बारा पर्सा हावाहुरी: २५ सय घरधुरी प्रभावित भएको अनुमान

शोकाकूल

आइतवार पूर्वी नेपालको बारा र पर्सा जिल्लामा आएको भीषण हावाहुरीले करिब दुई हजार पाँच सय घरधुरी प्रभावित पारेको एक संस्थाले जनाएको छ।

राजधानीमा मङ्गलवार आयोजना गरिएको एउटा कार्यक्रममा तथ्याङ्क सङ्कलन संस्था फ्याक्टस नेपालका प्रमुख कार्यकारी अधिकृत मनिष झाले दुई जिल्लाका जनप्रतिनिधि र प्रदेश सरकारबाट प्राप्त जानकारीको आधारमा प्रभावित घरधुरीको सङ्ख्याबारे अनुमान गरेको बताए।

तर सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले भने प्रारम्भिक अध्ययनका आधारमा बारामा करिब एक हजार र पर्सामा करिब दुई सय ५० घरधुरी प्रभावित भएको अनुमान गरेको बीबीसी नेपाली सेवालाई जानकारी दिए।

दुवै सरकारी अधिकारीले क्षतिका बारेमा अध्ययन भइरहेकोले उक्त सङ्ख्या थपघट हुन सक्ने बताएका छन्।

"हामीले जिल्ला प्रशासन कार्यालय अन्तर्गत टोली खटाएर विवरण सङ्कलन कार्य अघि बढाएका छौँ," गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुबेदीले भने। "आज साँझसम्म एक किसिमको खाका आउला।"

उद्धार सम्पन्न, राहत जारी

जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईका अनुसार आइतवार रातिबाटै शुरू भएको उद्धार कार्य सम्पन्न भएको छ।

हाल राहत वितरणको कार्यमा आफूहरूको मुख्य चासो रहेको भट्टराईले जानकारी दिए।

बारा जिल्लाका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले जिल्ला प्रशासन कार्यालय, नेपाल रेडक्रस, नेपाल प्रहरी र नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधि रहेको समिति बनाएर राहत वितरणलाई सहजीकरण र अनुगमन गरिरहेको जानकारी दिए।

अत्यावश्यक सामान नपाएको गुनासो

हावाहुरी पूर्वी नेपाल

तस्बिर स्रोत, SHRAWAN SHAH

तस्बिरको क्याप्शन, जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईका अनुसार आइतबार रातिबाटै शुरु भएको उद्धार कार्य सम्पन्न भइसकेको छ

स्थलगत रिपोर्टिङका क्रममा वीरगंज पुगेका बीबीसी नेपाली सेवाका सम्वाददाता कमल परियारका अनुसार पीडितहरूले सफा पिउने पानी, पकाउने खाद्य सामग्री र लामखुट्टे भगाउने सामग्री जस्ता अत्यावश्यक सरसामान पाउन नसकेको गुनासो गरेका छन्।

राज्यका तर्फबाट राहत वितरण अघि बढाइए पनि कसलाई कस्तो राहतको आवश्यकता छ भन्ने बारे अन्योल रहेको स्थानीयहरूले बताएका छन्।

व्यवस्थित राहत वितरण हुने

तर भट्टराईले भने सोमवार राहत वितरण गर्न चाहने सबैलाई आफूखुसी गर्न छुट दिइएको भएपनि मङ्गलवारबाट व्यवस्थितरूपमा राहत वितरण कार्य अघि बढ्ने जानकारी दिए।

"आपत्‌कालीन अवस्था भएकाले हिजो त्यस्तो भएको हो। आजबाट व्यवस्थितरूपमा राहत वितरण कार्य अघि बढ्नेछ," भट्टराईले भने।

नक्शा

गृह मन्त्रालयका प्रवक्ता सुवेदीले तराईका जिल्ला भएकाले अत्यावश्यक सामग्रीको अभाव नभएको जानकारी दिए।

जिल्ला विपत् व्यवस्थापन समितिसँग पर्याप्त बजेट भएको र आवश्यक भए सीमावर्ती क्षेत्रबाट सरसामान खरिद गर्न सकिने हुँदा समस्या नभएको उनको दाबी छ।

"त्यसबाहेक खाद्य सामग्री र अन्य अत्यावश्यक सामान काठमाण्डूमा तयारी अवस्थामा राखिएको छ र माग हुने बित्तिकै पठाइनेछ," सुबेदीले भने।

दाहाल र देउवाको भ्रमण

पछिल्लो अवस्थाबारे जानकारी लिन नेपाल कम्युनिस्ट पार्टीका एक जना अध्यक्ष पुष्पकमल दाहाल र नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा बारा र पर्सातर्फ प्रस्थान गरेका छन्।

देउवाले वीरगन्जस्थित सरकारी अस्पतालमा उपचार गराइरहेकाको अवस्थाबारे जानकारी लिएका छन्।

यो X पोस्ट छोड्नुहोस्, 1
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 1

दाहालले भने भ्रमणका क्रममा राहत वितरण गर्ने कार्यक्रम रहेको सरकारी अधिकारीहरूले जानकारी दिएका छन्।

यो X पोस्ट छोड्नुहोस्, 2
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 2