परमाणु क्षेप्यास्त्र सन्धिबारे आरोप प्रत्यारोप

क्षेप्यास्त्र

तस्बिर स्रोत, RUSSIAN DEFENCE MINISTRY

अमेरिका र रूसबीच मध्यम दूरीको परमाणु क्षेप्यास्त्र सम्बन्धी, आइएनएफ सन्धी उल्लंघन गरेको भनी एकआपसमा आरोप प्रत्यारोप भइरहेको छ।

क्रेमलिनले भनेको छ, तीस वर्ष पुरानो उक्त सन्धीबाट पछाडि हट्ने भनी अमेरिकी राष्ट्रपति ट्रम्पले दिएका धम्कीबाट उ गहिरो रुपमा चिन्तित बनेको छ।

रुसको भनाइ छ, यदि अमेरिकाले राष्ट्रपति ट्रम्पले भने बमोजिम नै कदम चालेमा रुसले पनि परमाणु सन्तुलन कायम राख्‍न आवश्यक कदम चाल्नु पर्नेछ र त्यसबाट संसार एउटा खतरनाक स्थान बन्न पुग्ने छ।

अमेरिकाले भनेको छ- रूसले हालै मध्यम दूरीको सीमा नाघ्ने गरी क्षेप्यास्त्र विकास र परिचालन गरेर आइएनएफ सन्धिले निर्धारण गरेका मापदण्डहरूको उल्लंघन गरेको छ।

विवरण गोप्य

वासिङ्टनले अमेरिकी चासोलाई समर्थन गरेका आफ्ना नेटो साझेदारहरूसँग यो मामिलासंग सम्बन्धित गोप्य सूचना बाँडेको भएता पनि सार्वजनिक रुपमा त्यसबारे केही पनि विवरण उपलब्ध छैन।

बीबीसीका रक्षा तथा कूटनीतिक संवाददाता जोनाथन मार्कस आफ्नो विश्लेषणमा भन्छन् निश्चय नै रूसले त्यस्तो सन्धि उल्लंघन गर्ने खालको क्षेप्यास्त्र आफूसँग छ भनेर ठाडै अस्वीकार गरेको छ।

बरु उसले हाल रूमेनियामा रहेको तर छिटै पोल्याण्डमा पनि परिचालन गर्न लागिएको अमेरिकी क्षेप्यास्त्र प्रतिरोधी अस्त्र प्रणालीले नै त्यस्तो सन्धिको उल्लंघन गरेकोमा जोड दिएको छ।

साथसाथै मानवरहित विमान, ड्रोनमा पनि युद्धशीर्षहरू जडान गर्न सकिने भएकाले त्यस्ता ड्रोनहरूले उक्त सन्धि उल्लंघन गर्ने अस्त्रको स्वरुप लिन सक्नेमा पनि रुसले जोड दिएको छ।