमा ज्यान भरेको समेत कतिपयले भन्छन्।

जमुना गुरुङले २५ अन्तर्राष्ट्रिय गोल गरेकी छिन्। उनलाई उछिनेर अनु लामाले नेपाली खेलाडीको रुपमा "कीर्तिमानी ३५ गोल" गरेकी छिन्।

पहिलो सहभागितामा ढाकामा आयोजित ११औं साग गेम्समा अनुले ५ गोल गरेकी थिइन्।

सोही वर्ष भएको पहिलो महिला साफ च्याम्पियनशिपमा ११ गोलको वर्षा नै गरिन्। त्यसपछि दोस्रो र तेस्रो साफ च्याम्पियनशिपमा ५ / ५ गोल गरिन्।

उच्च मनोबलमा रहेकी उनले सन् २०१३ मा कुवेतसँग खेलिएको दुईवटा मैत्रीपूर्ण खेलमा ६ गोल गरिन् भने कतारसँगको मैत्रीपूर्ण खेलमा एक गोल गरिन्।

सन् २०१६ मा भएको १२औं साग खेल्नुपूर्व उनी सशस्त्र प्रहरी बल (एपीएफ)बाट लाइबेरियामा शान्ति मिशनमा गएकी थिइन्। राम्रो अभ्यास नपुगेकोले भारतको सिलोङमा आयोजित सागमा उनले २ गोल मात्र गर्न सकिन्।

तर त्यहीँ उनको कीर्तिमानी गोलसंख्या ३५ पुगेको हो।

त्यसपछि एउटा गम्भीर चोटले उनको खेल जीवन नराम्ररी प्रभावित हुन पुग्यो।

सन् २०१६ को चौथो साफको तयारी गरिरहेको बेला एपीएफ मैदानमा अभ्यासको क्रममा उनको दायाँ खुट्टाको घुँडामा नराम्ररी चोट लाग्यो।

त्यो दुर्भाग्यपूर्ण क्षण उनले विर्सेकी छैनन्: "त्यो २०७१ भदौ १७ गतेको बिहानको घटना हो। गोल गर्न उफ्रिँदा नियन्त्रण गुम्यो र मेरो खुट्टा गयो।"

उनको चौथो साफ च्याम्पियनसिप समेत गुम्यो।

शल्यक्रियापछि बल छुनलाई मात्र ठ्याक्कै आठ महिना लागेको उनी सम्झिन्छिन्।

दुई वर्षभित्रमा उनको पुर्नआगमन दुई महिना अगाडी नेपालले भारतलाई पहिलो पटक हराएको हिरो कपबाट भयो।

तर त्यहाँ उनी बेञ्चमा बसेर खेलको दर्शक मात्र बन्न पुगिन्। त्यसै बेला सन्न्यासको सोच बनाएकी उनले विराटनगर मैदानबाट बिदाईको सपना देखेकी थिइन्। जुन पूरा भएन।

अनु लामा अभ्यास

संघर्ष

पुरुष फुटबलमा नै डेढ दशक बिताउने राजु शाक्य जस्ता खेलाडीहरु थोरै छन्।

तुलनात्मक रुपमा थोरै खेल हुने महिला फुटबलमा टिकिरहनेमा अनु थोरै खेलाडीमा गनिन्छिन्।

तर १५ वर्ष लामो अवधिसम्म फुटबलमा टिक्न भने उनले कडा सङ्घर्ष गरिन्।

उनका अनुसार आफू भन्दा थुप्रै राम्रा खेलाडीहरुले बीचमै फुटबल छोडे।

धेरैले आठ/नौ कक्षामा पढ्दाखेरी त कतिले एसएलसीपछि फुटबल त्यागेको बताउने अनु भन्छिन् "भविष्य छैन भन्दै राम्रा राम्रा साथीहरु छुट्दै गए। मैले चाहिँ अरुतिर कहिले ध्यान दिइन। सुख-दु:ख, घामपानी सबै फुटबलमै दिएँ। नाम, जागिर पनि त यसैले दियो नि।"

हालै अखिल नेपाल फुटबल सङ्घ एन्फाले लामो समय योगदान दिएको भन्दै अनुलाई १५ लाख रुपैँया सहितको 'विशेष खेलाडी' को सम्मान प्रदान गर्यो। महिला खेलाडीले पाएको यो अहिलेसम्मकै ठूलो पुरस्कार हो।

उनी भन्छिन्, "यसले सबै दु:ख विर्साएको छ।"

त्यो पुरस्कारको सदुपयोग कसरी गर्ने त? अनुको जवाफ छ, "शान्ति मिशनमा कमाएको पैसाले हेटौँडामा सानो टुक्रा जग्गा जोडेकी छु। त्यसमा घर बनाउँछु।"

३ दाजु ४ दिदी बहिनीमध्ये अनुको मात्र विहे भएको छैन। उनी भन्छिन्, "सोचेकै छैन। कुनै दिन होला नी।"

एपिएफमा सहायक हवल्दार अनुले केही समय क्लबबाट खेल्नेछिन्। त्यसपछि प्रशिक्षक बन्ने चाहना बोकेकी उनी भन्छिन्, "सी लाइसेन्स गरिसके। अब बी गर्छु। अरुलाई सिकाउँछु।"

अनुलाई थाहा छ- उनको ३५ गोलको कीर्तिमान तोड्न सावित्रा भण्डारी अगाडी आइसकेकी छिन्। भन्छिन्, "गोल गर्न कहाँ सजिलो छ र! साम्बालाई एक-डेढ वर्ष लाग्छ मेरो कीर्तिमान तोड्न।"