भारत-पाकिस्तान द्वन्द्व: इमरान खानद्वारा भारतलाई वार्ताको प्रस्ताव

इमरान खान

तस्बिर स्रोत, @PID_GOV

भारतले आफ्ना लडाकु विमानका चालकलाई मुक्त गर्न पाकिस्तानसँग माग गरेको छ।

पाकिस्तानले भारतीय पाइलटलाई नियन्त्रणमा लिएको भिडिओ सार्वजनिक गरेपछि भारत आक्रोशित देखिएको छ।

उसले घाइते व्यक्तिको तस्बिर सार्वजनिक गरिनुलाई 'लाजमर्दो प्रदर्शन' भनी टिप्पणी गरेको छ।

कश्मीरमा आफ्ना सुरक्षाकर्मीलाई निसाना बनाउँदै दुई साताअघि आत्मघाती आक्रमण भएपछि भारतले 'पाकिस्तानमा रहेका लडाकुहरूको शिविर हवाई हमला गरेर ध्वस्त गरिदिएको' दाबी गरेको थियो।

पाकिस्तानले आफ्नो हवाई क्षेत्र भारतद्वारा उल्लङ्घन गरेको तर ती विमानलाई लखेटिदिएको प्रतिक्रिया सार्वजनिक गरेको थियो।

त्यसपछिको अर्को घटनामा आफूले दुईवटा भारतीय सैन्य विमान खसालिदिएको पकिस्तानको दाबी छ।

'कारबाही पाकिस्तानको बाध्यता'

पाइलट

तस्बिर स्रोत, PAKISTAN INFORMATION MINISTRY (ISPR)

तस्बिरको क्याप्शन, पाकिस्तानले आफ्नो नियन्त्रणमा रहेका भारतीय पाइलटलाई राम्रो व्यवहार गरिएको बताएको छ

टेलिभिजन सम्बोधनमा पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भने, "पाकिस्तानी कारबाहीको जबाफ दिन हिन्दुस्तानका दुईवटा विमान पाकिस्तानी सीमाभित्र पसे। त्यसलाई झारिदियौं। पाइलट हामीसँग छन्। म हिन्दुस्तानलाई भन्न चाहन्छु कि हामीले विवेक प्रयोग गर्न आवश्यक छ।"

उनले दुबै देशसँग रहेका हतियारलाई ध्यानमा राख्दा 'कसैले पनि भूलको परिणाम थेग्न' नसक्ने बताएका छन्।

"यदि त्यसो हुन दियौँ भने न त्यो मेरो न नरेन्द्र मोदीको नियन्त्रणमा हुनेछ।"

उनले भने, "हामी बसौँ र कुरा गरौँ। सम्वादबाट यो विषय समाधान गर्नुपर्छ।"

प्रधानमन्त्री खानले भारतलाई उसले पाकिस्तानी सीमा उल्लङ्घन गरेको र उनीहरूको भूभागमा जान आफू पनि सक्षम रहेको जानकारी दिने आफूहरूको कदमको उद्देश्य रहेको बताए।

जबाफको सन्देश

विमान

तस्बिर स्रोत, AFP

उनले भने, "प्रतिक्रिया जनाउनु हाम्रो बाध्यता थियो, कुनै पनि सार्वभौमसत्तासम्पन्न देश यस्तोमा चुप लागेर बस्न सक्दैन। हामी चुप लागेर आफूलाई अपराधी बनाउन सक्दैनथ्यौँ। बुधवारको जबाफ दियौँ र भन्यौँ- तपाईँ हाम्रो देशमा आउन सक्नुहुन्छ भने म पनि तपाईँको देशमा जान सक्छु। "

भारतीय प्रधानमन्त्री मोदीले कुनै प्रतिक्रिया दिएका छैनन्।

तर उनले सुरक्षा र गुप्तचर संस्थाका उच्च अधिकारीहरूसँग परिस्थितिबारे छलफल गरिरहेको बताइएको छ।

भारतीय विदेशमन्त्री सुष्मा स्वराजले आफ्नो देशले 'जिम्मेवार र संयमित' कदम चाल्ने बताएकी छन्।

चीन र रुसका विदेशमन्त्रीसँग चीनमा भएको वार्तास्थलबाट उनले भनिन्, "भारत अवस्था थप बिग्रिएको देख्न चाहँदैन।"