टुटल र पठाओ विवाद: के प्रधानमन्त्री ओलीको सहानुभूतिबाट चालकलाई राहत पुग्ला?

महिला टुटल चालक

दुई वर्षदेखि काठमाण्डूमा जेनतेन दैनिकी धानेर भाइको स्नातकोत्तर अध्ययनलाई सघाउँदै आएकी अम्बिका शर्माको यो हप्ता अन्योल र चिन्तामै बित्यो।

ट्राफिक प्रहरीले निजी प्रयोजनका लागि दर्ता भएका दुईपाङ्ग्रे सवारीसाधनले भाडामा यात्रु बोक्न नपाउने भन्दै शनिवार कारबाही थालेपछि आफ्नो स्कूटरको उपयोग गरेर जीवन चलाइरहेकी २३ वर्षीया उनको दैनिकी असहज बन्यो।

मोबाइल एप प्रयोग गरेर स्कूटरमा यात्रु बोक्दै कमाएको पैसाले जीवन धान्दै आएका शर्मा र अन्य हजारौँ जनाको रोजगारी खोसिए जस्तो भएको छ।

प्रहरी कारबाहीका कारण उत्पन्न अन्योल बुधवार प्रधानमन्त्री केपी शर्मा ओलीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठलाई पहिले झैँ निर्बाध रूपमा चल्न निर्देशन दिएपछि तत्कालका लागि टरेको छ।

तर टुटल र पठाओजस्ता मोबाइल एपमार्फत् व्यवसायमा नवीन प्रयोग गरिरहेका समूहहरू, सेवाका कारण आम्दानी गरेर जीवन धानिरहेकाहरू र सेवाग्राहीहरूलाई अब के हुन्छ भन्ने प्रश्नले छोडेको छैन।

शर्माले बीबीसी नेपाली सेवालाई बताइन्,"यस्ता सेवाबारे स्पष्ट कानुन नहुँदा अब के हुन्छको अन्योल अझै छ।"

कानुनी बन्देज

नेपालको यातायात व्यवस्था ऐन २०४९ को दफा ८ को उपदफा १ बमोजिम दर्ता भएका निजी सवारी साधनले उपदफा २ बमोजिम भाडाको यातायातका लागि प्रयोग गर्न नपाइने व्यवस्था गरेको छ।

यसै नियमको आधारमा महानगरीय ट्राफिक प्रहरी महाशाखाले शनिवार तीन मोटरसाइकलचालकलाई कारबाही ग‍र्‍यो सोमवार ती सेवाहरूलाई निषेध गरेर चल्न नदिने निर्णय लियो।

सामाजिक सञ्जालमा कतिले यसलाई उचित भनेका भए पनि धेरैले यसको विरोध गरे। सिर्जनशील र प्रविधिमैत्री सेवा अनुकूल हुनेगरी कानुन बनाएर नियमन गर्नुपर्ने तर्क पनि गरियो।

शर्मा र उनीजस्ता टुटल र पठाओ एपको प्रयोगबाट सेवा दिएर आयआर्जन गरिरहेका हजारौँको समस्या कानुनी अन्योल रहेको जानकारहरूको बुझाइ छ।

काडमाण्डू ट्राफिक

तस्बिर स्रोत, NITISH RAJ

अव्यवस्थित सार्वजनिक सवारीको विकल्प

शर्माका अनुसार टुटलमा काम गर्नाले उनीजस्ता थुप्रैलाई वैदेशिक रोजगारमा जानुपर्ने बाध्यता बाट बचेर नेपालमै केही गर्ने ढोका खोलिदिएको छ।

पूर्णरूपमा उक्त काममा लाग्ने हो भने मासिक ३५ हजार रुपैयाँसम्म आर्जन गर्न सकिने उनी बताउँछिन्। त्यसै कारण पनि सरकारले त्यस्ता नवीनतम व्यवसायलाई प्रवर्धन गर्न आवश्यक भएको उनको भनाइ छ।

उनले भनिन्, "आम्दानी गर्ने हामीहरू जस्तालाई मात्र होइन, यात्रुहरूलाई समेत यसले निकै फाइदा पुर्‍याएको छ।"

