अमेरिका छिर्न खोज्ने आप्रवासी बालबालिकाको हिरासतमा मृत्यु

अमेरिका आप्रवासन

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, हजारौँ आप्रवासीहरू मध्यअमेरिकाबाट अहिले संयुक्त राज्य अमेरिकाको सीमामा आइपुगेका छन्

आफ्नो बुवासँग अमेरिका प्रवेश गरेका ग्वाटेमालाका एक आठ वर्षीय बालकको अमेरिकी हिरासतमा मृत्यु भएको आप्रवासन अधिकारीहरूले बताएका छन्।

मेक्सिकोबाट सीमा पार गरेर अमेरिका छिरेपछि बन्दी बनाइएका ती बालकको मृत्यु यो महिनामा भएको त्यस्तै प्रकारको दोस्रो घटना हो।

क्रिस्मसको मध्यरातपछि ती बालकको मृत्यु भएको अमेरिकी भन्सार तथा सीमा सुरक्षा अधिकारीहरूले बताएका छन्।

मृत्यको कारण के

अमेरिकी अधिकारीहरूको एउटा वक्तव्यमा ती आठ वर्षीय बालक सोमवार नै बिरामी पर्न थालेको उल्लेख छ।

ती बालक र तिनका पितालाई सोमवार न्यू मेक्सिकोको अलामोगोर्दोस्थित अस्पतालमा लगिएको थियो। उनलाई त्यहाँ रुघा र ज्वरो आएको बताइएपछि उपचार गरिएको थियो र त्यही दिन दिउँसो अस्पतालबाट फर्काइएको थियो।

सोही दिन साँझ ती बालकले बान्ता गर्न थालेपछि पुन: अस्पताल लगियो। केही घन्टापछि नै उनको मृत्यु भयो।

मृत्युको खास कारण पत्ता लागिनसकेको सो एजेन्सीको वक्तव्यमा उल्लेख गरिएको छ।

मृत्युको पहिलो घटना

यसअघि भएको पहिलो घटनामा थुनामा राखेको केही घण्टापछि नै ग्वाटेमालाकी सात वर्षिया बालिकाको मृत्यु भएको थियो।

अमेरिका आप्रवासन

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, अमेरिकी हिरासतमा लिइएको केही घण्टापछि ज्यान गुमाएकी सात वर्षीया जेक्लिन कालकी आमा उनको अन्तिम संस्कारका बेला भावविह्वल बनिन्

‍अमेरिकी अधिकारीहरूका अनुसार उनले आफ्नो परिवारका सदस्यसँग अमेरिका-मेक्सिको सीमा पार गर्ने प्रयास गरेकी थिइन्।

'जेकलिन काल' नामले चिनाइएकी ती बालिकाको कलेजोको समस्याका कारण मृत्यु भएको अधिकारीहरूले बताएका छन्।

तर वाशिङ्टन पोस्टले भने ती बालिकाको शरीरमा पानीको कमी र अकस्मात् उत्पन्न डरका कारण मृत्यु भएको उल्लेख गरेको छ।

सीमास्थित अधिकारीहरूलाई उद्धृत गर्दै सो पत्रिकाले ती बालिकाले धेरै दिनदेखि खानपिन नगरेको खुलाएको छ।

'अमेरिकामोह'

हजारौँ आप्रवासीहरू मध्यअमेरिकाबाट अहिले संयुक्त राज्य अमेरिकाको सीमामा आइपुगेका छन्।

उनीहरू ग्वाटेमाला, होन्डुरस र एल साल्भाडोरमा व्याप्त गरिबी, हिंसा र दमनबाट भागेर त्यहाँ आएको बताउँछन्।

कसैले अवैध रूपमा अमेरिका प्रवेश गर्ने प्रयास गरेमा पक्राउ गरिने, मुद्दा चलाइने र देशनिकालासमेत गर्ने अमेरिकाले चेतावनी दिएको छ।

तैपनि उनीहरूमध्ये अधिकांशले अमेरिकामै बस्ने लक्ष्य बनाएको बताएका छन्।

Presentational grey line

यो पनि पढ्नुहोस्

Presentational grey line