#10YearsChallenge: यो चुनौतीले संसारभरि मानिसहरूलाई किन उत्साहित बनाइरहेको छ

सिपोरा गुरुङ

तस्बिर स्रोत, Sipora Gurung/Facebook

तस्बिरको क्याप्शन, राष्ट्रिय भलिबल खेलाडी

सामाजिक सञ्जालमा केही दिनदेखि आफ्ना १० वर्ष पुरानो र अहिले खिचेको तस्बिर हाल्ने होडबाजी चलेको छ। तर यसको खतराका बारेमा पन‌ि चर्चा शुरु भएको छ।

विश्वभरि चलेको #10YearsChallenge को लहरले नेपालका सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई पनि आकर्षित गरेको छ।

साथीसङ्गीसँग अन्तर्क्रिया र मनोरञ्जन गर्न सुरु भएको जस्तो देखिए पनि अनुहार चिन्ने प्रविधि परीक्षण र सुधार गर्न ठूला इन्टर्नेट कम्पनीहरूले नै यो 'चुनौती' चलाएको आशङ्का पनि गरिएको छ।

सूचनाप्रविधिबारे जानकारी राख्नेहरूले यसलाई व्यक्तिगत गोपनीयताविरोधी कार्यका रूपमा पनि अर्थ्याएका छन्।

फेसबुकले आधिकारिक रूपमै प्रयोगकर्ताका पुराना तस्बिरहरू आफूसँग रहेको तर त्यस्तो प्रयोग गर्न नखोजेको बताएको छ।

सेलेना गोमेज

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, सेलेना गोमेज

दशवर्षे चुनौती

सामाजिक सञ्जालमा चलेका अन्य धेरै ट्रेन्डजस्तै यो कसले र केका लागि सुरु गर्‍यो भन्ने स्पष्ट छैन। तर उमेर बढेर केही हुँदैन भन्ने विचारबारे पहिलेदेखि भइरहेको चर्चा र ट्रेन्डमा यो थपिएको छ।

नेपालीहरूले पनि फेसबुक, ट्विटर र इन्स्टाग्राममा यो चुनौतीबारे लेखेका छन्।

इन्स्टाग्राममा भूतपूर्व मिस नेपाल माल्भिका सुब्बा र अभिनेत्री प्रियंका कार्कीले आफ्नो तस्बिर हालेका छन्।

माल्भिका सुब्बा

तस्बिर स्रोत, Instragram/Malvika Subba

तस्बिरको क्याप्शन, माल्भिका सुब्बा

भलिबलकी राष्ट्रिय खेलाडी तथा अभिनेत्री सिपोरा गुरुङले भने फेसबुकमा १४ वर्ष अगाडिको र अहिलेको तस्वीर हालेर बाल्यकालमा आफ्नो खेल र बुवाको सम्झना गरेकी छन्।

गुरुङले लेखेकी छिन्, "मलाई पुतली नकिनीकन बाबा मेरो लागि भलिबल, फुटबल र ब्याडमिन्टन खेल्ने सामग्री किनिदिनुहुन्थ्यो। म उहाँ लाई यसबारेमा सोध्थेँ उहाँ भन्नुहुन्थ्यो 'म तिमीलाई छोरा जसरी हुर्काउन चाहान्छु'… कस्तो रमाइलो सम्झना। अहिले स्थिति फरक छ तर सपना उही छ।"

व्यङ्ग्य गर्ने मौका

'दशवर्षे चुनौती'लाई कतिले समाज र व्यक्तिगत रूपमा आफूमा आएको परिवर्तन बुझ्ने मौकाका रुपमा लिएका छन् भने कतिपयले यसलाई समाजमा आएको परिवर्तन र आउन नसकेको सुधारका बारेमा व्यङ्ग्य गर्न पनि प्रयोग गरेका छन्।

फेसबुकमा प्रवीण भण्डारी एक रुपैयाँ र एक हजार रुपैयाँको नोटको तस्बिरमा 'यही नोटले बाल्यकाल कटाइयो तर आज यो नोटले दिन काट्न पनि मुस्किल छ' भन्दै सोध्छन - हो कि होइन?

फेसबुकमै रानीपोखरीको पुरानो र अहिलेको तस्बिर तुलना गर्दै श्री गुरुङ लेख्छन् - म आशा गर्छु कि सम्बन्धित निकायले यसमा ध्यान पुर्‍याउनेछ।

Presentational white space

गोपनीयताको प्रश्न

केहीले भने व्यक्तिगत गोपनीयतामाथि खतरा हुने भन्दै यो ट्रेन्डमाथि प्रश्न उठाएका छन्।

डेटा वैज्ञानिक केट ओ'नेलले प्रसिद्ध वायर्ड पत्रिकाको अनलाइनमा लेख्दै यसको 'अँध्यारो पक्ष' हुनसक्ने बताइन्।

उनले लेखिकी छन्, "मान्नुहोस् कि तपाईँ अनुहार चिन्ने प्रविधिलाई उमेर अनुसार आउने फरकका बारेमा सिकाउन चाहनुहुन्छ भने तपाईँलाई उमेर दाँजिएका धेरै तस्बिर चाहिन्छ… [यो ट्रेन्डले] थुप्रै मानिसहरूका पुराना र नयाँ तस्बिरलाई एकै ठाँउमा उपलब्ध गराउँछ।"

बीबीसी हिन्दी सेवाका अनुसार फेसबुकले यो ट्रेन्ड आफूले सुरु नगरेको बताउँदै 'प्रयोग भएका तस्बिरहरू पहिल्यै फेसबुकमा रहेका तस्बिरहरू भएका कारण फेसबुकलाई यसले कुनै थप डेटा नदिने' बताएको छ।

आरियाना ग्रान्डे

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, आरियाना ग्रान्डे