"सरकारले तोकेको भाडादर र साँझ सात बजे देखिनै पातलिने सार्वजनिक सवारी साधनको विकल्पको रूपमा टुटल र पठाओ उभिएका छन्। यसले क्रमिक रूपमा समस्त यातायात क्षेत्रलाई व्यवस्थित गर्न सहयोगी भूमिका खेल्न सक्छ।"

जीवन धान्ने मेसो

कमाइका लागि वैदेशिक रोजगारमा जान भनेर शर्मा दोलखाबाट काठमाण्डू आएकी थिइन्।

जापान जाने उद्देश्यले भिसाको आवेदन दिइन्। तर उनको भिसा पाइनन्।

फेरि घर नफर्केर काठमाण्डूमै केही गर्ने मनशाय बनाएकी अम्बिकाले एउटा कम्पनीमा काम गर्न थालिन्। तर आम्दानी राम्रो नहुँदा राजधानीमा बस्न कठिन हुँदै गयो।

यसैबीच उनले दुईपाङ्ग्रे सवारीसाधनमा यात्री ओसारेर कमाइ गर्न सकिने एप टुटलबारे थाहा पाइन्। अतिरिक्त समयमा काम गरेर कमाइ गर्न सकिने हुँदा उनी टुटलको माध्यमबाट यात्रुहरूलाई आफ्नो स्कूटरमा राखेर एक ठाउँबाट अर्को ठाउँ पुर्‍याउने काम गर्नथालिन्।

"खर्च कटाएर महिनाको २० हजार रुपैयाँसम्म बचत हुन्थ्यो। दैनिकी निकै सहज हुँदै गयो," शर्माले भनिन्। उक्त कमाइबाट उनले भाइ नारायणलाई सूचनाप्रविधि इन्जिनियरिङमा स्नातकोत्तर अध्ययन गर्न समेत सघाउँदै आएकी छन्।

टुटल चालक

तस्बिर स्रोत, Tootle

नियमन आवश्यक

शर्माका अनुसार सरकारले युवाहरूलाई देशमा केही गरून् भन्ने चाहन्छ भने उक्त सेवालाई चाँडो भन्दा चाँडो कानुन ल्याएर नियमन गर्न र व्यवस्थित बनाउन आवश्यक छ।

शर्मा प्रत्येक दिन ३ बजेबाट टुटलको प्रयोग गर्दै यात्रुहरूलाई आफ्नो गन्तव्य पुर्‍याउनका लागि काठमाण्डूको विभिन्न स्थानमा पुग्ने गर्थिन्।

कतिपय बेला राति ९ बजेसम्म पनि यात्रु ओसार्ने उनलाई हालसम्म असुक्षित महसुस भएको छैन।

टुटल र पठाओजस्ता एपको प्रयोग प्राय:जसो युवा र साक्षरहरूले गर्ने हुँदा यात्रुहरू पनि सहयोगी र समझदार हुने उनी बताँउछिन्।

त्यसबाहेक सेवाको मध्यस्थता गर्ने कम्पनीले जीपीएस प्रविधिको प्रयोगबाट मोटरसाइकलको स्थान पत्ता लगाउन सक्ने, सेवा लिने र दिने दुवैको व्यक्तिगत विवरण एपमा सुरक्षित हुने र कम्पनीले आवधिक रूपमा टेलिफोन गर्दै जानकारी सङ्कलन गर्ने हुँदा सुरक्षाको प्रत्याभूति अझ दह्रो हुने उनको अनुभव छ।

परिवारले पहिला यो काम नगरे हुन्थ्यो भने पनि हाल सेवा सुरक्षित छ भन्ने कुरामा ढुक्क भएर सहयोगी भूमिका खेल्दै आएको शर्माको बुझाइ छ।

उनले भनिन्, "काठमाण्डूमा सजिलै बाँच्न सकिने अवस्था छैन। त्यस कारण पनि यस्ता किसिमका अतिरिक्त समयमा रोजगारी गर्न सकिने व्यवसाय फस्टाउँदै खुल्दै जानु हितकर हुन्छ।"