‘खशोग्जी हत्याबारे निष्कर्षमा पुग्न बाँकी’

जमाल

तस्बिर स्रोत, Getty Images

अमेरिकी विदेश मन्त्रालयले भनेको छ- साउदी पत्रकार जमाल खशोग्जीको हत्याका जिम्मेवारबारे ट्रम्प प्रशासन निष्कर्षमा पुगिसकेको छैन।

इस्तानबुलस्थित साउदी वाणिज्य दूतावासमा भएको खशोग्जीको हत्यासँग सम्बन्धित थुप्रै प्रश्नहरू अनुत्तरित नै रहेको अमेरिकाले जनाएको छ।

यसअघि अमेरिकी गुप्तचर निकाय सीआर्इएले साउदी युवराज मोहम्मद बिन सलमानले नै साउदी पत्रकार खशोग्जीको हत्या गर्न निर्देशन दिएको बताएको थियो।

साउदी अरेबियाले भने त्यस्तो दाबीलाई गलत भनेको छ र युवराजलाई उक्त हत्याको योजनाबारे केही थाहा नभएको दोहोर्‍याउँदै आएको छ।

विश्वास

अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार साउदी युवराजको अनुमोदन विना खशोग्जीको हत्या भएको भन्ने कुरामा अमेरिकाले विश्वास गर्न सक्दैन।

अमेरिकाले साउदी अरेबियासँगको रणनीतिक सम्बन्ध कायम राख्दै सो विषयमा थप छानबिन गर्ने बताएको छ।

आउँदो मङ्गलवार प्राप्त हुने प्रतिवेदनको प्रतीक्षामा रहेका अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सो प्रतिवेदनपछि अमेरिकी अधिकारीहरूलाई पत्रकार खशोग्जीको हत्याका वास्तविक जिम्मेवार पत्ता लाग्ने बताएका छन्।

जमाल

तस्बिर स्रोत, AFP/GETTY IMAGES

साउदी सरकारको प्रखर आलोचक खशोग्जी आफ्नो विवाहका लागि कागजातहरू लिन गएका बेला इस्तानबुलस्थित साउदी वाणिज्य दूतावासमा प्रवेश गरेदेखि बेपत्ता भएका थिए।

खशोग्जीको हत्यामा ११ जनामाथि अभियोग लगाइएको छ र तीमध्ये पाँचजनालाई मृत्युदण्डको सजाय हुनुपर्ने अभियोजनकर्ताले माग गरेका छन्।

को थिए खशोग्जी?

उनी एक चर्चित पत्रकार थिए, जसले अफगानिस्तानमा सोभियत संघको अतिक्रमणदेखि ओसामा बिन लादेनको उदयसम्मका विषयमा कैयौँ साउदी समाचार संस्थाका लागि समाचार लेखे।

दशकौँसम्म उनी साउदी राजपरिवारको निकट रहे र सरकारको सल्लाहकारका रूपमा पनि उनले काम गरे।

तर पछि उनले राजपरिवारको विश्वास गुमाए र गत वर्ष उनी अमेरिकामा निर्वासनमा गए।

जमाल

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, साउदी राजा र युवराजसँग खशोग्जीका छोरा

त्यहाँबाट उनले अमेरिकी पत्रिका द वाशिङ्टन पोस्टका लागि मासिक स्तम्भ लेख्न थाले, जसमा उनले साउदी युवराज मोहम्मद बिन सलमानका नीतिहरूको आलोचना गरे।

आफ्नो पहिलो स्तम्भमा खशोग्जीले विरोधी स्वरमाथि दमन गर्न लागेका राजकुमार मोहम्मदले गिरफ्तार गराउन सक्ने आशङ्का व्यक्त गरेका थिए।

बेपत्ता हुनु तीन दिनघि बीबीसीको न्यूजआवर कार्यक्रममा उनले भनेका थिए, "विरोधी हुँदैमा मानिसहरू गिरफ्तार भइरहेका छैनन्, स्वतन्त्र विचार राख्नेहरू पनि गिरफ्तार गरिँदैछन्।"