ताप्लेजुङ हेलिकप्टर दुर्घटनाः बिहीवार राष्ट्रियशोक, राजकीय सम्मानका साथ मन्त्री रवीन्द्र अधिकारीको अन्तिम संस्कार गरिने

रवीन्द्र अधिकारी

तस्बिर स्रोत, Rabindra Adhikari

संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको ज्यान जानेगरी बुधवार भएको हेलिकप्टर दुर्घटनापछि बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले बिहीवार राष्ट्रियशोक मनाउने निर्णय गरेको छ।

ऊर्जामन्त्री वर्षमान पुनका अनुसार दिवङ्गत मन्त्री अधिकारीको राजकीय सम्मानका साथ अन्तिम संस्कार गर्ने र उच्चस्तरीय छानबिन आयोग गठन गर्ने निर्णय समेत मन्त्रिपरिषद्ले गरेको छ।

यसअघि मन्त्री अधिकारी चढेको हेलिकप्टर पूर्वी नेपालको ताप्लेजुङमा दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै सात जनाको मृत्यु भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख राजकुमार क्षेत्रीले पुष्टि गरेका थिए।

पहिला एपीवन टेलिभिजनसँग कुरा गर्दै उद्धारमा खटिएको सिम्रिक एयरका पाइलटले आफूले शवहरू देखेको बताएका थिए।

एयर डाइनेस्टीको सो हेलिकप्टरमा चालकसहित सात जना भएको सो हेलिकप्टर कम्पनीका प्रबन्धक बालकृष्ण पण्डितले बताए।

सम्भाव्यता

मन्त्री अधिकारीलाई लिएर सो हेलिकप्टर काठमाण्डूबाट बुधवार एउटा विमानस्थलको सम्भाव्यता अध्ययन गर्न ताप्लेजुङ गएको बताइएको थियो।

त्यहाँबाट हेलिकप्टर प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरतिर गएको थियो।

हेलिकप्टर दुर्घटना पाथीभरानजिकै भएको स्थानीयवासीहरूले बताएका छन्।

यो X पोस्ट छोड्नुहोस्
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त

ठूलो आवाज आएको र आगो लागेको सूचना स्थानीय बासिन्दाहरूबाट पाएको प्रहरीले बताएको छ।

हेलिकप्टरमा को को थिए?

  • मन्त्री रवीन्द्र अधिकारी
  • प्रधानमन्त्रीका स्वकीय सचिव युवराज दाहाल
  • नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ
  • नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक ध्रुव भोछिभोया
  • यति एयरलाइन्सका अध्यक्ष आङ्छिरिङ शेर्पा
  • हेलिकप्टरका पाइलट प्रभाकर केसी
  • मन्त्री अधिकारीका अङ्गरक्षक अर्जुनकुमार घिमिरे