‘भारत: झुट्टा समाचारमा राष्ट्रवादको हात’

मोबाइल

तस्बिर स्रोत, Bloomberg

बीबीसीले गरेको एउटा अनुसन्धानले भारतमा राष्ट्रवादको बढ्दो लहरले आममानिसलाई झुट्टा समाचार फैलाउन हौस्याउने भूमिका निर्वाह गरिरहेको देखाएको छ।

राष्ट्रिय पहिचानलाई प्रोत्साहन दिनका निम्ति कतिपय मानिसका लागि तथ्यभन्दा भावनात्मक कुरा बढी महत्त्वपूर्ण हुने गरेको सो अनुसन्धानले जनाएको छ।

सामाजिक सञ्जालका विज्ञहरूका अनुसार दक्षिणपन्थीहरूको सञ्जाल वामपन्थीहरूको भन्दा अझ बढी सङ्गठित देखिन्छ र त्यसले राष्ट्रवादसँग जोडिएका झुट्टा समाचारलाई अघि बढाउन सघाएको छ।

झुट्टा समाचारका कतिपय स्रोतहरू ट्विटर तथा प्रधानमन्त्री नरेन्द्र मोदीका समर्थक सञ्जालमा खप्टिएका पाइए।

असर

गलत सूचना र झुट्टा समाचारले विश्वभरि मानिसहरूलाई कसरी असर पारिरहेको छ भन्नेबारे 'बियोन्ड फेक न्यूज' कार्यक्रमअन्तर्गत बीबीसी विश्व सेवाले गराएको अनुसन्धान सोमवार प्रकाशित भएको हो।

आममानिस झुट्टा समाचारको चङ्गुलमा पर्ने र त्यसलाई फैलाउने काममा उनीहरूको संलग्नताबारे भारत, केन्या र नाइजेरियामा गरिएको व्यापक अनुसन्धानपछि पछिल्लो निष्कर्ष निकालिएको हो।

अनुसन्धानमा सहभागीहरूले आफ्ना फोनमा बीबीसीलाई सात दिनका लागि व्यापक रूपमा पहुँच दिएका थिए।

जसका कारण प्रयोगकर्ताले के कस्ता सामग्री आदानप्रदान गर्ने गरेका छन्, कोसँग त्यस्तो गर्ने गर्छन् र कति मात्रामा त्यस्तो गर्छन् भन्ने कुराको अनुसन्धानकर्ताहरूले जाँच गर्न पाए।

प्रतीकात्मक तस्बिर

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, प्रतीकात्मक तस्बिर

तीनवटै देशमा मूलधारका सञ्चारमाध्यमका सामग्रीप्रतिको अविश्वासका कारण मानिसहरूले वैकल्पिक स्रोतबाट प्राप्त सूचनालाई पुनः पुष्टि नगरी त्यसलाई फैलाउने गरेको देखिएको छ।

समाचार झुट्टा हो भनी थाहा पाउने आफ्नो क्षमताप्रति मानिसहरूमा आवश्यकताभन्दा बढी आत्मविश्वास हुने गरेको पाइएको छ।

समस्या

सन् २०१८ मा फैलिरहेको डिजिटल सूचनाको बाढीले समस्या झन् बढाउँदै लगेको छ।

अनुसन्धानमा सहभागीहरूले झुट्टा समाचारका वास्तविक स्रोत पत्ता लगाउन खासै प्रयत्न नगर्ने र ती सूचना भरपर्दो रहेको मान्न वैकल्पिक स्रोत खोज्ने गरेको देखिएको छ।

फेसबुक पोस्टमा गरिने टिप्पणी, पोस्टमा राखिने तस्बिरहरू र ह्वाट्स्‌एपमा परिवारका सदस्य तथा साथीहरूले पठाउने सूचनाको पुष्टि नगरी पत्याउने गरेको पाइएको छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ, झुट्टा समाचारको चङ्गुलमा कसरी नफस्ने?

आफ्ना मान्छे र समुदायको सुरक्षाको जिम्मेवारी बोध गर्दै बच्चा अपहरणसम्बन्धी झुट्टा समाचार ह्वाट्स्एपबाट फैलाउँदा भारतमा एउटा हिंसा नै निम्तिएको छ।

भारतले तीव्र गतिमा प्रगति गरिरहेको, हिन्दू धर्म महान् थियो र फेरि महान् बनाउनुपर्छ अथवा भारतको प्राचीन ज्ञान हरेक क्षेत्रमा अझै सर्वश्रेष्ठ छ, गाईले अक्सिजन लिन्छ र अक्सिजन नै फाल्छ जस्ता समाचार भारतमा निकै फैलाउने गरिएको छ।

यस्ता समाचार हजारौँ मानिसले आदानप्रदान गर्ने गरेको र आफूले मन पराएका कुरा फैलाउन असत्यको सहारा लिएकोमा मानिसहरूले नराम्रो नमानेको पाइएको छ।