'राजनीतिक रिस' जगाइदिने र्याप
नेपालमा राजा ज्ञानेन्द्र शाहले भर्खरै संसद् विघटन गरेका थिए। त्यतिबेलै गिरीश-प्रनिलको 'मलाई भोट देऊ' गीत सार्वजनिक भयो।
एक दशक लामो सशस्त्र द्वन्द्वको अन्त्य भएर शान्ति सम्झौतामा हस्ताक्षर भएको अहिले १२ वर्ष पुगिसकेको छ।
तर 'मलाई भोट देऊ' हिप-हप र्यापको महत्त्व १८ वर्ष पहिले जति थियो, अहिले पनि उत्तिकै देखिन्छ।
लामो समयदेखि विद्यमान कुशासन र राजनीतिप्रतिको वितृष्णा र क्रोधलाई हिप-हप का माध्यमबाट पोख्न युवाहरूका निम्ति यही गीत नै उत्प्रेरक बन्दै आएको छ।
देश र जनताका लागि काम गर्ने आशामा भोट दिएर जिताएका नेताहरूले देशलाई तिरस्कार गरेको देख्दा साह्रै मन दुखेको र्यापर तथा रचनाकार गिरीश खतिवडा बताउँछन्।
"त्यतिबेला देशमा बस्न गाह्रो थियो र परिवारबाट सबैले विदेश जान भनिरहेका थिए। मलाई भने आफ्नो देशमा नै परिवारसँग बस्न मन लाग्थ्यो।"
उनीले बीबीसीसँग यसो भनिरहँदा उनको आँखामा त्यो क्रोध अझै पनि उस्तै स्पष्ट देखिन्थ्यो।
एक दशक लामो सशस्त्र द्वन्द्व सकिएर सन् २००६ मा शान्ति सम्झौता भयो। माओवादी सरकारमा आए। नेपालमा राजतन्त्रको अन्त्य भएर गणतन्त्र आयो।
दुई पटक संविधानसभाको निर्वाचन पनि भयो। बीस वर्षपछि स्थानीय निर्वाचन भयो। अहिले झन्डै दुईतिहाइको सरकार बनेको छ।
तर किन क्रुध्द छ युवापुस्ता, नेताहरुदेखि?
युवाहरूले देशमा परिवर्तन अनुभव गर्न नसकिएको बताउँछन्। रोजगारीको अवसर नहुँदा अहिले दशौँ लाख नेपाली युवा कामको खोजीमा विदेश गएका छन्।
आक्रोश पोख्ने माध्यम
उनीहरू निकै रिसाएका छन्। कसैले सामाजिक सञ्जालमा आफ्नो क्रोध पोख्छन्, कसैले कलाको माध्यमबाट पोख्छन्।
'पीएसपीएन ब्यान्ड'का सागर नेपालले रचना गरेको 'देह व्यापारी सरकार' र्यापमा सरकारलाई देहव्यापारी र अत्याचारीको सङ्ज्ञा दिइएको छ।
नेताहरूले राम्रो काम गर्न नसक्दा युवाहरूले दु:ख पाएको र रेमिट्यान्सका लागि खाडी मुलुकमा पसिना बगाउन बाध्य हुनु परेको उनी बताउँछन्।
"नेपालमा जन्मेपछि सबैले भविष्य बाहिर खोज्नुपर्ने बाध्यता छ। यस्तो परिस्थिति सिर्जना भएकै कारण म र म जस्ता धेरै युवाहरू देशको प्रणालीसँग र नेताहरूसँग रिसाएका छन्," पीएसपीएनका नेपालले बीबीसीलाई भने।
बलात्कारपछि हत्या गरिएको निर्मला पन्तको बुवालाई 'पागल' भनेको समाचार पढेपछि निकै भावुक भएका थिए महाकाल भनेर चिनिने सागर शर्मा।
"महिनौँसम्म पनि निर्मलाको परिवारले न्यायका लागि भौँतारिरहँदा त्यस ठाउँमा आफ्नो बुवालाई राखेर हेरेँ। असह्य पीडा भयो र यो गीत लेखेँ," उनी भन्छन्।
रञपन्देहीका २७ वर्षीय महाकाल अहिले दुबईमा काम गरिरहेका छन्। उनले चारवटा पोलिटिकल र्याप गाइसकेका छन्।
करिब दुईवर्ष अघि दिवङ्गत भएका यम बुद्धका र्यापहरू पनि निकै चर्चित थिए।
त्यसैगरी लाहुरे, मानस घले जस्ता र्यापरहरूले पनि आफ्ना गीतका माध्यमबाट राजनीतिक सन्देश दिन खोजेका छन्।
एक वर्षअघि मात्र सार्वजनिक भएको द एक्स्प्लिसिट ब्यान्डको 'मेरो माटो' गीतले पनि देशको सामाजिक-आर्थिक स्थिति व्याख्या गर्दै देशप्रति आशावादी हुनुपर्ने खालका सन्देश दिएको थियो।
यी र्यापरहरू थप के भन्छन्?
हेर्नुहोस् सृजना श्रेष्ठले बनाएको यो भिडिओ।