खमेर रुजका नेता नरसंहारको अभियोगमा दोषी

तस्बिर स्रोत, Reuters
क्याम्बोडियामा पहिलो पटक पोल पोट नेतृत्वको खमेर रुज शासनकालका दुईजना भूतपूर्व नेतालाई आमनरसंहारको अभियोगमा दोषी ठहर गरिएको छ।
दोषी ठहर गरिएका ती दुई नेतामध्ये ९२ वर्षका नुओन चिआ पोलपोटका सहायक थिए भने ८७ वर्षीय खियु साम्फान क्याम्बोडियाली शासनका राष्ट्रप्रमुख थिए।
चाम मुस्लिम र जातीय भियतनामी समुदायको आमनरसंहार गरेको अभियोगमा संयुक्त राष्ट्रसंघ समर्थित एक न्यायालयमा ती भूतपूर्व नेताविरुद्ध मुद्दा चलाइएको थियो।
उनीहरूलाई दोषी ठहर गर्दै भएको फैसला पोल पोटको शासनकालका बेला भएका घटनालाई अन्तर्राष्ट्रिय कानूनको व्याख्या अनुसार आमनरसंहार भन्न सकिन्छ भनेर पहिलो पटक औपचारिक रूपमा स्वीकार गरिएको अवस्था हो।

तस्बिर स्रोत, EPA
आजीवन कारावास
ती दुई नेताले पहिले नै मानवताविरोधी अपराधको अभियोगमा आजीवन कारावासको सजाय भोगिरहेका छन्।
नोम पेन्हमा अवस्थित उक्त न्यायालयले हालसम्म दोषी ठहर गरेका तीन जनामध्येका दुईजना ती नेता हुन्।
सन् १९७५ देखि १९७९ सम्म छोटो अवधिको तर क्रुर खमेर रुज शासनकालका बेला झण्डै बीस लाखसम्म मानिसले ज्यान गुमाए थिए।
तीमध्ये धेरैजसो जबरजस्ती गराइएको चरम परिश्रम र भोकमरी कारण मरेका थिए भने कैयौँलाई राज्यको दुश्मन भन्ने अभियोग लगाएर मृत्युदण्ड दिइएको थियो।








