म्यानमार: डेढ वर्षयता जेलमा परेका रोयटर्सका दुई पत्रकार रिहा

रोहिंज्या सङ्कटबारे समाचार लेखेका कारण म्यानमारमा जेलमा परेका रोयटर्स समाचार संस्थाका दुईजना पत्रकार रिहा भएका छन्।
३३ वर्षीय वा लोन र २९ वर्षीय ज स ऊ राष्ट्रपतिको आममाफीबाट रिहा भएका हुन्। उनीहरूले याङ्गुनको बाहिरी भेगमा पाँच सयभन्दा बढी दिन जेलमा बिताएका थिए।
गोपनीयतासम्बन्धी ऐन अन्तर्गत उनीहरू गत वर्षको सेप्टेम्बरमा दोषी ठहरिएका थिए। उनीहरूलाई सात वर्ष जेल सजाय हुने फैसला सुनाइएको थियो।
उनीहरूलाई जेलमा हाल्ने निर्णय प्रेस स्वतन्त्रतामाथिको प्रहार भएको भन्दै म्यानमारको लोकतन्त्रबारे थुप्रै प्रश्न उब्जिएका थिए।
उत्साही
जेल छोड्दै गर्दा पत्रकार वा लोनले आफूले समाचार लेखन जारी राख्ने वाचा गरे। उनले आफू अन्तर्राष्ट्रिय समाचार संस्थामा फर्किएर काम गर्न आफू उत्साही भएको बताए।
बीबीसीसँग उनले भने, "म मेरो परिवार र सहकर्मीहरूलाई भेट्न निकै खुशी र उत्साही छु। म मेरो समाचारकक्षमा जानका लागि व्यग्र छु।"
दुवै पत्रकारका छोराछोरीसहितको परिवार छ। वा लोनकी श्रीमती प्यान इ मोनले आफ्ना श्रीमान् पक्राउ परेपछि आफू गर्भवती भएको थाहा पाएकी थिइन्।
उनले जेलमा भेट्न आएका बेला केही पटक मात्रै आफ्नी श्रीमतीलाई भेट्न पाएका थिए।

तस्बिर स्रोत, Reuters
यी पत्रकारहरू आममाफी अन्तर्गत अन्य हजारौँ कैदीसँगै रिहा भएका हुन्। म्यानमारमा नयाँ वर्षको सेरोफेरोमा प्रत्येक वर्ष आममाफी दिने गरिन्छ।
रोयटर्सका प्रधानसम्पादकले गत महिना प्रतिष्ठित पुलिट्जर प्राइज जितेका पत्रकारहरू प्रेस स्वतन्त्रताको प्रतीक भएको बताए।
"हाम्रा साहसी पत्रकारहरू रिहा भए विषयले हामीलाई औधी खुशी बनाएको छ," एउटा विज्ञप्तिमा स्टेफन एड्लरले भनेका छन्।
यी पत्रकारहरू जेलमा परेको समाचारले म्यानमारमा प्रेस स्वतन्त्रताको विषयलाई लिएर चौतर्फी आलोचना भएको थियो।
आफैँ पहिला राजनीतिक बन्दी रहेकी नेतृ आङ साङ सू ची पनि पत्रकारहरू जेलमा परेको विषयमा गरेको बचाउका कारण आलोचित बनेकी थिइन्।

तस्बिर स्रोत, Reuters
घटना
रोहिंज्या सङ्कटबारे समाचार लेखेकै कारण यी दुई पत्रकार जेल परेपछि यसले म्यानमारमा अन्य पत्रकारमा त्रास फैलाएको थियो।
पत्रकारहरू आफू पनि जेलमा परिन्छ कि भनेर कतिपय समाचार लेख्न डराउने गरेको बताइन्थ्यो।
यी दुई पत्रकारले सन् २०१७ को सेप्टेम्बरमा उत्तरी रखाइन राज्यस्थित इन दिन गाउँमा सेनाले १० जना रोहिंज्याको हत्या गरेको प्रमाणहरू सङ्कलन गरिरहेका थिए।
तर त्यससम्बन्धी समाचार छापिनुअघि नै उनीहरू पक्राउ परेका थिए। प्रहरी अधिकारीहरूले दिएका दस्तावेज लिइरहेका बेला पत्रकारद्वयलाई पक्राउ गरिएको थियो।








