चिनियाँ राष्ट्रपतिको कडा भनाइपछि चीन र ताइवान टकरावको पथमा?

सि जिनपिङ

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, सि जिनपिङ

चिनियाँ राष्ट्रपति सि जिनपिङले ताइवानका जनतालाई चीनसँग "एकीकृत हुनैपर्ने"को लागि आग्रह गरेका छन्।

ताइवानसँग सम्बन्ध सुधार भएको ४०औँ वर्षगाँठको अवसरमा दिइएको सम्बोधनमा सिले दुई देशबीच शान्तिपूर्ण एकीकरण गर्न र एक-देश-दुई-व्यवस्थाको नीतिमा बेइजिङ प्रतिबद्ध रहेकोबारे दोहोर्‍याएका छन्।

तर आवश्यक परे बल प्रयोग गर्ने अधिकार चीनसँग सुरक्षित रहेको उनले बताएका छन्।

ताइवान स्वशासित भए तापनि बेइजिङ उसलाई आफूबाट छुट्टिएको प्रान्त ठान्ने गर्दछ।

सीले के भने?

चीनियाँ राष्ट्रपतिले दुवै पक्ष एउटै चिनियाँ परिवारको अङ्ग भएकोमा जोड दिँदै ताइवानको स्वतन्त्रता "इतिहासको उल्टो प्रवाह र कतै नपुगिने यात्रा" भएको बताए।

सिले ताइवानका जनताले "स्वतन्त्रताले दु:ख कष्ट मात्रै बढाउने तथ्यलाई बुझ्नै पर्छ" भन्दै, बेइजिङले ताइवानी स्वतन्त्रतालाई मलजल गर्ने कुनै पनि गतिविधिलाई स्वीकार नगर्नेमा जोड दिए।

उनले ताइवानसँगको सम्बन्ध चीनको आन्तरिक राजनीतिको हिस्सा भएको भन्दै कुनै पनि बाह्य हस्तक्षेप अस्वीकार्य हुने बताए।

"सबै विकल्पहरू तयार"

ताइवानी झन्डा

तस्बिर स्रोत, AFP

तस्बिरको क्याप्शन, ताइवानी झन्डा

उनले शान्तिपूर्ण एकीकरण र ताइवानी स्वतन्त्रताको पक्षमा हस्तक्षेप गर्ने बाहिरी शक्तिहरूविरुद्ध बेइजिङ "सबै आवश्यक विकल्पहरूको प्रयोग गर्न" तयार रहेको बताए।

उनको त्यस्तो अभिव्यक्ति सार्वजनिक भएको एक दिनअघि ताइवानी राष्ट्रपति साइ इङ वेनले बेइजिङले ताइवानको अस्तित्व स्वीकार गर्नु पर्ने र मतभेदहरू पन्छ्याउन ताइवानले शान्तिपूर्ण उपायहरू अवलम्बन गर्न पाउनु पर्ने बताएकी थिइन्।

ताइवानको औपचारिक नामको प्रसङ्ग उल्लेख गर्दै उनले भनिन्, "म चीनलाई ताइवानमा चिनियाँ गणतन्त्र (अर्थात् रिपब्लिक अफ चाइना) रहेको वास्तविकता स्वीकार्न आग्रह गर्न चाहन्छु।"

चीनले "२ करोड २० लाख मानिसको स्वतन्त्रता र प्रजातन्त्रको उत्कट चाहनालाई सम्मान गर्न र विवादहरू हल गर्न शान्तिपूर्ण र समान तौरतरिका प्रयोग गर्नु पर्ने"मा उनले जोड दिइन्।

नोभेम्बरमा साइको दलले क्षेत्रीय चुनावमा नराम्रो हार बेहोर्न पुग्यो। बेइजिङले त्यसबाट उनको पृथकतावादी अडानलाई धक्का पुगेको रूपमा बुझेको थियो।

समस्या के हो?

ताइवान एक स्वशासित प्रजातन्त्र हो। उसले सन् १९५० देखि सबै व्यावहारिक हिसाबले स्वतन्त्र देशको रूपमा काम गर्दै आएको छ। त्यतिबेला कम्युनिष्टहरूद्वारा पराजित चीनका राष्ट्रवादी सरकारका सदस्यहरू मुख्य भूभागबाट ताइवान भागेका थिए।

तर चीनले ताइवानलाई कुनै एक छुट्टै मुलुक नभई एक विद्रोही प्रान्त मान्दै आएको छ। पछिल्ला वर्षहरूमा ताइवानको मामिलामा चीन झनै सक्रिय बन्न थालेको देखिन्छ।

उदाहरणको लागि चीनले भन्न थालेको छ अन्य देशहरूले चीन र ताइवानसँग अलग अलग कूटनैतिक सम्बन्ध स्थापित गर्न पाउँदैनन्। उनीहरूले त्यस्तो सम्बन्ध कि चीनसँग राख्नु पर्छ कि ताइवानसँग राख्नु पर्छ; दुवैसँग होइन।

चीनले कयौँ देशहरूलाई ताइवानसँगको सम्बन्ध तोडेर आफूसँग जोड्न बाध्य तुल्याइसकेको छ।

गत वर्ष चीनले कैयौँ विदेशी वायुसेवा कम्पनीहरूलाई वेबसाइटहरूमा ताइवानलाई चीनको प्रान्तको रूपमा सूचीकृत गर्न दबाव दिएको थियो।

भिडिओ क्याप्शन सुरु हुँदैछ, विज्ञहरु भन्छन् सि जिनपिङ चीनमा माओत्सेतुंगपछिका सबैभन्दा शक्तिशाली नेता बनेका छन्।